जातीय खाडल र उत्तम मृत्यु !

जातीय खाडल र उत्तम मृत्यु !


-प्रकाश के.सी.,
“सबैभन्दा उत्तम मृत्यु कस्तो हो ?” यस्तो प्रश्न गर्नु वा त्यसको उत्तर खोज्नु पक्कै पनि नियतिसँगको पराजय होइन । पक्कै पनि उत्सुकताको चरम होइन । हामी बाँच्नुको अर्थ भोग्ने क्रममा मर्नुको उत्तर खोज्दैनौँ, मर्नुको बाध्यता देख्दैनौँ । हामी बाँच्ने क्रमको उपल्लो कडीमा त्यसको सार्थकता खौज्छौं । कहिलेकाहिँ सबैलाई लाग्दो हो, हामी किन दौडिरहेका छौं ? किन चिच्याइरहेका छौं ? किन चिन्तित हुन्छौं ? किन पिरलोमा पर्छौं ? रातदिन एक नभनी, भोक प्यास नभनी किन समाजका लागि, वर्ग, क्षेत्र तथा जातिका लागि समर्पित हुन्छौं ? कहिलेकाहिँ सबैलाई लाग्दो हो, जीवनको त्यस उर्त्र्सगमा धर्मरिएको भारीलाई फ्यात्त एक छेउमा फाली निःसर्त अनि नित्सर्ग स्वच्छन्द र स्वतन्त्र बनिदिऊँ ! निस्तेज र निस्तब्ध बनिदिऊँ ! निराहार र निरुपण अनि विकल्परहित अन्त बनिदिऊँ ! श्वासै फेर्नझैं बिर्सेर जीवनका मोडका मोड हस्याङफस्याङ गरी भागदौड बाँचिरहेका समयको अन्त गरिदिऊँ ! कहिलेकाहिँ सबैलाई यस्तै लाग्दो हो ।

हामी सुखको वहानामा दु:खमाथि दु:ख थपिरहेका हुन्छौं । सुखको तृष्णामा पलपल दु:ख भोगिरहेका हुन्छौं । दु:ख खोजिरहेका हुन्छौं, चोट खिपिरहेका हुन्छौं । जीवनमा समयहरु नदीको किनारामा ठोक्किन आउने छालजसरी आउँछ, खिया खिया पार्दै अथवा छिया छिया बनाउँदै जीवनरुपी किनारमा चोटमाथि चोट थपेर आयु खियाउँदै जाने समयहरु, किनाराले छाललाई खेपेजस्तो हामी झेल्न वाध्य छौं । हामी आफू ओइलिएको ऐनामा आफूलाई हेर्दै, झर्ने दिनको जोहो गर्दै गर्छौं । “सबैभन्दा उत्तम मृत्यु कस्तो हो ?” यो त्यही जोहो हो, जसको नाममा हामी झुल्दै गइरहेका हुन्छौं ।

बिना कुनै पीडावोध, बिना कुनै हिनतावोध, बिना कुनै रहरको शेष, बिना कुनै परवाहको शेष, निस्चेष्ट, निश्चिन्त, निर्धक्क, अनि शान्त रही सुतेको अवस्थामै मृत अवस्थामा पुग्ने मृत्यु सबैभन्दा राम्रो सबैलाई लाग्दो हो । मरेको थाहा नै नपाई मर्न चाहने एक लश्कर त्यस्ता मानिसहरु, जसले समाजमा चिच्याउँदै, कराउँदै, सताउँदै अनि थकाउँदै सकशले अन्त्यमा परमधाम हुन पुगेका मानिसहरुको हाल देखेका हुनसक्छन् । त्यसरी तर त्यस्तो आततायी हालतमा नमर्ने चाहना राख्नेहरु स्वार्थी हुन् । त्यस्ता व्यक्तिहरु जीवनको भोगाइ भोग्दाभोग्दै थाकेर आत्मघात गर्न चाहान्छन् । तर, जो जीवनमा भोगाइविहीन थाकेकाहरु -हुनसक्छ, रगडी-रगडी पनि जीवनको एक एक अंश भोग्न चाहान्छन्, तिनले जीवनको केही न केही सार्थकता खोज्नै चाहान्छन् । तिनलाई मृत्युको वोध लिँदै मर्ने चाहनामा उक्त मृत्यु उत्तम लाग्दा हुन् । त्यो पक्का पनि भोगाइको पराकाष्ठा नै हो । कति होलान्, अरुलाई हँसाएर, अरुलाई दिएर, अरुको जीवनलाई सजाएर, अनि एउटा नाम आफ्नो भौतिक शरीरको शेषपछि पनि अवशेषका रुपमा छाडेर, सुटुक्क वा तडि्पएर र उक्त तडपले आफ्नाहरुलाई तड्पाएर बित्ने मृत्युलाई उत्तम मान्नेहरु ? आफ्नालागि त सबैले सोँच्छन्, अरुका लागि सोँच्नु पो वडप्पन हो । यो नीतिकथाको पंक्ति हो । कत्तिको सार्थक रहेछ त यो कालमा ?

