नाम र अस्तित्व

नाम र अस्तित्व


-सुमल कुमार गुरुङ,
नाम र पहिचानले मान्छेको सोचाइ र ब्यवहारमा केही हदसम्म प्रभाव पारेको हुन्छ । तर, यसको अर्थ “नयन-सुख” नाम गरेको अन्धो व्यक्तिले आँखा देख्न पाउने अनुभूति र “धन बहादुर” नाम राख्दैमा धनी वा कुबेर कहलाउने चाँहि हुदैन । कुनै पनि प्रकिृया नामविना सम्भव हुँदैन अर्थात मुखबाट उच्चारण गरिने अवाजमा अर्थ हुन्छ र उच्चारणको अर्को अर्थमा सम्बोधन हुन्छ । यही सम्बोधनले संज्ञा बोध गराउँछ र यसलाई हामी नाम भनेर बुझ्छौं । आध्यत्मिक, बौद्धिक तथा धार्मिक विषयलाई अघि बढाउँदा सबैभन्दा पहिले विषयगत् अस्तित्व र महत्वको प्रसङ्ग आउँछ र त्यो नाम विनाको प्रसङ्ग असम्भव हुन्छ । अर्थात, कुनै पनि क्रियाकलाप जसमा सारा जगतको सृष्टिदेखि अनन्त सम्मको वृतान्त कोरिन्छ, मानव समवेदनाको कथाहरुदेखि इतिहास, ज्ञान विज्ञानका विषयहरु विश्वभरिका भाषाहरुमा बोलिन्छन् र हरफहरु बन्दै पोखिन्छन् ती सबैमा नामले प्रमुख भुमिका निभाउँछ र नाम बिना कुनै पनि कामको अर्थ लाग्दैन ।

हिन्दू मान्यताअनुसार जन्मेको छैटौंको दिनमा विधाताले भाग्य लेख्दछ र न्वारानको दिनमा नामकरण ज्योतिषिले जन्मेको तिथि, समय र योगको अधारमा गर्दछ भने अरु धर्ममा अस्था राख्नेहरुले पनि आ-आफ्नै अस्था र प्रक्रियाअनुसार नाम राख्ने प्रचलन परापूर्वकालदेखि चलिआएको छ । जन्मकुण्डलीको अधारमा मान्छेको भाग्य, स्वाभाव, उसको यश, ऐश्वर्य, प्रताप, सफल, गण, योनी, असफल, सुखदुःखका वृतान्तहरु ज्योतिषीहरुले भट्याउँछन्, तर, यसमा कतिको सत्यता छ त्यो अनुसन्धान गरेर सम्बन्धित विज्ञले बताउन सक्छन् भन्ने कुरामा पनि निर्क्यौल गर्न गाह्रो नै देखिन्छ, । यसको अर्थ यो होइन कि ज्योतिषीद्वारा भनिएका वा लेखिएका विषयहरु अधारहीन् र सत्यता छैनन् ।
नाउँ राख्ने प्रचलन कहिलेबाट आएको होला भन्ने तथ्य अभिलेख भने पाइएको छैन । तर, धार्मिक शास्त्रहरुमा उल्लेख गरेअनुसार आ-आफ्नै धर्मको मान्यताअनुसार नाम र सृष्टिकर्ताको रचनाबारे भने व्याख्य गरेका छन् । प्रष्ट ऐतिहासिक तथ्य बिना अथवा गहिरो अनुसन्धन नगरी यस स्तम्भमा मैले यहाँ नाम र अस्तित्वको प्रसङ्ग लिएर केही व्याख्य गर्ने कोशिस गर्दैछु । मेरो विचारमा नाम राख्ने र सम्बोधन गर्ने प्रक्रिया मानव जगतले आदिकालदेखि नै गरेको हुनुपर्छ । तपाई आफै विचार गर्नुहोस् यदि नाउँ राख्ने र नाउँले सम्बोधन गर्ने प्रचलन नभइदिएको भए के हुन्थ्यो होला ? एकजना व्यक्तिलाई “राम” भनेर चिन्दछ,, तर, राम भन्ने व्यक्तिको नाम नभइदिएको भए उसलाई चिन्न अत्यन्त अप्ठ्यारो हुन्थ्यो । त्यस व्यक्तिलाई चिन्नु गर्दा र चिनाउनु गर्दा, उसको शरिरको वर्णन कालो, गोरो, मोटो, पात्लो देखि लिएर, बस्ने ठाउँ, हिडाई, बोलाई र उसका विविध पहिचान र लक्षणहरु भनेर चिनाउनु पर्दथ्यो । मान्छे मरेर जान्छ, तर, नाम कहिल्यै मर्दैन । भगवान होस् वा सैतान त्यहाँ नाम अवश्य हुन्छ नै र अर्को अर्थमा सैतान विनाको भगवानको महिमा पनि हुँदैन ।

