हेर ! हेर ! झर्दैछन् पातहरु

हेर ! हेर ! झर्दैछन् पातहरु


-सुमल कुमार गुरुङ,
वर्षायाम !
कहिले रुझेर बित्यो
कहिले घाम,
शरद थाह नपाई हरायो
हेमन्त बिनाको,
बेलायतको शिशिर उदायो
सुविधा कटौतिको बजेट बोकेर
अङ्ग सिरिङ्ग बनाउँदै
बूढा पातहरु हल्लिँदै
हेर ! हेर ! झर्दैछन् पातहरु ।

बाटाभरि जताततै
पातहरुको बारात
नाङ्गदिै छन् रुखहरु जताततै
पर्खँदै कठ्यांग्रिने शीत लहर
पोहोर साल बेरोजगारीको
हिउँ बोकेर आ’की थिईन्
कुन्नि यसपालि के बोकेर आउँछिन् !
हेर ! हेर ! झर्दैछन् पातहरु ।

क्रिसमस र नयाँ साल
महान चाड !
हिउँ पर्ने समय रे !
शुभकामना कार्ड कोसेली बजार
आफन्तलाई भेट किनी दिने के ?
छाम्दा खल्ती छैन पैसा
बेनेफिटबाट पा’को सुकोदाम
नाङ्गदिै छु म
बूढो रुखझैं
झर्दैछन् मेरा आस्थाका पातहरु
ओइलिँदै, वैंश नढल्दै
हेर ! हेर ! झर्दैछन् पातहरु ।