माओवादी प्रचण्ड वा बाबुराम जत्तिको चिन्तक, विचारक वा पथप्रदर्शक जीवनमा हुन नसकिनेमा अहिले नै ज्ञात भएको छ मलाई । एउटा विध्वंसको गतिशीलता ल्याई राज्यमा केही वर्षअगाडि चिताउनै नसकिने कार्य गरेर देखाउनेमा माओवादी यी दुई नेताजस्ता व्यक्तित्वहरूको विशेष हात छ । आफ्ना सारा जीवन नै समाज तथा देशका लागि अर्पण गर्ने प्रचण्ड तथा बाबुरामहरूले कसरी अनि कस्तो हालतमा परमधाम प्राप्त गर्लान् भन्ने खासगरी मेरो यतिखेर चासोको विषय भएको छ । के तिनले पाउने औसत हालतकै मृत्यु पनि उत्तम मृत्यु मानिएलान् त ? जातिवादी, परम्परावादी तथा रुढीवादी विविध मान्यताहरूलाई तोड्दै एक किसिमले अराजक भएर समाजलगायत राज्यमा सर्वहारा वर्गहरूको उत्थान गर्न धेरै हदसम्म सफल यी व्यक्तित्वका मृत्यु, अरूलाई हँसाएर, दिएर, दिलाएर जाने उत्तम मृत्यु मानिएला त रु बारम्बार सोच्दो छु म । पक्कै नै, जसरी र जुन आरामले अनि सकसले मृत भए पनि यिनका पार्थिव शरीरहरूको सहर परिक्रममा भने हुनेछ, सर्वत्र गुणगान गरिने नै छ, ठूलठूला यिनका तस्बिरहरूमा मग्मगाउने फूलहरूको माला झुन्ड्याइने नै छ तर के यही तिनले जीवन जिउने क्रममा गरेका अन्तको जोहो नै हुन् त ? जातपात नभनी, अन्तरजातीय विवाहमा जोड दिने, धर्म र तिनको रुढीवादितालाई उखाल्न धर्मसम्बन्धी विश्वासको उपहास उडाउनेलगायतका विविध कार्यहरूको सम्पादन गरी समाजमा सबैखालका नेपाली समान हुन् भन्ने आधारको जग हाल्ने प्रयास तिनले गरे । अब, यहाँ यी नेताहरूले धराशायी बनाएका मानवीय विश्वासहरू, मानवीय समवेदनाहरू, मानवीय आधारभूत अधिकारहरूको कुरा खासगरी यो लेखमा नगरौँ, ती आत्माहरूले र ती परिवारहरूका आहहरूले कहिल्यै पनि, समाज तथा देशका लागि आफ्नो देन दिएको भनाएर मर्न चाहने यी नेताहरूको मृत्युको राम्रो हालातको कामना पक्कै गरेका हुँदैनन् । जे होस्, एक किसिमले पहिले कहिल्यै नदेखेको जागरण राज्यमा देखिएको छ । समान तथा सर्वहारा अनि बराबरीको वकालतमा विध्वंसकता व्यहोरिसकेको राज्यले अहिले के समाजमा समानता पाएको छ त ? हुन त यो अझै नै निक्कै प्रारम्भिक चरणमा छ तर स्थिति कस्तो होला भन्ने अनुमान सरल किसिमले लगाउन सकिने किसिमको प्रारम्भिक चरण भने स्थापित भइसकेको छ ।

