माओवादी नेतृत्वलाई आत्मसमर्पण नगर्न सुझाब

माओवादी नेतृत्वलाई आत्मसमर्पण नगर्न सुझाब


काठमाडौं, माओवादी केन्द्रीय समिति सदस्यहरूले सत्तारुढ दलसँग कुनै प्रकारको आत्मसमर्पण नगर्न नेतृत्वलाई सुझाब दिएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा हिजो बोल्ने केही सदस्यले सत्तारुढ दलहरू माओवादीलाई आत्मसमर्पण गराउने प्रयासमा लागेको भन्दै नेतृत्वलाई कुनै पनि हालतमा आत्मसमर्पण नगर्न सुझाब दिएका हुन् । ‘अब सत्तारुढ दलहरूसँग आत्मसमर्पण गरेर जाने होइन, उनीहरू मिल्न आउँछन् भने मिलेर जाने, लड्न आउँछन् भने लडेर जाने हो,’ बैठकमा केही सदस्यहरूको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रममा अधिकांश सदस्यले पार्टीले अगाडि सारेका सर्त मान्य भएमा मात्र संविधानसभाको म्याद थपिनुपर्ने सुझाब दिएका थिए । केहीले भने संविधानसभामार्फत सत्तारुढ दलले शान्ति र संविधान निर्माण गर्न नदिने अवस्था देखिएकाले म्याद थपेर सरकारको आयु लम्बाउन नहुने बताएका थिए ।

‘सर्त मानेको अवस्थामा मात्र संविधानसभाको म्याद थपिनुपर्छ,’ बैठकमा सदस्यहरूको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘जनताको संविधान बनाउन दिन्छन् र उनीहरू (सत्तारुढ दलहरू) सहमतिमा आउँछन् भने म्याद थपेर जानुपर्छ ।’ माओवादीले सरकार निर्माणका लागि अन्तरिम संशोधनबाट सहमतीय प्रणालीमा जानुपर्ने र वर्तमान सरकार विघटन गर्नुपर्ने सर्त अगाडि सारेको छ ।

श्रोत: नयाँ पत्रिका