प्रचण्डको कलाकारिता-देवप्रकाश त्रिपाठी

प्रचण्डको कलाकारिता-देवप्रकाश त्रिपाठी


बाहिरी व्यक्तित्व हेर्दा कलाकारजस्तो देखिए पनि प्रचण्डले अपनाउनुभएको ‘पेसा’ कलाकारिता होइन, उहाँलाई सबैले माओवादीको मुख्य नेताका रूपमा चिन्ने गरेका छन् । एकपटक ‘निर्णायक’ आन्दोलनमा रौनक ल्याउन एउटी हिरोइनसँग सिंहदरबारको अघिल्तिर नृत्य गर्दा प्रचण्ड साँच्चै कलाकारजस्तै देखिनुभएको महसुस देख्नेहरूले गरेका थिए । तर, प्रचण्ड वास्तवमै कलाकार हुनुहुन्छ र उहाँले स्कुलेजीवनमा प्रस्तुत गर्नुभएको कलाकारिता मानिसहरू अहिले पनि स्मरण गर्दै छन् । चितवन जिल्लास्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगितामा प्रचण्डले राम्रो नाचेर पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो । नृत्य मात्र होइन प्रचण्डको अभिनयकला पनि राम्रो मानिन्छ । तर, उहाँले प्रतिभा भएर पनि कलाकारितालाई आफ्नो पेसा बनाउनुभएन, बरु ‘पेसा’ राजनीतिलाई बनाउनुभयो र राजनीतिलाई ‘कलामयी’ बनाउने कसरत उहाँ गर्दै हुनुहुन्छ । अरूले नेता ठानेका मानिसले सिङ्गै राजनीतिक मञ्चलाई रङ्गमञ्चसरह बनाएर कला प्रस्तुत गर्दा कस्तो हुँदोरहेछ भन्ने कुराको ‘लाइभ’ दृष्टान्त यतिबेला प्रचण्ड प्रस्तुत गर्दै हुनुहुन्छ । मञ्चमा रोइदिन सक्ने, बाघझैं अनुहार बनाएर गर्जन सक्ने, मुसुक्क मुस्कुराएर म त हजुरकै हो नि भन्ने शैलीमा विपक्षी नेताहरूसँग गुप्त कोठाहरूमा लुटपुटिन सक्ने प्रचण्डको कलाकारिताले नेपाली राजनीति र यसका दर्शकहरूलाई कायल पारेको छ ।
कुनै पनि कलाकार जब रङ्गमञ्चमा चढ्छन् या कुनै सिनेमाको सुटिङमा हुन्छन् तिनले काल्पनिक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, त्यतिबेला जे बोलिन्छ त्यो सत्य नहुन सक्छ, निर्धारित डायलगहरू बोल्दै जाँदा आफ्नो छवि नै डामाडोल हुने स्थिति आउन सक्छ, तर ती कलाकारलाई त्यसको पर्वाह हुँदैन, दर्शकले ताली बजाए कि बजाएनन्, मज्जाले मनोरञ्जन लिए कि लिएनन् र आफूलाई ‘हिरो’ देखे कि देखेनन् भन्ने कुरामा मात्र तिनको चासो र चिन्ता रहन्छ । रङ्गमञ्चमा निर्वाह गर्नुपर्ने शैलीको भूमिका नेपाली राजनीतिक मञ्चमै निर्वाह गरेर प्रचण्ड अल्लारेहरूको दृष्टिमा ‘हिरो’ हुनुभएको छ र प्रचण्ड स्वयम्ले आफू ‘हिरो’ भएको ठान्दै पनि हुनुहोला, तर गैरअल्लारे कित्ताले भने टुँडिखेलमा मान्छे भेला गरेर औषधि बेच्ने ‘कलाकार’ र प्रचण्डबीचको अन्तर देखिन छोडेको छ । राजनीतिमा प्रचण्ड मनोरञ्जन बेच्नुहुन्छ, त्यसले कसैलाई खुसी तुल्याउँछ कसैलाई क्रूद्ध ।र्
जर्मनीका महान् राष्ट्रवादी नेता एडोल्फ हिटलर पनि कलाकार हुनुहुन्थ्यो । उहाँको रुचि अभिनय र नृत्यमा भन्दा चित्रकारितामा थियो । चित्रकारितालाई हिटलरले एक समय आफ्नो जीवन-निर्वाहको साधन बनाउनुभएको थियो, पछि देशप्रतिको ममताले अति प्रेरित गरेपछि उहाँ राजनीतिमा केन्द्रित रहनुभयो । जर्मनको स्वाभिमान जगाउन क्रूर कर्तव्य निर्वाह गरिरहँदा हिटलरको भित्री भावना गल्थ्यो, तर उहाँले बाहिरी राजनीतिलाई कलामय बनाउन आवश्यक देख्नुभएन । मानिसहरू ग्यासच्याम्बरमा मरिरहँदा हिटलर