गणतन्त्र, लोकतन्त्र या प्रजातन्त्र जे र जुन नाम दिए पनि आखिर तन्त्र भनेको जनताको भन्ने नै बुझिन्छ । जनता भन्नाले, माओवादीय देनस्वरूप भन्छु, सबै नै अर्थात् क्षेत्री, बाहुन, राई, गुरुङ, मगर, लिम्बू, नेवार, कामी, दमाई, सार्की, मधिसे, दनुवार आदि-इत्यादि समान रूपका, समान अर्थका नेपाली नागरिकहरू हुन् भन्ने बुझिन्छ । सबै समान भएका नाताले, सबैको हक र अधिकार बराबर मानिएका नाताले यहाँ कसैले कसैलाई वा कोही कसैबाट अपमानित गर्ने, हुने, घोचपेच हान्ने, हानिने, हेप्ने, हेपिने तथा भेदभाव गर्ने, गरिने कार्यहरू समाजमा नहुनुपर्नेमा अहिले सर्वत्र व्यापक रूपमा यही नै हुँदै छ । बिचरा ! प्रचण्ड र बाबुरामहरू नाम मात्रका नेता भएका छन् माआवादीभित्र, खास नेता त किरण, बादल, देवहरू नै रहेका छन् । नेपालमा अहिले आफ्नो शालीनताको, बौद्धिकताको प्रबुद्धताले होइन, जातीय आधार, वर्गीय सोच अनि मान्यताले उच्च भएका र बनाइएका छन् । यो त्यही हालतको बिल्कुल विपरीत हो, जुन हालतले सबैलाई समान भएको आधार प्रस्तुत गर्दछ र जसको मुख्य रूपमा माओवादी यी दुई नेतालगायतकाहरूले कामना गरेका थिए । “बाहुनवादको विरुद्धमा जनजातिहरू एक भएका हौँ, क्षेत्री, बाहुनलगायतका आर्यनहरूको विरुद्ध होइनौँ” भनी जनजाति मूलका नेताहरूले भन्ने गरे तापनि ‘बाहुनवाद’को आडमा आर्यनहरूको विरोधी नै ती रहेका लाग्छन् । प्रचण्ड, बाबुरामलगायतका आर्यनहरू ‘प्रगतिशील बाहुनहरू’ र गिरिजा, माधवलगायतका ‘पुरातन अनि रुढिवादी बाहुनहरू’ भनी खेमाहरू छुट्याइएका छन् । लाग्छ, ‘बाहुनवाद’ एक ‘पर्दा’ मात्रै हो, जो सजिलोका लागि जनजातिहरूबाट उठाइएको छ । जातीय विभाजनको प्रमुख कारक तत्कालीन एकतन्त्रीय व्यवस्था हो, तत्कालीन अज्ञानता तथा अशिक्षा हो, तत्कालीन जनजागरणमा कमी हो, तत्कालीन ऐक्यबद्धताको अभाव हो ।

समाजमा खासगरी यस्तै किसिमको विषम स्थितिको हालात तयार परेको, जातीय आधारमा झन् दिनप्रतिदिन नेपालीहरूबीच घृणा जागेको, अविश्वास पैदा भएको, इतिहास तथा नेपालीत्वको जगको आधारहरू भत्केको आदि-इत्यादि सयौं प्रकृतिका अवस्थाहरूलाई भविष्यका पुस्ताको पोल्टामा छाडी परमधाम हुने प्रचण्ड, बाबुरामलगायतका नेताहरूले के वास्तवमै जिउनुको सार्थकता पाएका मानिएलान् त ? के तिनका मृत्यु उत्तम मानिएलान् त ? थाहा छैन- कसरी फुत्किन्छ, तिनबाट तिनका प्राण ? कसरी पुग्छन् परमधाम ? दिन कस्तो हुन्छ भन्ने बिहान पूर्वको आकाशमा देखिने लालीले अर्थ्याउँछ भने जस्तै अहिलेको अवस्थाले मलाई लाग्दैन, नेपालले सुनौलो अवस्था देख्नेछ । यही हालतमै दिनप्रतिदिनका दरमा जनजाति पक्ष र आर्यन पक्षहरूबीच नजानिँदो किसिमले दूरी बढ्दै गएको छ । त्यसलाई घटाउनका लागि नभई बढाउनका लागि विविध तर्क, वाद, विचार र वर्गका नेताहरू एकबद्ध भएका छन् ।

अनि यही परिप्रेक्ष्यमा प्रश्न उठ्छ, वास्तवमा कस्तो मृत्यु उत्तम हो त ? चिन्ताहीन, पीडामुक्त अनि संसयहीन अवस्थामा मर्नका लागि अहिलेको हालतमा खासगरी नेपालीलाई पागल हुनुपर्छ । चेतनशीलता, विवेकशीलता अनि संवेदनशीलतालाई मानसिकतामा लिएर मृत हुनेहरूले चिन्तामुक्त, पीडामुक्त हालतको मृत्यु भोग्दै भोग्दैनन् । मेरो ग्यारेन्टी छ । “के समाजमा मेरा आफ्नाहरू, मेरा प्याराहरू शान्ति तथा गर्व अनि स्वस्थ बाँच्न पाउलान् त ?” यो कालमा मर्ने हरेक नेपालीहरूका मानसिकतामा टाँस्सिएको यस प्रश्नले तिनलाई सजिलै सदगति प्रदान गर्दैन । त्यसैले कालगतिले मर्ने अबका हरेक नेपालीलगायत नेताका मृत्यु उत्तम हुँदैन तर पागलहरूको मृत्युको बारेमा शङ्का नै छैन, तिनले उत्तम मृत्यु पाउँछन्, नत्रभने, अहिलेको अवस्थामा उत्तम मृत्यु पाउनका लागि हरेक नेपालीले कञ्चटमा आफैंले गोली दाग्न सक्नुपर्छ या अग्लो बिल्डिङ वा पहाडबाट हामफाल्न सक्नुपर्छ वा यस्तो विष सेवन गर्न सक्नुपर्छ, जसले त्यसको स्वादै लिने मौका नदेओस् । साँच्चै नै यो कालमा नेपालीका लागि उत्तम मृत्यु भनेको आत्महत्या गर्नु नै हो । असहमत हुन सकिन्छ तर यही यस लेखको सार हो ।