जेष्ठ ४ गते कालो दिन मनाऔं

जेष्ठ ४ गते कालो दिन मनाऔं


-सानुबाबा प्रसाई,
जेष्ठ ४ गते नेपालको पहिचान समाप्त गर्न नेपाललाई धर्मनिरपक्ष राज्य घोषित गरियो । यो दिन समस्त हिन्दू जगतको लागि कालो दिन हो । २०६३ सालको जनआन्लोदनपछि राजासँग मिलेर वैशाख ११ गते, सहमतिमा आएपछि नेपालले एउटा निश्चित बाटो प्राप्त गर्छ भन्ने विश्वास धेरैजसोमा थियो । कांग्रेस, एमालेले शासनसत्तामा रहँदा गरेका गल्तीहरुबाठ पाठ सिकेर देशको लागि केही गर्छन् भन्ने पनि लागेको थियो । तर उनीहरुको हातमा सत्ता परेको एक महिना नपुग्दै, जेष्ठ ४ गते, नेपाल जस्तो विश्वव्यापीरुपमा आफ्नो प्रतिष्ठा बचाएर सार्वभौमरुपमा बाँचेको हिन्दू अधिराज्यलाई नेपाली जनताको इच्छाविपरीत आकस्मात धर्मनिरपेक्ष राज्य घोषित गरियो । जनताको अभिमतबिना यसरी २,४ जना पार्टीका नेताले राष्ट्रिय पहिचानहरुमाथि प्रहार गरेर नेपालको राष्ट्रियता माथि खललः ल्याउने काम भएको छ । जेष्ठ ४ गतेदेखि नेपालको भविष्य देखेर हामी सम्पूर्ण हिन्दूहरुको मन अशान्त छ । नेपाल हिन्दूको आधिकारिक थलो हो । नेपालको राष्ट्रिय झण्डा, हिन्दू अधिराज्य नेपालको पहिचान हो । विश्वका धर्महरुमा, हिन्दू अधिराज्य हुँदाको अवस्थामा, नेपाल धर्मनिरपेक्ष राष्ट्रहरु भन्दा पनि नेपाल अत्यन्त उदार र सहिष्णु राष्ट्रको रुपमा परिचित हो । त्यसैले हिन्दु धर्म विश्वका अनेकौं धर्महरु भन्दा अत्यन्त उदार धर्मको रुपमा परिचित छ । हिन्दू अधिराज्य सार्वभौम राष्ट्रको ऐतिहासिक प्रमाण हो ।

‘यमनले राज गर्दा कति पतीत हिन्दूस्थल भयो ?
फगत यो नेपालको मुलुक बची कञ्चन रहिगयो ।’

१५० वर्षअगाडि युवा कवि मोतिराम भट्टले हिन्दू अधिराज्यको सार्वभौम प्रतिष्ठा उल्लेख गर्नुले नै हिन्दूत्व कति महान छ भन्ने कुराको वोध हुन्छ । भारतमा मुसलमान र अंग्रेजी सम्राज्यले हिन्दूत्वमाथि आक्रमण गरेर सिङ्गो भारतलाई बिटुलो बनाएको थियो । तर नेपाललाई कुनै बिदेशीले खुट्टा घुमाउन पाएनन् र यो मुलुक कति पवित्र रहेको कुरा मोतिराम भट्टले उल्लेख गरेका थिए । नेपाली आमाले जनमाएका यी हिन्दू कपुतहरुले आफ्नो पहिचान नैं मेटाएर जगन्य अपराध गरेका छन् । त्यसैले हामी नेपाल र विश्वभरका हिन्दूहरु, जेष्ठ ४ गतेलाई कालो दिन भन्छौं ।

एक त भारतमा गएर २०६२ सालमा १२ बुँदे सहमति गर्नु नै ठूलो भूल थियो । भई गयो- तर के १२ बुँदे सहमतिमा धर्मनिरपेक्ष राज्य घोषित गर्ने कुनै बुँदा थियो र ? यो त सीधै जनतामाथि धोका थियो । नेपालको एकीकरणपछि नेपालबाट फिरङ्गीहरुलार्इ पृथ्वीनारायण शाहले लखेटेका थिए । यहीँकै दलालहरुलाई प्रयोग गरेर धर्मनिरपेक्ष राष्ट्र बनाएर फिरङ्गीहररुलाई बाटो खोलिदिएकाले अहिले सम्राज्यवादीहरुले पृथ्वीनारायण शाहमाथि बदलाको भावना राखेर गाउँ-गाउँमा धर्मप्रचार गर्दैछन् । सम्राज्यवादीहरुले सबैभन्दा पहिला धर्म, संस्कृति र भाषामाथि आक्रमण गरेर आफ्नो प्रभुत्व कायम गर्न प्रारम्भ गर्छन् । भारत, चीन र अन्य राष्ट्रहरुमा त्यस्तै गरे । यसरी यो पूण्यभूमिलाई बिटुलो बनाउन पराइहरुलाई उचाल्नेहरु हिन्दू मात्रका शत्रु हुन् । नेपाल हिन्दू अधिराज्य रहेको अवस्थामा कुनै धर्मावलम्वीहरुबीच कहिले झैझगडा भएको थिएन । धर्मनिरपेक्ष धोषणा भएदेखि भारतमा झैं आज यो शिव र वुद्धकोभूमिमा धार्मिक विवाद उब्जेका छन् ।