नाम अमर मात्र नभई अजर पनि हुन्छ । यही नाम र दाम कमाउनको लागि संसारभरि एक ठाउँबाट अर्को ठाउँमा मानिसहरु बसाइ-सराइ गर्दै चहारिरहेका हुन्छन् । इतिहासबाट हामीले के बुझ्न सकिन्छ भने मान्छे आफ्नो अनुकूलता प्राप्तिको लागि युद्ध, अक्रमण, चोरी डकैती, कत्लेआम, छलकपट र मानव संवेदनशीलता र मानवहित विपरीत क्रियाकलापहरु आफ्नो स्वार्थको लागि गर्दछन् ।

इतिहासबाट हामीले जित्नेको इतिहास पाउँछौं जसमा शक्तिको पूजा र शक्तिशालीको गुनगाण मात्र लेखिएको भेट्टाउँछौं । ती कतिपय यस्ता नामहरु जसले मानवताको हितका लागि आफ्नो जीवन बलिदान दिएका हुन्छन् तीनका नाम र अस्तित्व इतिहासको गर्भभित्र तुहिएका पनि पाउँछौ । केही हदसम्म मानव जगतमा नामले ठुलै प्रभाव पारेको देखिन्छ । संसारभरिका मानवहरुमात्र नभई सम्पूर्ण प्राणीहरुको फरक फरक भन्नाले आ-आफ्नो अस्तित्व बोक्ने नाम हुन्छ । यो स्तम्भ कोर्ने बेलासम्म संसारभरिको जनसंख्या मापन सूचकाङ्कले सात अरब भन्दा वढी जनसख्या संसारमा रहेको तथ्यांक देखाएको छ । ती सात अरब भन्दा बढि जनसंख्याको आ-आफ्नै फरक अस्तित्व बोकेका नामहरु छन् । नाम दिने वा राख्ने प्रचलन धार्मिक, युग परिवेश अनुसार, समाजिक वा आ-आफ्नो सामुदायिक हिसाबमा गरेका हुन्छन् ।
साधरणतया मानिसहरुको नाम अहिलेको परिवेशमा दुर्इ प्रकारको पाउँछौ । जसमा दिएको असली नाम अथवा बोलाउने नाम र अर्को पारिवारिक व वंशको नाम बोलाउने नामको अघि झुण्डयाएको हुन्छ । तर, कतिपय देश वा समाजहरुमा केवल एउटा छोटो नाम मात्र राखेको पनि पाउँछौ । पारिवारिक वा वंशको नाम पुख्र्यौली ऐतिहासिक धारलाई समेटेर राखिएका हुन्छन् र कतिपय अवस्थामा एउटै नाम धेरै पटक राखेका पनि हुन्छन् । इतिहासमा हामीले अंग्रेजी शासकहरुको नाम हेनरी प्रथमदेखि हेनरी आठौसम्म राखेका पाउँछौ । त्यस्तै धार्मिक अधारमा राखिएका नामहरु हजारैां लाखौ पटक दोहोरिएका वा राखिएका पाउँछौ । तर, ज-जसले आ-आफ्नो कालमा योगदान र राम्रो काम गर्दाछन्, हामीले भिन्नै भिन्नै अस्तित्वमा ती व्यक्तित्वहरुलाई चिन्दछौ । भारतका केही प्रदेशमा कुनै कुनै समुदायमा नाम राख्दा कैयौ पुश्ता देखिको सम्झेअनुसार नाम राख्ने चलन पाईन्छ । तपाई अश्चार्य नहुनुहोला यस स्तम्भकारले पूरा आधा पृष्ठसम्मको एकजना व्यक्तिको नाम पढेको पाएको छु ।

