सिन्धुपाल्चोकको पाँच स्थान बामको कब्जामा

सिन्धुपाल्चोकको पाँच स्थान बामको कब्जामा


– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)

‘हेभिवेट’ नेताबीचको प्रतिष्पर्धाका कारण चासोका रुपमा हेरिएको सिन्धुपाल्चोकको पाँच स्थानमा बाम गठबन्धन विजयी भएको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको जिल्लामा एक पस्थानमा लोकतान्त्रिक गठबन्धन विजयी भयो । लोकतान्त्रिकका उम्मेदवार कांग्रेसका निमा लामाले प्रतिनिधि सभा २ को प्रदेश सभा २ मा जत हासिल गरेका हुन् । अन्य सबै स्थानमा बाम गठबन्धनका उम्मेदवार विजयी भए ।

जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ मा सूचना तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई हराउँदै माओवादी नेता अग्नी सापकोटाले बाजी मारे । बस्नेतले २९ हजार सात सय ९८ मत ल्याउँदा पूर्व सूचना तथा सञ्चार मन्त्री सापकोटाले ४० हजार पाँच सय चार मत ल्याएर विजयी बनेका हुन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ मा राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमसेर राणाले फेरि हार व्यहोरे । उनलाई एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले पछि पारेका हुन् । तामाङले ३८ हजार चार सय एक मत ल्याउँदा राणाले ३० हजार तीन सय ६९ मत मात्रै ल्याए । २०७० को संविधानसभा निर्वाचनमा पनि तामाङले राणालाई हराएका थिए । यो सँगै राणाको हार लगातार तेस्रो हो ।

प्रतिनिधि सभा १ तर्फको दुवै प्रदेश सभामा एमालेका नेता विजयी बने । प्रदेश सभा १ मा एमालेका अरूण नेपालले काँग्रेसका विष्णुबहादुर खत्रीलाई पराजित गरेका हुन् । नेपालले २१ हजार सात सय १२ विजयी हुँदा कांग्रेसका खत्रीले १४ हजार ६ सय ३३ मत ल्याएको मुख्य निर्वाच्न अधिकृत दिपक खनालले जानकारी दिए । नेपाल एमालेका बैकल्पिक पोलिट्व्यूरो सदस्य हुन् भने कांग्रेसका खत्री पार्टी जिल्ला अधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भएका थिए । यही क्षेत्रको प्रदेश सभा २ मा एमाले नेता सरेश नेपालले कांग्रेसका राजेन्द्रकुमार श्रेष्ठलाई निकै पछाडि पारे । नेपालले २२ हजार आठ सय ३७ मत ल्याए । त्यस्तै कांग्रेसका श्रेष्ठले १२ हजार एक सय ८७ मत प्राप्त गरे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । योृ प्रदेशमा विजयी बनेका सरेश पूर्व जिविस सभापति भएका थिए ।

प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका नेता युवराज दुलाल विजयी बने । नेपाली कांग्रेसका महासमिति सदस्य विकास तामाङलाई हराउँदै दुलालले बाजी मारेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार दुलालले २० हजार ६ सय ८७ मत ल्याएका थिए । उनका प्रतिष्पर्धी तामाङले १३ हजार पाँच सय २१ प्राप्त गरे । दुलाल सशस्त्र द्वन्द्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका अंगरक्षक थिए । तामाङ कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका निमा लामाले जित हासिल गरे । पूर्व सभासद दावा तामाङलाई एक सय ९७ मतले पछि पार्दै निमाले जितेका हुन् । कांग्रेसका लामाले १८ हजार ९ सय ५ मत ल्याएर विजयी बन्दा दावाले १८ हजार सात सय ८ मत प्राप्त गरे । निमाको जितसँगै सिन्धुपाल्चोकमा कांग्रेस ‘क्लीन स्वीप’ हुनबाट जोगिएको छ ।