एकीकृत भए यूएईमा साहित्यिक संस्थाहरु

एकीकृत भए यूएईमा साहित्यिक संस्थाहरु


दुबई । नेपाली साहित्य तथा साँस्कृतिक परिषद् यूएई, नेपाल यूएई साहित्य परिषद् तथा गजल मञ्च अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरको नाममा एकीकृत भएका छन् । एकीकृत नयाँ कार्यसमितिमा रंगवादी साहित्य दर्शनका प्रवर्तकमध्ये एक समदर्शी काइँला अध्यक्षमा निर्वाचित भएका छन् ।
गत ९ अप्रिलमा गठित एकीकरण अभियान संयोजन समितिका संयोजक जाकिर हुसैनको अध्यक्षतामा बसेको उक्त संस्थाका पदाधिकारीहरुको भेलाले यो नयाँ कार्यसमिति गठन गरेको हो । नव गठित एकीकृत कार्यसमितिमा शेषनारायण झा (ऋषिशेष) तथा असिम महत उपाध्यक्ष, गिरधारी रिजाल महासचिव, जीवन कोइराला सचिव, कपिल खडका कोषाध्यक्ष, रेखा घिमिरे सह-कोषाध्यक्ष, प्रकाश भट्टराई अन्तर्राष्ट्रिय कोअर्डिनेटर, निमेष गिरी प्रकाशन विभाग प्रमुख, उमेश राई “घायल”, पद्य विभाग प्रमुख, तुलसी तामाङ साँस्कृतिक विभाग प्रमुख, टेक थजालीमगर गीत/गजल बिभाग प्रमुखमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शिवलाल सापकोटा, अञ्जान बोहरा, सरोज पहाङ्गो चयन भएका छन् ।
२१ सदस्यीय कार्यसमिति गठन भएको उक्त भेलाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएईको बिधानले १५ सदस्य भएको कार्यसमिति मात्र गठन गर्न पाउने भएपछि कृष्ण अर्याल, तारा न्यौपाने, केदार श्रेष्ठ, एस. के. भण्डारीसहित दुर्इ थप महिलालाई पछि विधान शंसोधन गरेर केन्द्रीय समितिमा ल्याउने निर्णय गरिएको छ ।
संयोजन समितिका सदस्य दिपक अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजन समितिका अर्का सदस्य पि.एस.लिम्बूले यूएईका साहित्यिक संस्थाहरुलको यस भेलाले एउटा इतिहास रच्ने बताए ।
सहभागीहरुलाई सम्बोधन गर्दै संयोजन समितिका सदस्य सचिव खेमनाथ पौडेलले एकीकरण अभियान सफलतापूर्वक अन्तिम चरणमा आइपुग्नुको पछाडि सबै संस्थाका साथीहरुको प्रतिबद्धता र संयोजन समितिले तयार पारेको आचारसंहिता नै प्रमुख कारण रहेको बताए ।
संयोजन समितिका संयोजक जाकिर हुसैनले यस एकीकरणले यूए लाईमा मात्र होइन संसारमै एउटा इतिहास रच्न सफल भएको छ । अबका दिनमा अनेसास यूएई च्याप्टरको अगाडि एउटा चुनौति खडा भएको र उसले अन्तर्राष्ट्रिय जगतमा यूएईको नेपाली साहित्यलाई अव्वल दर्जामा पु्र्‍याउनु पर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । यसैले अबको नयाँ समितिले सक्रिय भएर नयाँ ढंगले काम गर्नु पर्दछ । उनले कार्यसमितिमा परेका सवै साहित्यकार तथा कलाकारहरु नै निकै सक्रिय व्यक्तित्व रहेकाले निकै आशावादी रहेको बताए ।
नयाँ कार्यसमिति गठन भएलगत्तै नवनिर्वाचित अध्यक्ष समदर्शी काइंलाले आफू यूएईको साहित्यलाई विश्वको अन्य डायसपोरल साहित्य र नेपालको मुलधारको साहित्यसँग जोड्ने कुरामा केन्द्रित रही विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गरे । मान्छेको आत्महत्याका जग्गा कविता कृतिका रचयिता काइँला रंगवादी साहित्य दर्शनका प्रवर्तकहरुमध्ये एक हुन् ।
त्यस्तै महासचिवमा निर्वाचित गिरधारी रिजालले हामी कसैलाई चुनौति दिन आएका होइनौं बरु हामीमाथि चुनौति आइपरेको छ । यो एकीकरणको मुल उद्देश्य यूएईको नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय नेपाली प्रवासी साहित्य र नेपालको मुलधारको साहित्यसँग जोड्नु नै हो । हामी नयाँ कार्य-योजना बनाएर सामूहिक प्रयासबाट अगाडि बढ्ने छौं । रिजाल २००८ मा यूएईको प्रथम नेपाली साहित्यिक संस्था नेपाली साहित्य परिषद् र नेपाली साहित्य तथा सांस्कृतिक समाज यूएईको एकीकरण भई बनेको नेपाली साहित्य तथा सांस्कृतिक परिषद् यूए लाईका अध्यक्ष हुन् । उनको कार्यकालमा यो एकीकरण अभियानले ठूलो सफलता पाएको छ ।
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष असिम महत, पद्य विभाग प्रमुख उमेश राई घायलले पनि आफ्ना विचारहरु राखेका थिए ।
– निमेष गिरी