अहिले हामीले नाम र अस्तित्व बारे केही चर्चा गर्यौ । जुनकसैले पनि नाम राख्दा मानव जाति चेतनशील प्राणी भएको नाताले उसको मनको अनुभूति र चैतन्यले दिएअनुसार कुनै पनि अर्थ लाग्ने राम्रो विषयलाई लिएर नाम राखेको हुन्छ । परिवार भित्र बाबाआमाले स्नेह र मायाले बोलाउने नाम असली नाम भन्दा फरक हुनसक्छ । त्यस्तै आवेश र क्रोधमा बोलाउने, कसैलाई होच्याएर गालीगलौचको प्रक्रियामा सम्बोधन गर्ने नाम पनि फरक नै हुन्छ । त्यसकारण एकजना व्याक्तिको जीवनकालमा त्यस व्यक्तिलाई धेरै नाउँबाट सम्बोधन वा बोलाउने गरेको हुन्छ । समय सापेक्ष मान्छेको क्रियाकलापहरु बढ्दै गएपछि ओहोदा र कार्यभार अथवा अर्को अर्थमा भन्नुगर्दा मान बामोजिमको नाम थपिँदै गएको हुन्छ । अर्को प्रसंगमा नाम ईज्जत र सोहरत प्राप्तिको मात्र नभई कुख्यात कहालाईएका समाजमा नराम्रो काम गर्नेहरुको नामपनि अविस्मरणीय रहन्छ । जस्तै राम पछि रावणको नाम आउँछ भने कृष्णाको नाम आउना साथ कंसलाई पनि हामी संझन्छौ । द्वितीय विश्वयुद्धको प्रसंगमा सधै हिटलरको नाम अघि आउँछ ।

उमेरको ओह्राली उकालीहरुमा नाम परिवर्तन हुदैजानु पनि समयचक्रको एउटा देन भनेर बुझ्नु पर्दोरहेछ । मलाई सानो छँदा मेरो बोलाउने नाम अर्कै थियो र चिना अथवा जन्मकुण्डलीको नाम अर्कै थियो । म भन्दा पहिले जन्मेकी दिदि सानैमा मृत्यु भएपश्चात मेरो जन्म भएको रहेछ । बाबाआमालाई पहिलो सन्तान बितेपछि सन्तानको ठुलो पींडाबोध भएको बेला म जन्मँदा खुशीको साथसाथै उहाँहरुलाई डरपनि भएको रहेछन् । कतै यो भरखरै पाएको सन्तानको पनि पहिले जस्तै खेर जाने पींडाबोध हुनु पर्ने त होईन- यस्तो डर त्येसबेलाको समाजको वातावरणमा लिप्त थियो । अतः तत्कालीन चलनअनुसार अरुको काखमा नवजात शिसुलाई सुम्पिने प्रक्रिया गरेमा बच्चा जिवित रहन्छ भन्ने रुढिवादी विश्वास राख्दो रहेछ । मलाई मीत र्साईनोमा बाजे पर्ने माझगाउँको जंगबहादुर काकाको बुवाको काखमा सुम्पिने प्रक्रिया गरेर मेरो बोलाउने नाम “सुनार” राख्नुभएको रहेछ । बच्चालाई सुम्पिने प्रक्रियामात्र गर्दो रहेछ, तर, बच्चा चाँहि आफ्नै घरमा बुवाआमाको काखमा नै हुर्कँदो रहेछ । यो अनौठो चलनले मेरो जीवनमा मेरो अस्तित्व र नाममा पनि केही हदसम्म भुमिका निभाएको छ । म आफ्नै बुवाआमाको काखमा थिएँ, तर, मलाई सुनार नामले सम्बोधन गरियो र मेरो बालककालको नाम सुनार रह्यो । स्कुलमा पनि आमाले मेरो नाम सुनार नै दर्ता गरिदिनु भयो । म जन्मे पछि भाईहरु र बहिनी जन्मिन् र फेरि मलाई अर्कै नामले पुकार्न थाले । म जेठा भएको नाताले कसैले जेठा, ठुला र गुरुङ भाषामा ठागु भनेर मलाई बोलाउथे । मेरो नाम परिवर्तन वा मलाई पुकार्ने नामहरु विविध भएपनि मलाई केही फरक महशुस भने हुने थिएन । तर, जब म १९६६ सालमा सपरिवार बुवासंग इण्डियामा पढ्न गएँ त्यतिबेला स्कुल भर्ना हुँदा हेडसरले नाम बारे सवाल गर्दा म अजमञ्जसमा परेको थिएँ । तुरा, गारोहिल्समा त्येतिबेला निकै नेपालीहरु थिए । यो जिल्ला त्यतिबेला भारतको आसम राज्यको एउटा जिल्ला थियो तर पछि यो छुट्टै मेघालय राज्यमा गाभियो । मेरो स्कुल ट्रान्सफर सर्टिफिकेटमा मेरो नाम सुनार गुरुङ लेखेको थियो । म कक्षा पाँचमा भर्ना हुँदा हेडसर, बिन्दु नेवारको पहिलो प्रश्न थियो तिम्रो बुवाआमाले अन्तरजातिय विवाह गरेका हुन्- तिम्रो नाममा त केवल दुर्इ जात, सुनार र गुरुङ लेखिएको छ । खोइ, त तिम्रो नाम ? भनेर प्रश्न गर्दा म अवाक थिएँ । मैले सबै कुरा साविस्तार भनेपछि बिन्दुसर एकैछिन् घोरिएर मलाई सोध्नु भयो र मेरो स्वीकृति माग्नुभयो । यो नामलाई परिवर्तन गरेर अर्कै राम्रो नाम राख्दा कसो होला भनि मेरो नाम सुमल कुमार गुरुङ राख्नलाई प्रस्ताव गर्नुभयो । मलाई कता कता यो नाम राम्रो लाग्यो र सहमति जनाएँ । त्यसै दिनदेखि म यो नामले चिनिन थालेँ । अहिले बिन्दुसर यो दुनियाँमा हुनुहुन्न । अहिले मेरो नाम र अस्तित्व यसै नाममा निहित छ सायद म नमरुन्जेल यसै नामले चिनिने छु र मरेपछि पनि यसै नामले चिनिने छु । जब जब नामको प्रसङ्ग आउँछ तब म बिन्दुसरलाई सम्झन्छु । श्रद्धेय गुरु बिन्दु सहृदयी र दयालु हुनुहुन्थ्यो । उहाँलाई म यो स्तम्भद्वारा श्रद्धासुमन अर्पण गर्ने ध्येयले “नाम र अस्तित्व” विषय राखेर केही विचार पोख्ने प्रयास गरेको हुँ । म कति सफल व असफल भएको छु, पाठकवर्गबाट केही प्रतिक्र्रियको अपेक्षा राखेको छु ।

