'क्यामोफ्लेग-चरित्र'का राजनैतिक सिद्धान्त

'क्यामोफ्लेग-चरित्र'का राजनैतिक सिद्धान्त


-कमल पौड्याल,
जर्मनी र जापानको सातो खाने हामी
शूर वीर नेपाली हौँ, सँसारमा नामी
हाम्रो वास्ता यो गर्दैन, साह्रै दीक्क लाग्छ
भारत सरकार मादल ठोक्छ, नेपाल सरकार नाच्छ ।

२०११-१२ सालतिर एकजना प्रगतिशील जनकविको उद्धृत गीत गन्दर्भले सारङ्गीको र्‍याईँर्‍याईँको भाखामा नयाँ सडक पीपलबोटमुनि गाईरहँदा, टुँडिखेलमा नेपाली काङ्ग्रेसका स्वर्गीय नेता गणेशमान सिँह औँलो ठड्याएर भाषण गर्दै भन्ने गर्थे अरे…..’नेपालका कम्युनिस्टहरु मास्कोमा पानी परे, काठमाण्डौँमा छाता ओढ्दछन् ।’…यो भनाई बिसँ २०४०-४१ सालतिरसम्म पनि विद्यार्थी युनियनका चुनावताका क्याम्पसका भित्ताहरुमा यदाकदा देख्न पाईन्थ्यो, आजकल के छ कुन्नी ! हुन त त्यतिबेलाको सोभियत रुस र आजको रुसमा आकाश र जमीनको फरकले परिवर्तन आईसकेको छ । कम्युनिस्ट सँसारका कतिपय उर्बर भूमिहरुमा आजकल कम्युनिस्टको वीउ पाउन पनि मुस्किल पर्दै जान थालेको आभाष हुन्छ । ईतिहासका घटनाक्रम हेर्दा, कम्युनिस्टहरु जेठो, माइलो, साइँलो, काइँलो, कान्छो, अन्तरे, जन्तरेबाट कता हो कता पुगिसकेका छन् । सायद धेरै अध्ययन र विद्वताले गर्दा पो हो कि ? हाम्रै देशको सन्दर्भमा पनि रुसलाई हेर्ने दृष्टिकोण, चीनलाई हेर्ने दृष्टिकोण, अनि उत्तर कोरिया, लिविया, क्यूवा र भारतसम्मलाई हेर्ने दृष्टिकोण अनि लेनिन, स्तालिन, माओस्तुङ, देङ सियाओ पोङ, फिडेल क्यास्ट्रो, कर्णेल कद्दाफी, चे ग्वेरा देखि किम इल सुङसम्मका नेताहरुलाई हेर्ने दृष्टिकोणमा भएका मत-मतान्तरले तथा मसालको ‘स’ पातलो या मोटो, कुन राख्ने भन्ने किसिमका विवादले पार्टी फुटेका वामपन्थी ईतिहासका विभिन्न कालखण्डले बताएका छन् ।

हुन त, स्वर्गीय गणेशमान सिँहलाई नेपाली काँङ्ग्रेस र प्रजातन्त्रसँग अलग्याएर हेर्न सकिन्न । आफ्नो सम्पूर्ण जीवनलाई नै प्रजातन्त्रको पर्याय बनाएका स्वर्गीय सिँह आफ्ना जीवनका अन्तिम दिनतिर पार्टीभित्रका घात-अन्तर्घातबाट निरास देखिन्थे । निरङ्कुस शाहीतन्त्रबाट जनअधिकार खोसेर जनतालाई प्रजातन्त्र दिलाउँछु, दिलाउँछु भन्ने हठ बोकेका स्वर्गीय सिँह लामो समयसम्म आफ्नै पार्टीभित्रका ‘परिवारवाद’को विरुद्ध सङ्र्घष गर्दागर्दै बिते । एकताका ‘र्सवमान्य’ नेताको पगरी पाएका स्व. सिँहलाई ‘काङ्ग्रेसमान्य’ मात्र बचाउन पनि गाह्रो परेको थियो । नेपाली काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भनिए पनि यसको मूल जराचाहिँ अहिलेसम्म कोइराला परिवारबाट बाहिर जान सकेको छैन । ‘कोइराला भन्नु नै काङ्ग्रेस अनि काङ्ग्रेस भन्नु नै कोइराला’ भएको छ । यस्ता जे-जस्ता आन्तरिक विवाद भए पनि, नेपाली काङ्ग्रेस आफ्नो वाल्यकालदेखि अहिले पौढकालसम्म अनवरत रुपले भारतप्रति वफादार, ईमान्दार, लचकदार, समझदार देखिन्छ ।

