न्यूटनको तस्वीर र स्याउ वृक्षको काठ अन्तरिक्षमा

न्यूटनको तस्वीर र स्याउ वृक्षको काठ अन्तरिक्षमा


लण्डन । सत्रौं शताब्दिको उत्तरार्धमा सर आइज्याक न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादित गरेर विज्ञान जगतमा ठूलो हलचल ल्याएका थिए । विज्ञानको इतिहासमा ग्यालिलियो पछिका शीर्ष वैज्ञानिकको पगरी न्यूटनलाई जान्छ । उनले प्रतिपादित गरेका गुरुत्वाकर्षण र गतिको सिद्धान्तलाई अनु्शरण गर्दै वैज्ञानिकहरुले एक्काइसौं शताब्दिसम्म आइपुग्दा अभूतपूर्व वैज्ञानिक सफलताहरु प्राप्त गरेका छन् । उनकै सिद्धान्तको परिणामस्वरुप अन्तरिक्षको सेरोफेरो र सम्पूर्ण ब्रम्हाण्ड चाहार्ने मानव निर्मित यानहरुबाट ओहोरदोहोर गर्ने जस्ता लक्ष्यहरु लिएर विज्ञान आज आगडि बढिरहेको छ ।

एकदिन बगैंचामा आराम गरिरहेको बेलामा एउटा स्याउको दाना रुखबाट भुइँमा खसेको न्यूटनले देखे र उनले रुखबाट भुइँमा खसेको स्याउको गति तथा उक्त प्रक्रियालाई गहन अनुसन्धान गरेपछि ब्रम्हाण्डभित्रका गति र गुरुत्वाकर्षणबारे वैज्ञानिक तथ्या पत्ता लगाउन सफल भएका थिए । यही सिद्धान्तलाई विश्वभरिका वैज्ञानिकहरुले शोध गर्दै वर्तमान संसारलाई विज्ञान जगतको नौलो-नौलो आयाम थप्दै कैयन् नयाँ आविष्कारहरु गरेका छन् । त्यो ऐतिहासिक महत्व बोकेको स्याउका काठ लण्डनस्थित द रोयल सोसाइटीको संग्राहलयमा संरक्षित गरी राखिएको छ ।

सर आइज्याक न्यूटन सन् १७०३ मा रोयल सोसाइटी अफ लण्डनको सभापति थिए । यसै साताको शुक्रवार (१५ मई २०१०) का दिन यस संस्थाको ३५०औं वर्षगाँठ मनाउने अवसर पारेर प्रतिभाशाली वैज्ञानिक सर आइज्याक न्यूटनका तस्वीर र त्यही स्याउका रुखको काठ नासाको अन्तरिक्ष अभियानको टोलीले अन्तरिक्षमा लगेर जाँदै छन् । क्राउनबारो, ससेक्सका अन्तरिक्षयात्री डाक्टर पियर्स सेलर्सलगायत ६ जनाको समूह १२ दिनको लागि अन्तरिक्षयात्राको अभियानमा जाँदै छन् । अन्तरिक्षयात्राको अभियान सकिएपछि न्यूटनको तस्वीर र स्याउको काठ द रोयल सोसाइटीको संग्राहलयमा फिर्ता गरिदिनेछ भनेर डाक्टर सेलार्सले जनाएका छन् । डाक्टर सेलर्सलाई अन्तरिक्ष अभियानका लागि नासाले सन् १९९६ चयन गरेको थियो । -सुमल, श्रोत नेट, मेट्रो