मभित्र अर्को शालीन मान्छे छ

मभित्र अर्को शालीन मान्छे छ


– देश सुब्बा,
मभित्र अर्को शालीन मान्छे छ
ऊ मलाई केन्द्र ठान्छ र भत्काउन खोज्छ

ऊ मभित्र कतै ‘ग्यापस’मा छ
म उसको जात चिन्दिनँ
उसको देश चिन्दिनँ
उसको रंग चिन्दिनँ
उसको रेखा चिन्दिनँ
ऊ मबाट छोपिएको छ,
हेपिएकोछ, दबाइएको छ

ऊ मलाई प्रगतिको अवरोध ठान्छ
यथास्थिति ठान्छ
र भन्छ
त्यसले उसको ‘म’त्व खोसियो रे,
वाद खोसियो रे,
महाख्यानको अपव्याख्या भयो रे,
इतिहास मारियो रे,
र लेखकलाई केन्द्रमा उभ्याइयो रे,
खोइ के के पो भयो रे !

अहिले ऊ अजङ्गको
क्रोधी भएको छ,
इखालु भएको छ
जिज्ञासु भएको छ
ईश्वरलाई सुलीमा चढाएर
हत्याको आदेश दिने
न्यायधिश भएको छ
खोइ अरु के के पो भएको छ !

त्यसैले ऊ सबै केन्द्रहरूको विरुद्धमा
शालीन विद्रोह गर्छ र
अभिमन्यू घेरा भत्काउन
मभित्रबाट निस्केर
अर्जुनको अवतारमा
मलाई चेम्बरमा उभ्याएर
गाण्डिव ताक्न चाहान्छ,

मभित्र अर्को शालीन मान्छे छ
ऊ मलाई केन्द्र ठान्छ र भत्काउन खोज्छ