हङकङे BNO नेपाली, बेलायत र समयको हेरफेर

हङकङे BNO नेपाली, बेलायत र समयको हेरफेर


-डम्बर गुरुङ,
सन् 90 को दशकमा हङकङमा जन्मेका पूर्व गोर्खा सैनिकका सन्तानहरुले जन्मको आधारमा त्यहाँको स्थाई नागरिकता लिन सक्ने कानूनी हैसियत प्राप्त गरेपछि त्यहाँ जन्मेका नेपालीहरु तथा तिनका अन्य आश्रित पारिवारिक सदस्यहरुको हङकङ प्रवेश बाक्लिन थाल्यो । यसरी त्यहाँको स्थाई नागरिकता लिने क्रममा अधिकाशंले बेलायतले आफ्नो उपनिवेशकालमा त्यहाँका नागरिकहरुले लिन चाहेको खण्डमा प्रदान गरिने British National Overseas (BNO) राहदानी पनि लिएका थिए । नेपालीहरुको हङकङ आगमनताका त्यहाँ निर्माणधीन रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कामदारको अभाव थियो । त्यसले गर्दा शुरु-शुरुमा रोजगारको खासै समस्या थिएन । त्यही कारणले हुन सक्छ त्यस ताका हङकङ नेपालीहरुको पहिलो गन्तव्य बनेको थियो । तर विमानस्थलको निर्माणपश्चात् भने त्यहाँ रहेका नेपालीहरुको जनजीवन अचानक कष्टमय बन्न पुग्यो । फलतः थुप्रै नेपालीहरु बेरोजगार भए भने कतिले न्यून ज्यालामा श्रम बेच्न बाध्य भए । रोजगारको अन्य क्षेत्रतिर लाग्नुको विकल्प रहेन । त्यसपछि भने कतिले भाषा सिक्न थाले, कतिले सीप सिक्न थाले भने कतिले व्यपार व्यवशायतिर हात हाल्न थाले । 90 को दशकदेखि आजसम्म आई पुग्दा नेपालीहरुले त्यहाँ 10/15 वर्षको समय खर्चिसकेका छन् । यो समय निश्चय पनि निकै लामो समय हो । यतिका समयवधि भित्र उनीहरुले आंशिक वा पूर्णरुपमा आफूलाई त्यहाँको मूल प्रवाहमा समाहित गराउँदै व्यवस्थित हुन थालेका थिए र छन् ।

यता बेलायतले भने हङकङमा आफ्नो उपनिवेशकालको अन्ततिर त्यहाँ रहेका चिनियाँ मूलका बाहेक नेपाली, भारतीय तथा पाकिस्थानी मूलका नागरिकहरु जसले हङकङको स्थाई नागरिकता बहन गरे तापनि चीनको केन्द्रीय सरकारले हङकङ 1 July 1997 देखि पुनः आफ्नो अधीनमा आएपछि उनीहरुलाई चिनियां नागरिकसरह स्वीकार नगर्ने हुनाले उनीहरु राज्यविहीन (Stateless) हुने कुरालाई मध्यनजर गरी British Nationality (Hong Kong Act) 1997 ऐन जारी गरी 4 Feb. 1997 भित्र BNO राहदानी लिई सकेकाहरुले 1 July 1997 पछि बेलायती नागरिकताका लागि आवेदन दिन सक्ने भन्दै विज्ञप्ति जारी गरेपछि नेपाली BNO वाहकहरुको लागि कानूनी रुपमा बेलायतको ढोका खुला भयो । यद्दपि यो अवसरप्रति हङकङे BNO वाहकहरु 2004/05 सम्म अनविज्ञ नै रहे । ततपश्चात् भने उनीहरु बिस्तारै बेलायतको नागरिकता तथा राहदानी लिई आफ्नो 10/15 वर्षको हङकङ बसाइलाई पूर्ण विराम लगाउँदै बेलायत आउन थाले भने कतिपय विभिन्न कारणवश आउने मनस्थितिमा उतै छन् । कुनै दिन अवश्य आउने छन् । आउनु पर्छ । नेपालीहरु हङकङबाट बेलायत आउनुको पछाडि बेलायती शिक्षा तथा अंग्रेजी भाषाको विश्वव्यापी पहुंच, विश्वको आर्थिक, सामाजिक तथा राजनैतिक क्षेत्रमा बेलायतको पहुंच, भौगोलिक रुपमा ठूलो देश अनि रोजगार तथा व्यवशायका राम्रा अवसर वा सम्भवनाहरु आदि जस्ता प्रमुख कारणहरु छन् ।