ईतिहासका पानाहरुलाई विभिन्न कोणबाट नियालेर विश्लेषण गरी हेर्दा, काङ्ग्रेसलाई मात्र भारतभक्तको दर्जा दिनुचाहिँ अन्याय हुन्छ । पृथ्वी नारायण शाहदेखि ज्ञानेन्द्र शाह, भीमसेन थापादेखि र्सूय बहादुर थापा, पुष्पलाल श्रेष्ठदेखि पुष्पकमल दाहाल(प्रचण्ड), अनि सीपी मैनालीदेखि सीपी गजुरेल, मनमोहन अधिकारीदेखि माधव नेपालसम्मका राष्ट्रिय नेताहरुका दिनचर्या हेर्दा, गणेश भनाइलाई परिमार्जन गरेर…’नेपालका सबै नेताहरु, दिल्लीमा पानी पर्दा काठमाण्डौमा छाता ओढ्दछन्’ …..भन्दा फरक नपर्ला । स्वर्गीय राजा वीरेन्द्रका पालामा तत्कालीन प्रधानमन्त्री मरिचमान सिँहले छोटो समय भए पनि भारतविरुद्ध लिएका अडान लिएका थिए, तर त्यो तत्कालीन सरकारको आफ्नै अडान नभएर स्वर्गीय भारतीय प्रधानमन्त्री राजिव गान्धी र स्वर्गीय राजा वीरेन्द्रको व्यक्तिगत टकरावको कारण चिस्सिएको सम्बन्धले गर्दा दरबारकै ईसारामा उनले त्यस्तो भुमिका निर्वाह गरेको कुरा राजनैतिक वृतमा चर्चित रहृयो ।

वामपन्थीहरु आफ्ना अनुकुल या प्रतिकुल मिलाएर ‘छेपाराले झैँ मौषमी रङ फेर्न खप्पिस’ हुन्छन् । ‘आज गल्ती गरे पनि भोलि आत्मा आलोचना गर्नु’ तिनका लागि समान्य हुन्छ । भारतलाई विस्तारवादी, क्षेत्रीय प्रभुत्ववादी भन्दै नेपालसँगका कैयौँ असमान सन्धिबारे एकताका जनचेतना जगाउँदै यस्ता क्रियाकलापको खुलेर विरोध गर्ने नेकपा एमालेले आफ्नो अडानलाई टनकपुर महाकाली सन्धिमा तिलाञ्जली दिएर काङ्ग्रेसपछिको ‘दोस्रो भारतभक्तको दर्ज्यानी चिन्ह’ पाउन सफल भयो । भारतीय हेपाहा शैलीप्रति आफ्नो दश वर्ष जनयुद्धमा खरो रुपमै भारत विरोधी भएर उत्रेको नेकपा माओवादी का नेता प्रचण्डले हिन्दूस्थान टाइम्सको सम्मेलनको मौका पारी आयोजित एक पत्रकार सम्मेलनमा …..’पाकिस्तानी गुप्तचर सँस्था, ‘आइ यस आई’ले आफूहरुलाई हतियार दिन खोज्दा पनि अस्वीकार गरिदियौँ’…. भन्दै ‘सबैभन्दा कनिष्ठ भारतभक्त हुँ’ भन्ने सन्देश घुमाउरो पाराले दिएका थिए । जसलाई त्यतिखेरै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले ‘आई यस आई’ले त्यस्तो प्रस्ताव कहिल्यै नराखेको, सायद प्रचण्डले कसैलाई खुसी पार्न (भारतलाई इङ्गित गर्दै) त्यसो भनेका हुन सक्ने स्पष्किरण दिएका थिए । हुन त आफ्नो पार्टीले सत्ता-साझेदारीको पूर्व सन्ध्यामा भारतबाट कचिङ्गल नआओस् भन्ने हेतु तथा त्यतिबेला भारतीय जेलमै रहेका आफ्ना नेताद्वय सीपी गजुरेल र किरण वैद्यको रिहाइको कारणले भाखा फेरेका हुन सक्छन् ।

