संस्कृतिबिनाको नागरिक अनागरिक हो

संस्कृतिबिनाको नागरिक अनागरिक हो


हाँस्नु, रमाउनु र सोहीअनुरुपले बाँच्नु मात्र पनि जीवन पक्कै होइन । जीव-जन्तुहरु पनि त आआफ्नै प्रयासले रमाएरै जीवन बाँच्ने प्रयत्न गर्दछन् । एक्लै रमाउन नसकिने यो संसार, पक्कै होइन । यहाँ लाखौं-लाख मानिसहरु आफ्नै परिवेशमा यत्ति मग्न छन् कि, तिनका अगाडि अनि पछाडि के भइरहेका छन्, तिनलाई सोबारे चासो पनि हुँदैन, र त्यस्तै लाखौं-लाख यस्ता दम्पतीहरु छन् जो एकले अर्कालाई संसार देख्दछन् भने बाँकी संसार तिनका जानकारीमा विलय भइसकेका हुन्छन् । के त्यही हो जीवन बाँच्ने आदर्श तरिका ?
जीवनमा कर्तव्यनिष्ठ हुनु, केही र कसैप्रति प्रतिवद्ध हुनु, जवाफदेही हुनु, आधार हुनु र जिम्मेदार हुनु पो जीवन बाँच्नु हो त । समाजिकताबिनाको दाम्पत्य जीवनमा दाम्पत्यता नै हुँदैन । जीवनमा सो समाजप्रति प्रतिवद्ध नहुने हो भने समाजिक संरचना नै बन्दैन । दाम्पत्य जीवनमा सन्तानको चाहना नराख्नेहरु लाक्षी हुन् र सामाजिक स्वरुपका विलय हुन् । जिम्मेदारी उठाउन नसक्नेहरु समाजका दागहरु हुन् भन्दा अति लाग्दैन । समाजमा सोको एक अंग जस्तै गरी बाँच्नु भनेको यावतका आफ्ना परम्परासहित अस्तित्वशील हुनु पनि हो । परम्परा अनि संस्कृतिबिनाको परिवार अस्तित्वहीन हुन्छ । खासगरी प्रवासमा रहने परिवारहरु अपरम्परावादी भए तिनीहरु अस्तित्व शून्य परिवारहरु हुन् भन्दा पनि अत्योक्ति हुँदैन । किनकि जति नै वर्ष प्रवासमा बिताए पनि कुनै नै कुनै रुपले रैथानेभन्दा बेग्लो भएर रहनु पर्ने यथार्थको भोगी एक दिन हुनु नै पर्छ, त्यसैले आफ्नो सोही एकांकी पनलाई विफल बनाई आफ्नो शानदार अस्तित्वसहित जीवनयापन गर्नका लागि हामीहरुलाई परम्परावादी बन्न जरुरी छ ।
दशैं भर्खरै सकियो, तिहार आएको छ । विदेशमा यो जातीय परम्परा होइन, जीवन जिउने आफ्नो नेपालीपन हो, अस्तित्वलाई जीवित बनाउने आन्तरिक शैली हो । आफ्नोपनलाई दीगो बनाउने बलियो उपाय हो । तर कुनै पनि पर्वहरुका आआफ्नै शैलीका पक्षहरु हुन्छन्, तिनलाई सोहीअनुरुप मनाउनुमा ती पर्वहरुलाई आदार गर्नुका साथै आफ्ना पारम्पकितालाई सुदृढ बनाउनुमा कर्तव्यनिष्ठ भई आफू पक्का बनेको हुनु हो ।
चाडहरुको लहर आएको छ र आऔं हामी आआफ्नै परिवारभित्र सम्पूर्ण नेपाल जगाऔं । तपाईँ हाम्रो आआफ्नै वासस्थानमा पूराका पूरा नेपाल मग्मगाएर जाग्ने यो पर्वसँगै हामीभित्रका हाम्रा पारम्परिक सम्वेदनशीलतालाई यथावत राखौं ।