असैह्य पीडामा हुनुहुन्थ्यो, उहाँको ध्यान ‘डाइभर्ट’ गर्न मनपर्ने सङ्गीतका धुन उहाँलाई सुनाउने गरिन्थ्यो, तथापि मञ्चहरूमा उहाँले आफूलाई कलाकारझैं प्रस्तुत गर्नुभएन । तर, प्रचण्ड यस्ता कलाकारका रूपमा उदाउनुभयो जसले आफ्नो कला कुनै रङ्गमञ्च या सुटिङ स्पटमा नभएर सम्पूर्ण जीवनमा र समग्र राजनीतिमै प्रस्तुत गर्दै हुनुहुन्छ । कसलाई भेट्दा कस्तो कुरा गर्नुपर्छ र कहाँ थिच्दा कहाँको बत्ती बल्छ या निभ्छ भन्ने कुराको अब्बल प्रयोगकर्ता प्रचण्डको विचारमा सायद यो संसार नै रङ्गमञ्च हो र उहाँ आफू त्यसको एक मुख्य कलाकार । कलाकारहरू कोमल हुन्छन्, तर कहिलेकाहीँ कथाले मागेमा तिनले क्रूरता पनि प्रस्तुत गर्नुपर्ने हुन्छ । हरेक कलाकारले कस्तो ठाउँमा कुन डायलग बोल्ने र कस्तो मुखाकृति बनाउने भन्ने कुराको हेक्का राखेका हुन्छन्, गजब-गजबका डायलग बोल्छन् तिनले मञ्चहरूमा । तर, निजी भेटमा ती अति सामान्य ढङ्गमा प्रस्तुत हुन्छन् र भेट्ने मानिसलाई मञ्च या पर्दामा देखिएका तिनै मानिस यिनी होलान् भनी विश्वास गर्नै गाह्रो हुन्छ । प्रचण्डका बारेमा पनि अन्य दलका नेता, नेपाली जनता र विदेशी समुदायमा यस्तै ‘इम्प्रेसन’ परेको छ । केन्द्रीय समिति या पोलिटब्युरो र विशेष बैठक तथा सभा-समारोहहरूमा प्रचण्डको भाषा, प्रस्तुति, विचार र व्यवहार बेग्लै हुने गर्छ, तर जब कुनै अन्य दलका नेता, प्रतिनिधि या विदेशीहरूसँग निजी भेट हुन्छ त्यस्तो बेलामा निकै नम्र, उदार र फरासिला मात्र उहाँ देखिनुहुन्न, बैठकमा पेस गरेका दस्तावेज र अभिव्यक्त विचार पनि ‘केही होइन त्यो त एउटा बाध्यात्मक अवस्थामा गर्नुपरेको अभिनय मात्र हो’ भनेर जिल्याउने कोसिस गर्नुहुन्छ । अन्य दलका नेता, कार्यकर्ता र विदेशीहरू यसरी पटकपटक जिल्लिँदै आएका छन् । केहीअघि मात्र प्रचण्डले विद्यार्थीको एक कार्यक्रममा भड्किलो भाषण दिँदै विद्यार्थीलाई बन्दुक बोकेर लड्न उक्साउनु मात्र भएन, स्कुल-कलेजहरूलाई ब्यारेक बनाइनुपर्ने धारणा पनि प्रकट गर्नुभयो । मुलुकमा कानुनको शासन भइदिएको भए या राज्य बलियो भएको भए प्रचण्डमाथि गम्भीर ढङ्गले मुद्दा चल्न सक्थ्यो र उहाँ सजायको भागीदार बन्नुहुन्थ्यो, तर यो लाछी राज्यमा त्यस्तो केही हुन सम्भव हुने कुरै भएन । नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालाले एक भेटमा प्रचण्डलाई ‘त्यस्तो’ आपत्तिजनक कुरा किन बोल्नुभएको भनी ध्यानाकर्षण गर्दा उहाँले ‘ए, त्यो त केटाहरूलाई यसो खुसी पार्न बोलिदिएको हो, त्यस्तो केही होइन, गम्भीर रूपमा नलिनुहोला’ भन्ने जवाफ फर्काउनुभएछ । यो एउटा मामुली घटना मात्र हो, प्रचण्डको जीवनमा यो एउटा शैली नै बनिसकेको छ । विस्तारित बैठकमा जनविद्रोहमा जाने निर्णय गराउने, केन्द्रीय समितिको बैठकले विद्रोहका पक्षमा निर्णय गर्ने अनि र्सार्वजनिक रूपमा पनि भड्कावपूर्ण अभिव्यक्ति दिने तर गुप्त कोठामा चाहिँ ‘ती केही होइनन्’ भन्ने र अरूले पत्याउने † गज्जवकै छ प्रचण्डको कलाकारिता ।
