बैंककमा युद्धभूमिको झलक

बैंककमा युद्धभूमिको झलक


दशौं हजार रातो कमिज प्रदर्शनकारीहरुले विगत २ महिनाभन्दा बढी समयदेखि सरकार विरोधी प्रदर्शन गर्दै बैंकक शहरको त्यो भाग जसलाई मुख्य व्यावसाय र पर्यटकीय महत्वको क्षेत्र मानिन्छ, त्यस क्षेत्रमा शिविर खडा गरेर अवरोध गरिबसेका छन् । प्रदर्शनकारीहरुमा आईमाई, केटाकेटीदेखि गाउँबाट आएकाहरु समेत छन् । शहरको यसभागमा कैयौं विदेशी राजदूतावासहरु पनि छन् । ती प्रदर्शनकारीहरुलाई दमन गर्नको लागि सरकारले सैन्यबल लगाएर शिलबन्दी गर्ने र त्यहाँबाट हटाउने प्रयत्नको बावजुद अन्दोलनकारीहरुको मनोबल घटाउन सकेका छैनन् । सो अन्दोलनमा अहिलेसम्म सेना र पुलिसको गोलीबाट ३१ जनाको मृत्यु भइसकेको छ र १४०० भन्दा बढी मानिसहरु घाइते भएकाछन् ।

प्राप्त समाचारअनसार हिजोदेखि सरकारी सेना र प्रदर्शनकारीहरु बीचको झडपको कारणले गर्दा त्यो क्षेत्रले युद्धभूमिको झलक दिँदैछ । हिजो मात्र एक जना अवकाश प्राप्त सेनाको जर्नेल, खटि्टया समस्दीफोल, जसले प्रदर्शनकारीहरुको प्यारामिलिटेरी दस्तालाई नेतृत्व गर्दै आएका थिए, भाषण गरिरहेको बेलामा सैनिक स्नाइपरको गोली, टाउकोमा लागेर ढलेका थिए । अहिले उनी कोमामा छन् । आन्दोलनको कारणले राजदूतावासहरु बन्द गरेका छन् र त्यहाँका वासिन्दहरु आतंकित भएर धेरैजसो सुरक्षित स्थलतिर पलायन भएर जाँदैछन् । प्रदर्शनकारीहरुमा धेरैजसो पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राका समर्थकहरु छन् ।

सन् १९३२मा थाइल्याण्ड राजतन्त्रबाट मुक्त भएर संवैधानिक राजतन्त्रमा परिणत भएदेखि पटकपटक सैनिक शासकहरुको शासन तथा दशकौंदेखि स्थीर सरकार बनेका थिएनन् । सन् २००६ को सेप्टेम्बर महिनामा थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रालाई सैनिक कू गरेर उनको सरकार विघटन गरेयतादेखि थाइल्याण्डमा स्थीर शान्ति आएको छैन । अरबपति थाकसिन सिनावात्रालाई अख्तियार दुरुपयोग र भ्रष्टाचारको अभियोगमा दुर्इ वर्षको कैद सजा सुनाएको छ र उनको लगभग एक अरब पाउण्ड स्टर्लिङ बराबरको सम्पति फि्रज गरिएको छ । पूर्वप्रधानमन्त्री सिनावात्रा स्वयं देशबाट पलायन भएर विदेशमा बस्दै आएका छन् । यद्यपि धनाढ्य सिनावात्रा सरकारबाट बाहिरिए तापनि उनको लोकप्रियतामा कुनै कमी भने आएको छैन । थाइल्याण्डको इतिहासमा निर्वाचित भएर पूरा पाँचवर्ष प्रधानमन्त्रीको हैसियतमा काम गरेको हालसम्मको एक मात्र लोकप्रिय प्रधानमन्त्री सिनावात्रा हुन् । ग्रामीणक्षेत्रमा उनी लोकप्रिय छन्, तर, शहरीक्षेत्रमा उनका विरोधीहरुको वर्चश्व रहेकोले सेनाको सहायताबाट सत्ताबाट बाहिरिनु परेको सिनावात्राका प्रभाव अहिले पनि थाइल्याण्डमा यथावत छ ।

अहिलेको सरकार विरोधी प्रदर्शनकारीहरुले प्रधानमन्त्री अभिसित भेजाजिवाबाट यही आउँदो नोभेम्बरमा चुनाव गराउने अश्वासन पाए तापनि उनीहरुले पहिलेको आफ्नो अडान त्यागेका छैनन् । उनीहरुको माग प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर चुनाव गराउनु पर्ने रहेको छ । प्रदर्शनकारीहरुका अनुसार अहिलेको सरकारले धाँधली गरेर चुनाव जितेको अभियोग लगाएका छन् । साभार मेट्रो, सुमल -मेस