भाइ खलकहरुको जम्काभेट

भाइ खलकहरुको जम्काभेट


अल्डरसट । संयुक्त अधिराज्य बेलायतको बिभिन्न क्षेत्रमा बिभिन्न पेशा गरेर बसिरहेका क्रोम्छै, त्होर्जे र थिम्चे थरका भाइहरुको “त्ह मै खागु तब” कार्यक्रम गत मे १ तारिख शनिबारको दिन अल्डरसटको व्हाइट स्वान रेष्टुराँमा भव्यताका साथ सम्पन्न भयो ।
उक्त दिन मौसमले त्यति साथ नदिए पनि निमन्त्रणाको रुपमा आएका च्हमिरिमै, म्होमै र कोंइच्कोंइमी (छोरीचेली, ज्वाइँहरु र भान्जाभान्जीहरु) को विशेष उल्लेख्य उपस्थितिले कार्यक्रमलाई अति रोचक र प्रभावकारी बनाएको थियो । वाई. बी. सी. बाट तयार भुटुवा, आलुदम, सस्सेजको मीठो स्वादबाट शुरु भएको कार्यक्रमका उपस्थितिहरुलाई अम्मर त्होर्जे तमुले न्यानो स्वागत गरेको थिए भने क्याम्ब्रिज बिश्वबिद्यालयमा मानब समाज संकायका अनुसन्द्यानकर्ता एवं तमु समाजका बिद्वान, पुरोहित धर्मगुरु यारजंग क्रोम्छैले कार्यक्रमको औचित्यबारे प्रष्ट पारेका थिए । कार्यक्रममा साना मसिना रोचक कथाहरु सुनाउँदै ‘हामीहरुले आफ्नो थर जनमानसमा ल्याउनु पर्छ र भन्नुपर्छ । विशेषगरी नयाँ पिँढीका सन्ततीहरुलाई यसबारे प्रशिक्षण अर्थात् अवगत गराउनु पर्छ तब मात्रै हामीले हाम्रो दाज्यूभाइ को को रहेछन् र कुटुम्ब को को रहेछन् भनेर छुट्याउन सजिलो हुन्छ’ भनेर महत्वपूर्ण सन्देश दिएका थिए भने क्या. द्यनबीर क्रोम्छैले कार्यक्रम ज्यादै उचित र सान्दर्भिक भएको जानकारी दिएका थिए।
नेपालबाट भर्खरै बेलायतमा भेटघाट गर्न आएका राम प्रसाद क्रोम्छैले कार्यक्रममा सहभागी हुन पाउँदा अति गौरव लाग्नुको साथै यसले हाम्रो समाजमा ठूलो महत्व र भूमिका राख्ने छ भन्ने जानकारी दिए ।
करीब २५० जना जति उपस्थिति रहेको उक्त कार्यक्रममा थप मनोरञ्जन गराउन राफल ड्र खेलको पनि व्यवस्था गरिएको थियो । सूर्य थिम्चे तमुबाट बडो रमाइलोको साथ सञ्चालन गरिएको उक्त राफल ड्र मा भाग्यमानीको भूतै कमारो भने जस्तै एकै व्यक्तिले २-२ पटक पुरस्कार हात पार्न पनि सफल भएका थिए । अन्तमा दिनभरिको मासुको परिकारसँगै बेलुका शुद्व नेपाली परिकारको मीठो भोजनपछि नेपालको हिमाली भेकदेखि मधेशको फाँटसम्मा गुञ्जिने बिभिन्न किसिमका लोक भाका र आद्युनिक युगको संगीतमय साँझसँग रम्दै रमाउँदै अर्को वर्ष पुनः भेट गर्ने बाचा गर्दै अबिष्मरणीय क्षणका साथ बिदाइ हुँदै आ-आफ्ना बाटो लागे । – जीत क्रोम्छै तमु
Click
here to view rest pictures.