एसिया-प्यासिफिक बेली डान्स प्रतियोगिता-२०१०

एसिया-प्यासिफिक बेली डान्स प्रतियोगिता-२०१०


हंगकंग । एसिया बेली डान्स फेडरेशनको आयोजनामा एसिया-पेसिफिक बेली डान्स प्रतियोगिता ५ नोवेम्बेर २०१० मा चिनको ग्वांगझोउमा भब्य रुपमा सम्पन्न भएको थियो । जसमा हंगकंग, चीन, सिंगापुर, ताइपेइ, भिएतनाम, मकाउ, थाइल्याण्ड, इन्डोनेसिया, अफ्रिका आदि मुलुकका बेली डान्सरहरुले भाग लिएका थिए । केटाकेटीदेखि बृद्धसम्मका लाखौ दर्शकहरुले हल खचाखच भरिएको थियो । प्रतियोगितामा कलाकारहरुले एकल तथा समूहमा आ-आफ्ना कला प्रदर्शन गरेका थिए ।
यस प्रतियोगितामा हंगकंगका चर्चित कलाकारद्वय हरि श्रेष्ठ तथा चेतमान गुरुङ निर्णायक तथा अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रमको थालनीमा स्थानीय जिल्लाका मेयर, उप-मेयरक साथै विशिष्ट व्यक्तिहरुले बेली डान्ससम्बन्धी आ-आफ्ना विचार व्यक्त गरेका थिए । यस कार्यक्रमको लागि चीन सरकारको तर्फबाट बिशेष सहयोग प्राप्त भएको थियो ।
यस प्रकारको प्रतियोगिता बर्षमा चार पटक आयोजना गरिन्छ । यस प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरका व्यावसायिक बेली डान्सर तथा यस छेत्रमा लागेका सम्पूर्ण एसियाका कलाकारहरुलाई एकै स्थानमा भेला गराएर आ-आफ्नो कला प्रस्तुत गर्ने जमर्को गरेको छ, जुन अत्यन्तै रमाइलो साथै उत्साहबर्द्धक थियो । प्रतियोगिताको अन्त्यमा कलाकारद्वय हरि श्रेष्ठ अनि चेतमान गुरुङले तबला, मादल र सारंगीमा नेपाली लोक धुन तथा पाश्चात्य संगीतको धुनमा नेपाली बाध्य-धुनको फयूजन प्रस्तुत गर्दा सम्पूर्ण बेली डान्सरहरु साथै दर्शकहरु स्टेजमा आएर नृत्य गरेका थिए, जुन एकदमै रमाइलो थियो । कार्यक्रमको समाप्तिपछि हरि श्रेष्ठ र चेतमान गुरुङसंग तस्वीर खिचाउनेको भीड उर्लिएको थियो ।
यस प्रतियोगितामा प्रथम पुरष्कार ताइवानले हात पार्न सफल भएको थियो भने द्वितीय पुरष्कार मकाउ अनि हंगकंगले तृतीय पुरष्कारमा चित्त बुझाउनु परेको थियो ।-चेत, हंगकंग तस्वीरसहित