यूकेमा नेपालको मीतेरी गाउँ

यूकेमा नेपालको मीतेरी गाउँ


विम्बिश, क्याम्ब्रिज, यूके । नेपालको पश्चिमाञ्चलको कास्की जिल्लाअन्तर्गत सिक्लेस् गाविसको नजिक पर्ने ताङ तिङ्ग गाउँ र क्याम्ब्रिजअन्तर्गत पर्ने विम्बिश र डेब्डेन भिलेजलाई सन् २००७ को मे १२ का दिनमा वेम्बिशकै कार्भर ब्यारेक्समा एक विधिवत कार्यक्रमका साथ मीतेरी लगाइएको थियो । सो कार्यक्रम यूकेस्थित नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेलगायत डेब्डेन र विम्बिश डिस्ट्रिक्ट काउन्सिलर टीना नाइट तथा अन्य विभिन्न मिलिटेरी सिनियर अफिसर अनि डेब्डेन, वेम्विशबासीहरु, र नेपालको टाङटिङ गाउँका डेब्डेन र वेम्बिश बस्ने ताङ तिङ्गबासीहरु उपस्थित रहेका थिए । सोही क्रमिकतालाई निरन्तरता दिँदै हिजो बेलुका कार्भर व्यारेको अफिसर मेसमा सो मीतेरी गाउँहरुको तेस्रो वार्षिक उत्सव मनाइएको थियो ।

हिजोको सो कार्यक्रमलाई च्यारिटि भोजको रुपमा राखिएको थियो जसलाई ‘ब्ल्याक टाइ’ च्यारिटि डिनर भनाइएको थियो । विभिन्न व्यक्तिहरुले उपलब्ध गराएको सम्वर्द्धन गर्नलायकका विभिन्न वस्तुहरुको विड राखिएको थियो र त्यसरी उठेको रकमलाई नेपालको कास्की जिल्लास्थित सो ताङ तिङ्ग गाउँको विकास कार्यक्रममा खर्च गरिने बताइएको छ । कार्यक्रममा यूकेका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे आफ्नी श्रीमतीसहित आएका थिए भने द ताङ तिङ्ग एस्सोसिएसन अर्थात् ताङ तिङ्ग मीतेरी संस्थाको अध्यक्ष मोरे ब्यालिस, डिस्ट्रिक्ट काउन्सिलर टिना नाइट, मानार्ट अध्यक्ष गाउबहादुर गुरुङलगायत सो ब्यारेकका सिनियर अफिसर लेफि्टनेन्ट कर्णल तथा संस्थाको स्थापनाकालदेखिकै सदस्य तर्कजंग गुरुङ र यस वेबका क्याम्ब्रिज प्रतिनिधि सूर्य गुरुङसहित अन्य स्थानीय नेपाली परिवारहरुको पनि उपस्थिति रहेको थियो ।

नेपाली शुद्ध पश्मिनाको पछ्यौरी, छालाको मोडिएको खाली नोडबुक, नेक्लेस, पुराना सेम्पेन, आटिस्ट जोन ब्राइङको फेथ शीर्षकको नेपालसँग सम्वन्धित रहेको दुर्इवटा पेन्टिङहरु, वेल्सको राजकुमारको हस्ताक्षर भएको फ्रेमसहितको तस्वीर, कमला गुरुङले ६ जनाको लागि तयार पारी होम डेलिभरी गर्ने शुद्ध नेपाली परिकार आदि अक्सनमा राखिएका बस्तु तथा सेवाहरुबाट हिजोकै सो कार्यक्रममा स्टर्लिङ पाउण्ड ६ हजारभन्दा बढी उठाइएको छ जसलाई ताङ तिङ्ग गाउँको विकासको लागि खर्च गरिने बताइएको छ ।

कार्यक्रमको सो अवधिमा नेपालीहरुसँग गफगाफ गर्ने क्रममा राजदूत डा.चालिसेले नेपालको वर्तमान राजनीतिक वा सामाजिक अवस्थाको बारेमा चिन्ता ज्यादा विदेशमा बस्ने नेपालीहरुलाई ज्यादा हुने गरेको हो कि भन्ने लागेको तर नेपालमा पनि नेतालगायत जनताहरुबाटै समस्याको समाधान छिटोभन्दा छिटो हुन गइरहेकोमा विश्वस्त हुन भनिएको थियो ।

साँझ सात बजे शुरु भएको उक्त च्यारिटि डिनर रातको एक बजेसम्म चलेको थियो ।-मेस, तस्वीरः सूर्य गुरुङ
Rest pictures are here.