यहाँका नेताहरुले धर्मनिरपेक्ष राज्य घोषित गरेर नेपालमा धार्मिक युद्ध निम्त्याएका छन् । राजाले प्रधानमन्त्री दिन्छन् भनेर माधव नेपालले प्रधानमन्त्री हुन आमाको क्रिया पनि गरेनन् । अहिले उनी प्रधानमन्त्री छन् । उनले प्रधानमन्त्रीको सपथग्रहण गर्दा संविधानवमोजिम ईश्वरको नाम लिन मानेनन् । अन्तरिम संविधान बनाउने मध्येका उनी पनि एक हुन् तर उनले संविधानकै वरखिलाप गरे । राष्ट्रिय अस्मिता नभएका त्यस्ता मान्छे पनि नेपालमा प्रधानमन्त्री ? उनीहरलाई थाहा हुनुपर्ने कि अमेरिकी राष्ट्रपतिले बाइबल छोएर सफथग्रहण गर्छन् । ओवामाले बायबल छोएर सपथग्रहण गर्दा एउटा शब्द गल्ती हुँदा दोहोर्‍याएर सपथ गराइयो । त्यो पनि माधव नेपाल र प्रचण्डहरुले देखेका नै हुन् । माओवादी त विद्रोही शक्ति हो भनौं, पछि उनीहरुले सुधार गर्लान् । तर माधव नेपाल त राजाको शासनमा पनि उपप्रधानमन्त्री भएर ईश्वरको नाममा सपथ लिएकै हुन, भने यतिचाँडै पिपलपाते हुन सुहाउँछ ? नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र हुँदा यिनीहरुलाई के को टाउको दुखाई – वास्तवमा कांग्रेस, एमाले र माओवादीका केही नेताहरुका कारणले नेपालको भविष्य अन्धकार हुन पुगेको छ ।

ल, नेपाललाई यिनीहरुले धर्मनिरपेक्ष घोषित गरे । धर्मनिरपेक्ष भनिएको राज्यमा हिन्दूत्वभित्र भइआएका परम्परामा राजा मात्र जान सक्ने स्थानहरुमा किन जबर्जस्तीरुपमा उभ्याइएका कथित राष्ट्रपति कांग्रेसी रामवरण यादव जानुपर्ने ? पाप, धर्म र परम्पराको ख्याल नगर्नेहरुको लागि त्यस्ता पवित्र स्थानहरु निषेधित हुन्छन् । कुमारीको दर्शन र टीका लाउन, भद्रकाली र पचली भैरवसँग खड्ग साट्न, १२ वर्षेमेलाको सम्यक पूजामा हिन्दू धर्म अनुसार राजा मात्र जान सक्ने कार्यमा राष्ट्रपति किन परम्पराकै बेइज्जती गरिरहेका छन् । इन्द्रजात्राको सन्दर्भमा भन्नुपर्दा सम्वेदनशील कुरा के छ भने जीवित कुमारी स्थापना गर्दा कुमारीको जन्मकुण्डली र राजाको जन्मकुण्डली मिलेको हुनु पर्दछ । राजाले राज्यरोहणमा शाक्यवंशकी कुमारीको हातको टीका लगाएर मात्र गद्दीआरोहण गर्ने परम्परा छ ।

वडामहाराजाधिराज पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका विजय गरेपछि कुमारीको हातको टीका लगाउँदै कुमारीको पाउमा ढोगेर मात्र राजसिंहशानमा बसेका थिए । के यो पूण्यभूमिको इतिहास मेट्ने अधिकार छ कसैलाई ? स्मरण रहोस्- भारतका कैयौं मन्दिर र धामहरुमा नेपालका राजाको मात्र विशेषाधिकार छ । अव के त्यसमा यहाँका सिद्धान्तच्यूतहरु जान पाउँछन् । यिनीहरुले त नेपाल मात्र होइन, भारतलगायत विश्वभरमै हिन्दू धर्मलाई बेइज्जती गरेका छन् । हिन्दू धर्म सबै धर्मको संरक्षक हो । सहिष्णुता र उदारता नैं हिन्दूहरुको धर्म हो । बिदेशीका पैसामा बिकेर राष्ट्रलाई नै धोका दिने ? जेष्ठ ४ गतेलाई कालो दिन हो । अव नेपालमा हिन्दू अधिराज्य उल्लेख गरियोस् । नत्र त्यसको बिरुद्ध, हिन्दू राष्ट्र कायम राख्न, नेपाल र विश्वभर छरिएर रहेका सम्पूर्ण हिन्दूहरु, आफ्नो अस्मिता जोगाउन उठ्नुपर्छ ।
उठौं, जागौं, एक हौं ।
[email protected]