– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)
राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमसेर राणा सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ पनि हेभिवेट नेता भएकाले यो क्षेत्रको निर्वाचन परिणाम राष्ट्रिय रुपमै चासोको रुपमा हेरिएको छ ।
विहीबारबाट सुरु गरिएको मतगणना जारी छ । सुरुआतमा राणाले अग्रता लिएपनि अहिले शेरबहादुर अगाडि छन् । ३३ हजार ८२ मत गनिसक्दा तामाङले १५ हजार तीनसय सय १० मत प्राप्त गर्दा राणाले चौध हजार आठ मत ल्याएका छन् । शेरबहादुर सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका हुन् भने राणा गोलाकारभित्रको हलो लिएर चुनावी स्पर्धामा थिए । यो क्षेत्रमा एकिकृत राप्रपाको पनि उम्मेदवारी छ । एकिकृत राप्रपाको चुनाव चिन्ह आयतकार भित्रको हलो हो । झनै मतपत्रमा गोलाकारभित्रको हलो र आयतकार भित्रको हलो ठिक तल र माथि छ । यसो हुँदा राणाको धेरै मत आयतकारभित्रको हलोमा परेको राजनीतिक विश्लेषक बताउँछन् ।
राणा शेरबहादुर भन्दा करिब करिब एक हजार मत अन्तरले पछाडी छन् । आयतकार भित्रको हलोले हालसम्म पाँच सय ७७ प्राप्त गरेको छ । राजनीतिक विश्लेषककै आधार मान्ने हो भने गोलाकारभित्रको हलोमाथि आयतकारभित्रको हलोले पाएको मत जोड्दा शेरबहादुरले पाएको मत सँग बराबर हुन आउँछ ।
‘मतपत्रमा दुवै चिन्ह सँगै पर्दा मतदाता झुक्किएका छन्,’ राप्रपा प्रजातान्त्रिकका नेता राजकुमार कुवँर भन्छन्, ‘उस्तै देखिने चिन्ह फरक ठाउँमा राखेको भए मात्रै पनि मत परिणाममा केही फरक पर्ने थियो ।’ उनले गाउँमा रहेका मतदाता धेरै झुक्किएर आयतकारभित्रको हलोमा छाप लगाएको दावी गरे । ‘अहिले सार्वजनिक भइरहेको मत परिणाम यही अनुपातमा जाने हो भने हामीलाई आयतकारभित्रको हलो ले नै हराउँछ ’, उनले भने ।
यो क्षेत्रमा बदर मत पनि बढेको छ । केही मतदाताले दुवै हलोमा छाप लगाएका पनि भेटिएको छ । केहीले औठा छाप पनि लगाएकाले राणाको मत धेरै बदर भएको देखिएको छ । राणाकै मत विग्रने र आयतकारभित्रको हलोले पाउने मत संख्या बढ्नुले पनि राणालाई जित्नका लागि सकस पर्ने देखिएको कार्यकर्ताहरु बताउँछन् ।
प्रतिनिधि सभा २ मा एक लाख १२ हजार एक सय ९२ मतदातामध्ये ७७ हजार नौ सय ९४ मत खसेको थियो । प्रदेश ‘क’ मा ५३ हजार सात सय ४८ मध्ये ३७ हजार दुई सय ९३ र प्रदेश ‘ख’ मा ५८ हजार चार सय ४४ मध्ये ४० हजार सात सय एक मत खसेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया