काठमाडौं–१ बाट प्रकाशमानले खोलिदिए काङ्ग्रेसको खाता

काठमाडौं–१ बाट प्रकाशमानले खोलिदिए काङ्ग्रेसको खाता


मुलुकभरकै सर्वाधिक चासो र चर्चा रहेको निर्वाचन क्षेत्रमध्येको एक काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा विजय हासिल गरेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पार्टीको खाता खोलेका छन् । अत्यन्त प्रतिष्पर्धात्मक अवस्थाबाट गुज्रँदै सिंहले विवेकशील–साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८ सय १९ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

शनिबार विहान करिव ३ बजे घोषणा गरिएको निर्वाचन परिणामअनुसार प्रकाशमान सिंहलाई १० हजार ९ सय ३७ मत प्राप्त भएको छ भने रविन्द्र मिश्रलाई १० हजार एक सय अठार मत हासिल भएको छ ।

यस विजयसँगै प्रकाशमान सिंहले उनको पार्टीलाई केही राहत दिलाएका छन् भने राष्ट्रिय पार्टी बन्ने विवेकशील–सझा पार्टीको आकाङ्क्षामा गम्भीर धक्का पुगेको छ ।

मतगणनााको अन्तिम चरणसम्म दुई ‘हेभिवेट’ उम्मेदवारमध्ये कसलाई विजयश्री मिल्ने भन्ने अनुमान गर्नै कठिन हुने गरी प्रतिष्पर्धा देखिए पनि पछिल्ला केही घण्टामा भने लगातार मतान्तर बढाएर प्रकाशमानले बाजी मारेका हुन् । मिश्रको हारलाई उनका बारेमा मतदानकै संघारमा केही मिडियाले व्यक्तिगत लान्छना लगाएर गरिदिएको प्रचारले मुख्य भूमिका निर्वाह गरेको कतिपयले टिप्पणी गरेका छन् ।