माओवादी अध्यक्ष दाहालले माफी मागे

माओवादी अध्यक्ष दाहालले माफी मागे


माओवादी अध्यक्ष पुष्पकमल दाहालले अनिश्चितकालीन हड्ताल गर्ने आफ्नो पार्टीको यसअघिको निर्णय गलत भएको बताएकाछन। माओवादी केन्द्रीय कार्यालयले आज बुद्धिजिवी र नागरिक समाजसँग गरेको बृहत् अन्तर्क्रियामा दाहालले भने – ‘अनिश्चितकालीन हड्ताल गर्ने भनेको गल्ती हो भन्ने हामीले महसूस गर्‍यौँ।’ ‘हड्तालको मिति तोकेको भए मान्छेले मनस्थिति बनाउने रहेछन्’ । शान्ति र संविधानका लागि सरकारले राखेका सबै सर्त पूरा गर्न तयार रहेको बताउँदै दाहालले आफूहरु लचिलो भएको फाइदा सरकारवादी दलहरुले उठाएकोमा आपत्ति जनाए।

अन्तर्क्रियामा दाहालले काठमाडौंबासी र बुद्धिजीवीलाई ‘सुकिला मुकिला’को संज्ञा दिँदै युद्धको घेराका लागि तयार रहन दिएको आफ्नो अभिव्यक्तिका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले माफी मागेका छन्। ‘अस्ती बोलेको कुराले कसैलाइ नमिठो लागेकोमा सबैसँग म दुःख प्रकट गर्न चाहन्छु, क्षमा चाहन्छु’- होटल याक एन्ड यतिको अन्तरक्रियामा दाहालले भने।

शनिबार मे ८ मा खुलामञ्चको सभालाई सम्बोधन गर्दै दाहालले भनेका थिए- ‘काठमाडौंका सुकिलामुकिला, अलि कमाएर खाएर बसेका बुद्धिजीवीहरुलाई पनि चुनौती दिन चाहान्छु- तिमीहरु शान्ति कि युद्धका पक्षमा? छिट्टै निर्णय गर्नुपर्ने छ।’

खुलामञ्चमा दिएको अभिव्यक्ति सच्याएका दाहालले आज आफूलाई पनि बुद्धिजीवीकै श्रेणीमा राखे। ‘म आफू पनि बुद्धिजीवी भित्रै पर्ने भएकोले विरोध गर्ने कुरै आउँदैन’- उनले भने। जनतालाई हेप्ने बुद्धिजीवविरुद्ध मात्र आफ्नो अभिव्यक्ति केन्द्रित रहेको प्रस्टीकरण उनले दिए। ९९ प्रतिशत बुद्धिजीवीले जनतालाई नहेपेको पनि उनले बताए।

श्रोत: नागरिक न्यूज