बेलायत आई सकेकाहरुलाई भन्दा पनि आउने क्रममा वा आउने मनस्थिति बनाएका हङकङे नेपालीहरुलाई यहाँको वस्तुस्थितिबारे पूर्व जानकारी गराउने यो लेखको आशय भएको हुनाले तिनैसँग सम्बन्धित विषय वस्तुलाई यहाँ राख्ने प्रयास गरिएको छ ।

1] प्रारम्भिक चरणमा गर्नु पर्ने कामहरु : वैधानिक रुपमा हाम्रो बेलायत प्रवेशपछि यहाँको राष्ट्रिय बीमा (National Insurance) NI नम्बरको लागि आवेदन दिनु पर्दछ । पछि हामीले काम शुरु गर्नुभन्दा पहिला सो नम्बर आफ्नो रोजगारदाता वा कम्पनीलाई उपलब्ध गराउनु पर्दछ ताकि हरेक पटक हामीले आफ्नो तलव पाउदा सरकारको राज्वस्व तथा भन्सार विभागले हाम्रो आयको 6/7 प्रतिशत रकम NI को लागि असुल्दछ । जसबाट जम्मा भएको रकम सरकारले उमेरगत हिसावले अवकाश पाएकाहरुलाई निवृतिभरण तथा राष्ट्रिय स्वास्थ्य सेवाको क्षेत्रमा लगाउने गर्दछ । त्यसैगरि हामी बस्ने ठाँउको स्थानीय स्वस्थ्य केन्द्र वा अस्पतालमा गई आफ्नो तथा परिवारका अन्य सदस्यहरुको लागि GP(General Practitioner) को लागि दर्ता गर्नु पर्दछ र त्यही चिकित्सकमार्फत हामीले आफ्नो स्वस्थ्य परीक्षण तथा बिरामी हुँदा निःशुल्क जँचाउन पाउँदछौ । औषधिको लागि भने शुल्क लाग्दछ ।

2] रोजगार तथा सुविधा : तुलनात्मक रुपमा हङकङमा भन्दा यहाँ रोजगारको सम्भवना अनि अवसरहरु धेरै छन् । त्यसमा पनि हामी कुनै क्षेत्रमा दक्ष छौं वा हामीसँग कुनै किसिमको सीप छ अनि भाषाको खासै समस्या छैन भने ढिलो चाँडो अवसर पाँउछौ । कुनै पनि रोजगार दाता वा कम्पनीले कामदार भर्ना गर्दा बेलायती कानूनबमोजिम 18 वर्षदेखि 21 वर्षसम्मका लागि न्यूनतम £ 4.35 र 22 वर्षदेखि माथिका लागि न्यूनतम £ 5.45 प्रति घण्टाका दरले तलव दिनु पर्दछ । तर हामीले हरेक पटक बुझ्दा हाम्रो आयको पहिलो कामबाट 11/12 प्रतिशत र दोस्रो अनि तेस्रो कामबाट 20 प्रतिशतका दरले राज्वस्व तथा भन्सार विभागले आयकार असुल्दछ । जसबाट जम्मा भएको रकम सरकारी सुविधाहरु जस्तै शिक्षा, सडक, प्रहरी र सैनिक जस्ता सेवाहरुमा लगानी गर्दछ । हरेक आंशिक तथा पूर्णकालीन कामदारले प्रत्येक आर्थिक वर्षमा कम्तीमा 28 दिनको तलवी बिदा पाउने गर्दछ । कामलाई घण्टामा गणना गरिने हुँदा समय अनि लचिलो हुन्छ ।

3] सामाजिक सुरक्षा : बेलायत सामाजिक सुरक्षाको सवलमा निकै संवेदनशील छ । यहाँको सामाजिक सुरक्षा प्रणालीलाई संधै प्राथमिकतामा राखेर हेर्ने गर्दछ भन्ने कुरा समाज कल्याणको लागि निम्न आय भएकाहरुलाई दिँदै आएको सुविधाहरुबाट प्रष्ट हुन्छ । जस्तै 16 भन्दा मुनिका बाल बालिका भएका बुबा आमालाई दिइने रकम Child Benefit, Child Tax Credit, निम्न आयका कामदारले पाउने रकम Working Tax Credit, बेरोजगारीहरुले पाउने रकम Job Seeker Allowance, वृद्वाहरुले पाउने State Retirement Pension, 16 वर्षभन्दा माथिका किशोर-किशोरीहरुले पाउने Education Maintenance Allowance आदि ।

