-सुमल कुमार गुरुङ,
मरेजस्तै लुकेर बस्ने
फेरि चुनावमा ब्यूँतने
दैलो-दैलो चहार्ने
जनता जनार्दनको बुइ चढ्दै
सत्तारोहणको नसामा
लाज पचाई-पचाई वाचा गर्ने
क्या गजब छ, यिनलाई जे गरे पनि हुने ।
जनताको राशन डकार्दै
भाषाण मनपरी बोल्छन्
सोच्छन् जनता उल्लु हुन्
यिनले दिनमा देख्दैनन्
कहिल्ये सिंगापुर बनाउँछु भन्ने
कहिल्ये स्विट्जरल्याण्ड बनाउँछु भन्ने,
खोक्रो स्वाङ र बोके्र नाटकले
रमिएको छ राजनीतिक रङ्गमञ्च ।
हजारौं शहीद भए
सपना नयाँ नेपाल बोक्दै,
खोला रगत बग्यो
इतिहास पल्टाउने अठोटमा,
अमन चैन उदाउने झुटो आश्वासन
तर,
जो मर्यो उही हार्यो ।
बढ्न थाल्यो समय
त्यही इतिहासको डोबमा
नयाँ पाइला राख्दै,
दण्डहीनताको उग्र रुप
जसको लट्ठी उसैको भैंसी
के यही हो नयाँ नेपाल ?
जनअन्देालन अर्थी बन्यो,
कुल्चिँदै आत्म मर्मको
कुर्सी तानातान र हानाहान
कहिले नागरिक सर्वोच्चता
निहूँ मीठो कति-कति !
कहिले आफैमा मानामान,
किन भुल्छन् यी आफ्नै धरातल ?
उस्तै प्रवृति भाले हुँदैछ
फेर्दै नयाँ नकाब,
त्यही ठाउँमा उभिन्छ भने
उदाउँला नयाँ नेपाल ?
आफ्नै घरमा आगो लगाई
जाडो छल्ने दाउ,
विवेकहीन भएपछि
कहाँ पाउँछौँ ठाउँ ?
यत्रतत्र मनपरी तन्त्र
के यही नै हो लोकतन्त्र ?
कहाँ छ लगाम त्यो कानूनका ?
प्रशासन जंगली घोडा भएको छ,
मनपरी दौडँदै छ
कहिले वाईसीएल
कहिले यूथफोर्स
र कहिले तरुण बन्दै
पूर्व मेची र पश्चिम महाकाली
आज उज्यालोमा नै लुटिएको छ,
खोई, ईज्जत प्रशासनको ?
मूक प्रशासन उल्लु बन्दै
आ-आफ्नो स्वार्थमा
हराएको बेला,
छ सय एक जनाको कोलाहालमा
संविधान सभा हराएको छ ।
प्रतिक्रिया