तार जालीसहितको कडा सुरक्षा व्यवस्थामा मतगणना सुरु

तार जालीसहितको कडा सुरक्षा व्यवस्थामा मतगणना सुरु


– किशोर बुढाथोकी

सिन्धुपाल्चोकमा पहिलो चरणअन्तर्गत मंसिर १० गते भएको निर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाम चौतारामा रहेको जिल्ला कृषि विकास कार्यालयका भवनमा कडा सुरक्षाका बीच मतगणना सुरु गरिएको हो ।

उम्मेदवार, पार्टी प्रतिनिधि भेला भएर उनीहरुकै रोहवरमा मतपेटिका खोलिएको गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थलमा थप सुरक्षाका लागि तार जाली लगाइएको छ । जालीको बाहिरी भागमा पार्टी प्रतिनिधि र भित्री भागमा मत गन्ने कर्मचारी बसेर प्रतिनिधि सभाको मत गन्न थालिएको हो ।

सिन्धुपाल्चोकमा दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेशसभाको सदस्यको लागि मतदान भएको थियो । बुधबार सर्वदलीय बैठक गरी मतगणनाका लागि आचारसंहिता बनाइसकिएको थियो ।

जिल्लामा दुई लाख २६ हजार पाँच सय ४० मतदाता मध्ये एक लाख ५६ हजार सात सय ४३ मत मात्रै खसेको थियो । प्रतिनिधि सभा १ मा एक लाख १४ हजार चार सय २३ मध्ये ७८ हजार सात सय ४९ मत खसेको थियो । त्यस्तै सोही प्रतिनिधि सभा को प्रदेश ‘क’ मा ५८ हजार आठ सय ६४ मध्ये ३९ हजार आठ सय ६४ र प्रदेश ‘ख’ मा ५५ हजार चार सय ५९ मध्ये ३८ हजार नौ सय ७८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै प्रतिनिधि सभा २ मा एक लाख १२ हजार एक सय ९२ मतदातामध्ये ७७ हजार नौ सय ९४ मत खसेको थियो । प्रदेश ‘क’ मा ५३ हजार सात सय ४८ मध्ये ३७ हजार दुई सय ९३ र प्रदेश ‘ख’ मा ५८ हजार चार सय ४४ मध्ये ४० हजार सात सय एक मत खसेको कार्यालयले जनाएको छ ।