4] बालबालिकाका लागि शिक्षा : यहाँको शिक्षा प्रणाली र हङकङको शिक्षा प्रणाली एक आपसमा मिल्दा-जुल्दा देखिए तापनि यहाँ व्यवहारिक शिक्षामा बढी जोड दिइन्छ र बढी मात्रामा सूचना प्रविधि Information Technology को प्रयोग गरिन्छ । बच्चाको जन्म मितिअनुसार उसको कक्षा निर्धारण गरिन्छ । हामीले सोचेजस्तो झोलाभरि किताब-कापी अनि गृहकार्य यहाँ हुँदैन । कुनै पनि बालबालिकालाई जबर्जस्ती नभई उसको रुचि तथा क्षमताअनुसार सिकाइन्छ । हरेक ठाउँमा बाल अधिकार Child Rights लाई गम्भीर रुपमा लिइने गरिन्छ । जसले गर्दा घरमा समेत हामीले आफ्ना बालबालिकाहरुलाई चर्को स्वरमा गाली गर्न कानूनी छुट छैन । त्यति हुँदा-हुँदै पनि हामी आफ्नो बालबालिकाको शिक्षामा सजग नभई उनीहरुलाई आवश्यक समय नदिई उचित मार्ग दर्शन दिन सकेनौं भने ‘हाम्रो लागि त उतै ठीकै थियो बच्चाहरुको लागि आएको हो भन्दै’ हामीले देखेको सपना पूरा नहुन पनि सक्छ ।

समयको हेरफेर नौलो अनुभव
बेलायत भूमध्य रेखाबाट 3450 माइल टाढा उत्तर अर्थात् पचास डिग्रीदेखि साठी डिग्री उत्तरी अक्षांश रेखाभित्र पर्दछ । जसले गर्दा गर्मी याममा सूर्य पृथ्वीको उत्तरी भागमा आई पुग्ने हुनाले यहाँ दिन लामो हुने गर्दछ भने जाडो याममा सूर्य दक्षिणतिर बेलायतबाट धेरै टाढा पर्ने हुनाले रात लामो र दिन छोटो हुने गर्दछ । यही कुरालाई मध्यनजर गरेर हुन सक्छ बेलायतमा (यूरोपभरि) वर्षमा दुर्इ पटक समयको हेरफेर गरिन्छ । हरेक March महिनाको अन्तिम आइतबारदेखि घडीको सुइलाई एक घण्टा अघि सारिन्छ भने हरेक October महिनाको अन्तिम आइतबारबाट घडीको सुइलाई एक घण्टा पछि सारिन्छ । जुन हामी एशियाबाट आउनेहरुको लागि नौलो अनुभव हुन सक्छ । भर्खरै मात्र गत October महिनाको 31 तारिख आइतबारबाट यहाँको समयलाई एक घण्टा ढिलो बनाइएको छ । जाडो याममा यहाँ दिनको साढे चारदेखि पाँचबजे भित्र रात परिसक्छ । जसले गर्दा रात पन्ध्रदेखि उन्नाइस घण्टासम्म लामो हुने गर्दछ । विज्ञहरुका अनुसार रात लामो तथा चीसो अनि दिन छोटो तथा उज्यालो प्रकाशको कमीले वा अभावले हरेक 20 जनामा एक जनालाई र त्यसमा पनि महिलाहरु पुरुषभन्दा तीन गुणाले SAD (Seasonal Affective Disorder बाट ग्रसित हुने गर्दछ । यो मौसमी रोगबाट प्रभावित हुनेहरुमा आलस्य भई जाँगर नचल्नु, थकित महशुस हुनु, रातमा निन्द्रा नलाग्नु, खाना सामान्य भन्दा कम वा बढी रुच्नु, यौन ईच्छा नजाग्नु जस्ता लक्षणहरु September महिनादेखि November महिनाभित्र देखा पर्दछ र बसन्त ऋतुको आगमन सँगै स्वतः हराउँदछ । जाडो याममा तापक्रम -9 देखि -12 डिग्रीसम्म झर्दछ र अत्यधिक मात्रामा हिँउ पर्दा यहाँको दैनिक जीवनयापन निकै कष्टप्रद बन्दछ ।

माथि उल्लेखित हावापानीसम्बन्धी संक्षिप्त जानकारीबाट यो पंक्तिकारलाई बेलायत आउनको लागि गृष्म ऋतु अर्थात् March देखि September महिना उपयुक्त समय हो जस्तो लाग्छ । यसको अर्थ यो होइन कि जाडो याममा आउनै हुदैन । यदि तपाई आउने योजनामा वा मनस्थितिमा हुनु हुन्छ भने चाहे जाडो होस् या गर्मी एकै दिन भए पनि किन नहोस् छिटो आउनु पर्दछ । ताकि तपाई यहाँको हावापानीसँग, सामाजिक संरचनासँग, भाषिक बातावरणसँग तथा अन्य वस्तुस्थितिसँग एकै दिन भए पनि छिटो घुलमिल हुन सक्नु हुन्छ । जुन तपाईको बेलायत बसाइको लागि लाभदायक छ ।

-अल्डरसट, यू के