विभिन्न जिल्लामा मतगणना, वाम गठबन्धनको अग्रता

विभिन्न जिल्लामा मतगणना, वाम गठबन्धनको अग्रता


विभिन्न जिल्लामा मंसिर १० र २१ गते सम्पन्न पहिलो तथा दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो विवरण प्राप्त भइरहेको छ ।

बैतडी— यहाँ मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको बैतडीमा मतगणना जारी रहेको छ ।

कुल १३ हजार ५०८ मत गणना हुँदा आज बिहान ६ बजेसम्म को मतपरिणामअनुसार एमालेका दामोदर भण्डारीले ६ हजार ९७२ र नेपाली काँग्रेसका नरबहादुर चन्दले पाँच हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (क)मा नेकाका हरिमोहन भण्डारी चार हजार ७३८ र नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्टले ६ हजार १४७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (ख)मा नेकपा (एमाले)का लीलाधर भट्टले ६ हजार ४५३ र राप्रपाका गणेश चन्दले चार हजार ८५७ मत प्राप्त गर्नुभएको छ । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।

बेनी, म्याग्दी ः म्याग्दीमा प्रतिनिधिसभामा एमाले–माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका नेकपा (एमाले)का भूपेन्द्रबहादुर थापाले अग्रता कायम गर्नुभएको छ । बिहान ५ बजेसम्मको मतपरिणामअनुसार थापाले ११ हजार ८९३ मतसहित अग्रता कामय गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका खुमबहादुर गर्वुजा, खम्वीरले १० हजार ५६ मतसहित थापालाई पछ्याई रहेका छन् ।

त्यसैगरी, प्रदेशसभा (क)मा वाम गठवन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का विनोद केसीले सात हजार ४० मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका भीमप्रसाद गौचनले ६ हजार १९० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुनले चार हजार ९५० र नेकाका अमलाल फगामीले चार हजार ५३७ मत प्राप्त गरेका छन् ।

एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

खोटाङ ः मंसिर १० गते खोटाङमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । बिहीबार बेलुका साढे सात बजेदेखि शुरु गरिएको मतगणनामा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का विशाल भट्टराईको छ हजार २४१ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाकी सरस्वती बजिमयको चार हजार ३८१ रहेको छ । भट्टराई र बजियमयको पछिल्लो मतान्तर एक हजार ८६० रहेको छ ।

प्रदेशसभा सदस्य क्षेत्र नं १ (क)मा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका राजन राईको दुई हजार ९१८ र नेकाका सुवासकुमार पोखरेलको एक हजार ६९४ मत रहेको छ ।

यस्तै, प्रदेशसभा २ (ख)मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई (पासाङ)को तीन हजार ४९१ र नेकाका विष्णुकुमार राईले एक हजार ९५० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दश राजनीतिक दलका १९ जना उम्मेदवार रहेको जिल्लामा कूल एक लाख २५ हजार १८३ मतदाता रहेको र ७१ हजार ३११ मत खसेको थियो ।

संखुवासभा ः यसैगरी, यहाँ बिहीबार साँझ ५ः३० बजेदेखि संखुवासभाको निर्वाचन मतगणना शुरु गरिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा नेकाका उम्मेदवार दीपक खड्काको एक हजार १४६, साझा वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्र गौतमको एक हजार ६९ मत प्राप्त गरेका छन् ।

प्रदेश नंं १ संखुवासभा (क)मा नेकाका टंकप्रसाद राईको ८०७, साझा वाम गठबन्धन माओवादी केन्द्रका पूर्णप्रसाद राई एक हजार ३४४ मत प्राप्त गरेका छन् । भने प्रदेश नं १ संखुवासभा (ख)का नेकाका दीपक लिम्बूको ९१७, साझा वाम गठबन्धनका एमालेका तुलसीप्रसाद न्यौपानेले एक हजार ७० मत प्राप्त गर्नुभएको बिहान ४ बजेसम्मको पछिल्लो मतगणना सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए ।

सोलुखुम्बु ः राससका अनुसार सोलुखुम्बुमा प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा वाम गठबन्धनले अग्रता कायमै राखेको छ । मतगणना शुरु भएसँगै अग्रता लिएको वाम गठबन्धनले अहिले मतान्तर फराकिलो बनाउँदै लगेको छ ।