मलाई यतिबेला नेपाली भाषाका आदिकवि भानुभक्तको सम्झना हुँदैछ । उहाँले तनहँ जिल्लाको रिश्ती खोला किनारमा घाँसी दाइसित कुराकानी गर्दा प्रभावित भएर आफूले पनि नामलाई अमर बनाउने सोच बनाएका थिएँ । सामन्य घाँसीले केही पैसा जम्मा गरेर कुवा निर्माण गरेर परोपकार गर्ने कुरामा प्रभावित भएर पहिलो कविता लेख्ने थालनी त्यही ठाउँबाट शुरु गरेको भनाइ छ । “भरजन्म घाँसतिर मन दिई धन कमाएँ, नाम केही रहोस् पछि भनेर कुवाँ खनाएँ” । यी उद्गारहरु नेपाली जनमानसमा जब जब नेपाली साहित्यको चर्चा हुन्छ जिउँदो भएर डेढसय वर्ष पहिलेको वातावरणमा हामी केही क्षणको लागि पुग्छौं ।

संसारमा जन्मेका सबैजनाको नाम अमर, अजर हुँदैन, केवल ती भाग्यशाली र मिहिनेत गरेर मानवसमाजको लागि बलिदान दिने महामानवहरुको नाम अकाशको चम्किलो नक्षत्रसरह इतिहासमा चम्किरहन्छन् । ती महापुरुषहरुलाई कदर गरिनुको अर्थ हो उहाँहरुको त्याग र बलिदानको अनुकरण गर्दै अघि बढ्ने जमर्को गर्नु हो । नाम र अस्तित्वको लागि सबै संघर्षशील रहन्छन् । फरक हामीले हेर्ने दृष्टिकोणमा पाउँछौं । दिन र रातले संसारभरिका गतिविधिलाई प्रभावित पार्दछ कारण यहाँ उज्यालो र अँध्यारोले भूमिका निभाएको हुन्छ । मानव चेतनामा पनि यही दुइटा पाटाले भूमिका खेलेको हुन्छ । कल्याण र शान्तिको मार्ग अपनाएर मानवहितको लागि जसले समाज सुधार गरेर मानव बस्ने वातावरणको सिर्जनामा तल्लिन् रहन्छ उसलाई हामी धार्मिक बाटो देखाउने पैगम्बरा, भगवानको दूत वा भगवानको अवतारको रुपमा लिन्छौं । तर, अर्कोतिर ठीक त्यसको विपरीत आफ्नो अस्तित्व बचाउने धुनमा हत्या, हिंसाको बाटो आपनाएर मानव समाजलाई दुःख दिने, सताउने कार्यमा लाग्ने व्यक्तिलाई हामी पापी भन्छौं र नराम्रो कार्यमा लाग्ने व्यक्तिलाई त्यही हिसाबमा सम्वोधन गरेर उसको नाम लिने बित्तिकै उसको अस्तित्वलाई छिः-छिः दूर-दूर गर्छौं । मान्छे मरेर जान्छ, तर, उसले सत्कर्म गरेको छ भने उसको नाम र अस्तित्व कहिल्यै मर्दैन ।
सम्पर्क – [email protected]