नेपाल हिन्दू राष्ट्र भएरै छाड्छः कमल थापा

नेपाल हिन्दू राष्ट्र भएरै छाड्छः कमल थापा


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल कुनै पनि हालतमा धर्मनिरपेक्ष राष्ट्र हुन नसक्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आइतबार आयोजित विशेष कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्मनिरपेक्षता आयातीत भएको ठोकुवा गर्दै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्ने र त्यो केही समय लागे पनि भएरै छाड्ने दाबी गरे। युरोपियन युनियनका अध्यक्ष फ्रान्सेली राजदूत गिल्स हेनरी ग्राउल्डले नेपाल सरकारलाई पत्र लेखी आगामी संविधानमा धर्म परिवर्तन गर्न पाउनुपर्ने गरी उल्लेख गर्न अनुरोध गरेकोमा कडा आपत्ति गर्दै ती राजदूतले डेनमार्क, बेलायतलगायतका देशमा त्यो अनुरोध गरेर देखाऊन् भनी अध्यक्ष थापाले चुनौती दिए। उनले धर्म निरपेक्षताको घोषणापछि दश लाखभन्दा बढी नेपालीलाई धर्म परिवर्तन गराइएको बताए। उनले नेपाललाई गलत ढंगले त्यसरी पत्र लेखी दबाब नदिन सचेत पनि गरे। जनआन्दोलन दोस्रोका शक्तिहरूको मार्गचित्र असफल भएकाले कालान्तरमा राप्रपा नेपालले बोकेको विचार सफल भएर छोड्ने दाबी गर्दै उनले राप्रपा नेपालमा माओवादीदेखि राजावादीसम्म अटाउन सक्ने बताए।
जनताको सर्वोच्चता, राष्ट्रिय स्वाधीनताका लागि फेरि जनता आन्दोलित हुनुपर्ने भएको छ भन्दै उनले यो आन्दोलन लामो हुने तर कुनै पार्टी विरुद्ध र सत्ताका लागि नहुने स्पष्ट पारे। अध्यक्ष थापाले निर्धारित समयमा संविधान निर्माण नहुने निश्चित भइसकेकाले संविधानसभाको औचित्य पनि समाप्त भएको र अब नयाँ जनादेशमा जानुबाहेक अर्को विकल्प नभएको उल्लेख गरे। पार्टी महामन्त्री टंक ढकाल, सहायक महामन्त्री रामराजा श्रेष्ठलगायतले पनि बोल्नुभएको कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टी केन्द्रीय सदस्य नरेन्द्र वाग्लेलगायत विभिन्न पार्टी कार्यकर्ताहरू राप्रपा नेपालमा प्रवेश गरेका थिए।-न्युज अफ नेपाल, (मेस काठमाडौं)