पराजयपछि चन्द्र भण्डारीले मतदाताका नाममा दिए मार्मिक सन्देश

पराजयपछि चन्द्र भण्डारीले मतदाताका नाममा दिए मार्मिक सन्देश


आफ्नो चुनाव क्षेत्र मात्र नभनी सिङ्गो गुल्मी र देशकै लागि विकास निर्माण र समृद्धिको पक्षमा यथासक्दो कर्म गरेर चर्चामा रहँदै आएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी अनपेक्षित रुपमा पराजय ब्यहोर्न पुगेका छन् । निर्वाचनको अन्तिम परिणाम आएलगत्तै नेता भण्डारीले मार्मिक एवम् सन्देशमूलक सन्देश सरल तर कुटनीतिक स्वाद समेत मिसाएर सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेका छन् । हेरौँ उनको सन्देश जस्ताको तस्तै-

आदरणीय मतदाता महानुभवहरु,
विगत चार वर्ष पहिले दोश्रो संविधानसभाको निर्वाचनमा सहभागी हुँदा गुल्मेली जनतासमक्ष मैले दुइवटा एजेण्डा अगाडि सारेको थिएँ, १- भाषण र गफको चौघेरामा घेरिएर अलपत्र परेको संविधान निर्माण कार्यको अवरोध चिर्दै संविधान बनाउने । २- सिद्धबाबाको वैकल्पित सडक निर्माण सुरु गर्ने । यी दुबै काम मैले पुरा गरेको छु ।

छोटो समयमा मैले गुल्मीमा शुरु गरेका विकास योजनाहरु नेपालका लागि नमूना हुने छन् भन्ने कुरामा विश्वास लिएको छु । तथापि गुल्मेली जनताले मलाई दिएको मतको हार्दिक सम्मान गर्दै धन्यवाद ब्यक्त गर्दछु ।

विश्वका महान साहित्यकार शेक्सपियरले ‘मानिस आफ्नो भौतिक शरिरको अन्तपछि जिवन्त रहने कि नरहने’ भन्ने महत्वपूर्ण प्रश्न उठाएका छन् । म यस विचारमा सहमत छु । त्यसैले गुल्मीलाई सडक, पुल, तीनमुखे पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विद्युतीकरण,घरवारविहीनलाई घर बनाउँदै गुल्मीलाई पर्यटनसंग जोडेर नमूना जिल्ला बनाउने महान यात्रामा थिएँ । यसक्रममा जनताले दिएको मतले मलाई नयाँ तरिकाले सोच्न सहयोग गरेको छ।

हामीले अँगालेको प्रजातन्त्रमा जनताको मत नै सर्वस्विकार्य हुन्छ । नेपाली कांग्रेसको नेतृत्वमा कठिन घडीमा निर्माण भएको संविधान कार्यन्वयनको चरणमा स्थानिय तह देखि प्रदेश र संघको निर्वाचन सम्पन्न हुनु आफैमा खुसीको कुरा मात्र होइन, यसलार्इ राष्ट्र र जनताको विजयको रुपमा लिनु पर्दछ । यस पक्रियामा सहभागी भई विजय हासिल गर्ने प्रतिनिधिसभा सदस्य लगायत प्रदेश सभाका सदस्यहरुलाई बधाई दिन चाहन्छु । निष्पक्ष निर्वाचन गराउनका लागि सहयोग गर्ने निर्वाचन आयोग, कर्मचारी, दुबै प्रहरी संगठन, नेपाली सेना र निर्वाचनमा सहभागी जनतालाई हार्दिक धन्यवाद ।

साथीहरु,
म दुःखी छैन किनकि हामीजस्ता विकासउन्मुख देशका जनताले विकास, राजनीति र नेतृत्वको सम्बन्धलाइ पुनः परिभाषित गर्नुपर्ने आवश्यक्ता देखिन्छ । त्यसका लागि समयअनुसारको नेतृत्व कांग्रेसलाइ आवश्यक भएको कुरा वर्तमान परिणामले प्रमाणित गरेको छ । तथापि जितेको चन्द्र भण्डारीभन्दा मतबाट पराजित चन्द्र भण्डारी जनताको दुःख(सुखमा साथ रहिरहने छु । विजय(पराजय राजनीतिमा भइरहने प्रकृया हो त्यसैले जुनसुकै परिणामलार्इ स्वभाविक रुपमा ग्रहण गर्नु पर्दछ । साथै संविधान कार्यान्वयनका लागि आउने समस्या समाधानको लागि जनताले दिएको स्थानमा बसेर काम गर्नेछु ।आशा छ अबका दिनमा जनताले निडर र स्वतन्त्रपुर्वक आफ्नो मत प्रयोग गर्न पाउने छन् भने उम्मेदारले आफ्नो मत माग्दा कुनै बन्दीजस्तो बन्नुपर्ने छैन । विश्वास छ अबको सरकार, नेता र उनका कार्यकर्ताले हामीले बनाएको संविधानमा राखिएको मौलिक अधिकारको पूर्ण पाठ गरी संविधानमा प्राप्त अधिकारको पालना गर्ने छन् । भोलीका दिनमा क्षमताविहीन नेतृत्व, कलमविहीन पत्रकारिता, कामबिना थोत्रा भाषणमा मत माग्ने प्रवृत्तिको अन्त्य हुनेछ भने जनताले मतको सम्मान खोज्ने छन् ।

पुनः गुल्मेली जनतालाइ आभार प्रकट गर्न चाहान्छु, जनताको इमान्दार भरिया बनी बोकिएको बोझिलो भारी बिसाउने अवसर दिनु भएकोमा । साथै विजयी साथीहरुसंग विश्वास छ गुल्मीलाइ नेपालको नमुना जिल्ला बनाउन थालिएका योजनाहरुले निरन्तरता पाउने छन्।

निर्वाचनमा अहोरात्र खट्ने साथीहरु, प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया र सहयोग गर्ने सबैलाइ नमन। जय नेपाल ।

चन्द्र भण्डारी
नेपाली कांग्रेस केन्द्रिय सदस्य