जन युद्धताक नक्कली पासपोर्टमा भारतको मद्रासबाट बेलायत जान लाग्दा पक्राउ परेर लामो समय भारतीय जेलमा परी चर्चामा आएका अर्का माओवादी नेता (माओवादीका विदेश विभाग प्रमुख) सीपी गजुरेलले विसँ माघ १४, २०६२ को ‘नेपाल’ साप्ताहिकमा, एक पत्रकारको माओवादीहरुको भारतप्रतिको दृष्टिकोणमा १८० डिग्रीको कोणमा किन परिवर्तन भएको भन्ने प्रश्नको उत्तरमा उनको उत्तरले अझै माओवादीको भारतप्रतिको दृष्टिकोण स्पष्ट पार्दछ । जस्तो गजुरेल भन्दछन्….’हामी पुराना कुराहरु सम्झेर बस्दैनौँ, भारतलाई विस्तारवादी नभनेको धेरै भयो, भारतसँगको निकटता आजको आवश्यकता हो ।’…… अनि यो सबै इति-वृत्तान्त हेर्दा लाग्छ, ‘हामी कहिल्यै पराधीन पनि भएनौँ र स्वाधीन पनि भएनौँ’ ।

जे होस्, नेकपा माओवादीले देशका पुराना शासकहरु र अन्य पार्टीले विगतमा गरेझैँ देशका प्राकृतिक सम्पदा भारतलाई चढाउँदै देशघाती सन्धिहरुमा मतियार नबने बिग्रिसकिएको चाहिँ छैन, उनीहरु यसमा कति सचेत छन्, यो भविष्यले बताउला ।

अब त ४० को दशक टेक्दा….’बुझ्यो कठिन, झन् बुझ्यो झन् कठिन, झन् झन् बुझ्यो झन् झन् कठिन’ भनेझैँ भएको छ । को खाँटी कम्युनिस्ट, को सिध्द्धान्त निष्ठ, को सँसोधनवादी, को असल, को गद्दार, को देशभक्त, को देशघाती, को साखिने कम्युनिस्ट, को विकासे कम्युनिस्ट, आदि भन्ने बारेमा सोँच्दा-सोँच्दा कम्युनिस्ट सुनिने र पढिने मात्रै एकादेशको दन्त्य कथा हो कि जस्तो लाग्न थालेको छ । अनि म पनि, कम्युनिस्टलाई कवि विजय सुब्बाको ‘लोकतन्त्र, जनजाति र विजय सुब्बा’ शीर्षकको कविताको अँशको आँखाले जस्तै देख्न थालेको छु अचेल ।

ए सुन है,
‘कम्युनिस्ट’ भनेको त नाम पो हो, राख्न पाइन्छ,
गिरिजाले ‘कम्युनिस्ट प्रसाद कोइराला’ राखे हुन्छ,
के धनीको नाम ‘गरीवदास’ छैन र ?
के अन्धोको नाम ‘नेत्र बहादुर’ छैन र ?
यति जाबो कुरा नबुझेर
‘कम्युनिस्ट’ हुन खोज्छस्,
सिद्धान्त बोली र व्यवहारमा एकरुपता खोज्छस्,
लट्ठक, सँधै हार्ने नै भए पनि,
तेरो नाम ‘विजय’ हैन र ?
Flashback Publishing