आफ्नो ‘कला-यात्रा’मा कतिबेला, कसलाई, कसरी, उपयोगी पात्र बनाउने भन्ने कुरामा पनि प्रचण्ड अत्यन्त माहिर देखिनुहुन्छ । जतिबेला पार्टीमा लडाकुहरूको खाँचो थियो, त्यसबेला उहाँले रामबहादुर थापा मगर ‘बादल’ लाई आफ्नो सबभन्दा नजिक राख्नुभयो । सीधासादा मगरहरूलाई रक्तपातपूर्ण युद्धमा होम्नका लागि बादलको साथ अपरिहार्य ठानियो, त्यसैले बादललाई सैन्य कमाण्डर बनाइयो र आफूपछिको नेता बादल नै भएको ‘इम्प्रेसन’ दिइयो । उहाँले आफूपछिको नेता तपाईं नै हो भनेर त मोहन वैद्य, डा. बाबुराम र नारायणकाजी श्रेष्ठदेखि वर्षमान पुन अनन्तसम्मलाई भन्नुभएको छ र ती सबैले प्रचण्डपछिको नेता आफैं भएको ठान्ने गरेका पनि छन् । हिंसात्मक युद्धलाई चर्काउनुपर्दा प्रचण्डले बादलको खुसीका लागि डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्कासनसमेत गरिदिनुभयो । तर, जब हिंसात्मक युद्धबाट उपलब्धि हासिल नहुने ठान्न थालियो, त्यसपछि बाबुराम भट्टराईको झैं कपाल अगाडिबाट पछिल्तिर कोर्दै आकाशे नीलो रङ्गको कमिज लगाएर बाबुरामसँग अङ्कमाल गर्न पनि उहाँले कञ्जुस्याइँ गर्नुभएन । बाह्रबुँदे सम्झौतादेखि आफू प्रधानमन्त्री नभइन्जेलसम्म प्रचण्डले बाबुरामसँग दर्शाउनुभएको मित्रता र प्रेम लैला-मजनुलाई बिर्साउने प्रकारको ठानिएको थियो । मोहन वैद्य र बादलहरू त्यस अवधिमा हेरेकाहेर्‍यै भएका थिए । बितेका दुई वर्षमा प्रचण्डभन्दा बाबुराम जनस्तरमा प्रिय भएको महसुस धेरैले गरेका छन् र सायद प्रचण्डले पनि । लोकप्रियता उकालो लाग्दै गर्दा वैकल्पिक प्रधानमन्त्रीका रूपमा पनि डा. बाबुरामकै नाम उचालियो । बाबुरामको लोकप्रियतामा बढोत्तरी हुँदा माओवादी पार्टी र प्रचण्डले पनि एउटा उपलब्धिकै रूपमा लिनुपथ्र्यो, लिने सक्थे, तर सकेनन् । बाबुरामको व्यक्तित्वले उचाइ लिन थालेपछि माओवादी पार्टी र प्रचण्डमा व्यापक छटपटी देखापर्‍यो । देशमा लोकप्रियता बढ्दै जाँदा आफ्नै पार्टीभित्र भने बाबुराममाथिको आक्रमण तेज पारिएको छ र उहाँलाई एक्ल्याउने प्रयास गरिएको छ । कोही न कोहीसँग नटाँस्सिइकन आफ्नै हैसियत दर्शाउन नसक्ने अवस्थामा रहनुभएका प्रचण्डले बाबुरामलाई एक्ल्याउन र सिध्याउन मोहन वैद्यको झैं सिउँदो छुट्याएर कपाल कोर्दै ‘क्रान्तिकारी’ बनेको अभिनय गर्ने अग्रसरता लिनुभएकोछ । प्रधानमन्त्री पद -सत्ता)का निम्ति ज्यादा लालायित ठानिनुभएका प्रचण्ड कुनै पनि हालतमा सत्ता प्राप्त गर्न नसक्ने निष्कर्षमा पुग्नुभएपछि उहाँले मोहन वैद्यको शरण लिनुभएको अनुमान गर्न सकिन्छ । प्रधानमन्त्रीमा बाबुरामको सम्भावना आफ्नोभन्दा ज्यादा देखिँदै गएका बेला मोहन वैद्य पनि प्रचण्डको आलोचक भूमिकामा प्रस्तुत हुनुभएपछि उहाँको अध्यक्ष पद पनि धरापमा पर्दै थियो । प्रधानमन्त्री बन्न नसके पनि करिब दुई दशकदेखि ‘खाइपाई आएको’ प्रमुख कार्यकारी पदचाहिँ जसरी भए पनि जोगाउनैपर्ने ‘बाध्यता’ प्रचण्डलाई आइलाग्यो, त्यसैले आफ्नो कलाकारिता प्रयोग गर्दै उहाँले कपाल पछिल्तिर ढल्काउने कार्य स्थगित गरी सिउँदो छुट्याउँदै नयाँ ‘गेटअप’मा देखापरेर ‘बक्स अफिस’मा तहल्का मच्चाउने तयारी गर्नुभएको छ । प्रचण्डको कलाकारिताले उहाँलाई कति सफल या असफल तुल्याउने हो सो भने प्रतीक्षाको विषय बनेको छ ।