नेपाली टिभी अब अफगानिस्तानमा पनि

नेपाली टिभी अब अफगानिस्तानमा पनि


अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खाहरुले अब नेपाली टिभी हेर्न पाउने भएका छन् । बेलायती रक्षा बिभागबाट सञ्चालित बिएफबीएस् टिभीले आफ्नो दशौं च्यानलका रुपमा नेपाली टिभी लिएपछि गोर्खाहरुलाई सो अवसर जुरेको हो । फष्ट बटालियन, दि गोर्खा राइफल्स् हेल्मान्डमा परिचालित भएको तीन सातामै उनीहरुका लागि नेपाली च्यानल प्रवन्ध भएको छ ।

बिएफबीएस् टिभीमा नेपाली च्यानलको औपचारिक उदघाटन गर्न १४ मे शुक्रवार सर जोन मुर ब्यारेक्स्, सोर्नक्लिफ, फोकस्टनमा आयोजित विशेष समारोहमा ग्रुप क्याप्टेन मार्क हेफ्रोनले ‘स्वीच अन’ गरेर नेपाली च्यानल सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेले गोर्खाहरुको साहस र उनीहरुका कारण नेपाल ब्रीटेनबीच गाढा सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली टिभीले उनीहरुलाई नेपालको खवरसंगै परिवार ‘मिस’ हुन नदिने आशा व्यक्त गरे । स्वागत मन्तव्यका क्रममा एस्एस्भिसीका प्रमुख कार्यकारी निक पोलार्डले गोर्खा सैनिकका लागि नेपाली च्यानल उपलब्ध गराउन पाएकामा खुशी व्यक्त गर्दै यसले उनीहरुमा थप आत्मविश्वास बढ्ने बताए ।

नेपाली टिभीका संस्थापक तथा कार्यकारी निर्देशक विजय थापाले नेपाली कला, संस्कृति, भाषाको सम्वर्द्धन साथै नेपालका ताजा खवर प्रवासमा रहेका नेपालीसम्म पुर्‍याउने विशुद्ध उद्देश्यले सन् २००५ मा बेलायतबाट नेपाली टिभी शुरु गरिएको जनाउँदै बिएफबीएस् टिभीसंग सामेल हुन पाएकामा प्रसन्नता व्यक्त गरे, ‘हामी अफगानिस्तानमा लडिरहेका गोर्खाहरुलाई आफ्नो परिवार र नेपालका गतिविधि पुर्‍याउन पाउँदा खुशी छौं । यसले आगामी दिनमा अझ गुणस्तरिय कार्यक्रम पस्कन प्रेरणा मिलेको छ’- थापाले भने ।

श्रोत: नेपाली समाचार