ट्राफलगर स्क्वाएरमा दीपावलीको भव्य कार्यक्रम

ट्राफलगर स्क्वाएरमा दीपावलीको भव्य कार्यक्रम


लण्डन । हिजो दिउँसो ३१ अक्टुबर २०१० लण्डन दीवाली समितिले आगामी दीपावलीलाई लक्षित गरी सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वाएरमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । यस कार्यक्रमलाई लण्डनका मेयर तथा दीवाली आयोजक समितिको पहलमा संचालन गरेको थियो । यस कार्यक्रमका लागि जीटीभीले १५ वर्ष पुर्‍याएको अवसर पारेर प्रायोजनका साथ साथै मिडिया पार्टनर रुपमा काम गरेको थियो । अन्य मुख्य प्रायोजकहरुमा लाइका मोबाइल र इन्क्रेडिबल इण्डिया रहेका थिए । दिनको २ बजेदेखि शुरु भएको कार्यक्रम साँझ साढे ६ बजे समापन भएको थियो । यस कार्यक्रमलाई नील कुमार तथा सुनिता गार्डनरले संचालन गरेका थिए । लण्डनको प्रख्यात ब्याण्ड फाइव वान फाइव र शमाको जोशिलो गायन र संगीतको तरंगले गर्वा नाचबाट शुरु भएको कार्यक्रममा ट्राफलगर स्क्वाएर तीस हजारभन्दा बढी मान्छेले भरिएका थिए । सबैका खुट्टाहरु अनायसै नाच्नलाई उठुँ उठुँ गरी थरथर गर्ने खालको भारतीय संगीतको माहौलमा हजारौ मानिसहरु आ-आफू उभेका ठाउँहरुमा नाच्दै झुम्दै कार्यक्रमभरि आनन्द लिइरहेका थिए ।
पहिलो एपिसोेड गर्वा नाच सिद्धिनेबितिक्कै औपचारिक कार्यक्रममा लण्डनका उपमेयर, रिचार्ड बार्नस, भारतीय हाइ कमिशनका कमिस्नर, प्रसाद तथा समितिकी अध्यक्ष रानो मेहता राणियाले दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । अतिथिहरु तथा अध्यक्षको मन्तव्य र शुभकामनाको अदान प्रदानपछि विभिन्न हिन्दू संघ-संस्थाहरुबाट प्राप्त सन्देश प्रसारण गरेका थिए । त्यसै अवसरमा जीटीभीको अडिसन् पनि चलिरहेको थियो । विभिन्न कार्यक्रमको प्रस्तुतीहरुमा यूकेका दिग्गज भारतीय कलाकारहरु र अनेकौ नृत्य स्कूलहरुबाट विभिन्न भारतीय नृत्यहरुको प्रस्तुति भएको थियो । भांगडा, भारतनाट्यम, कत्थक्, गर्वा साथै आधुनिक गीतहरु र नृत्यहरुको प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकहरुलाई हदैसम्म तताएका थिए ।
सुमल, मेस ।