झापाको मत परिणाम सार्वजनिक, पन्ध्रै स्थानमा बामगठबन्धन

झापाको मत परिणाम सार्वजनिक, पन्ध्रै स्थानमा बामगठबन्धन



– रेजिना गौतम (झापा)

गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फका झापा जिल्लाको मतगणना सम्पन्न भएको छ । मत गणना सम्पन्न भएसँगै निर्वाचन कार्यालय झापाले मतपरिणाम घोषणा गरेको छ । झापाका पाँच क्षेत्रका प्रतिनिधिसभा र दशप्रदेशसभा गरी जम्मा १५ सिटमा सबै बामगठबन्धनका उम्मेदवारले विजय प्राप्त गरेका छन् ।

घोषित परिणामअनुसार झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका बहुचर्चित उम्मेदवार विश्वप्रकाश शर्मालाई २ हजार ८ सय ६३ मतान्तरले पछाडि छोडेर माओवादी केन्द्रका सुरेन्द्र कार्की विजयी भएका छन् । कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गर्दा शर्माको खातामा ३३ हजार ३ सय १० मत परेको प्राप्त परिणामले देखाएको छ ।

१ लाख ५ हजार ४ सय ७९ मतदाता रहेको यस क्षेत्रमा ७५ हजार ९ सय ७० मत खसेको थियो । प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (१) मा एमालेका श्रीप्रसाद मैनाली विजयी भए । उनले कांग्रेसका केशवराज पाण्डेलाई ५ हजार ७ सय ३२ मतान्तरले पराजित गरेका हुन् । मैनालीले २२ हजार ९ सय ७२ मत ल्याएर विजयी हँदा पराजित उम्मेदवार पाण्डेले १७ हजार २ सय ४० मत आएको थियो ।

क्षेत्र नम्बर १ (२) मा एमालेका उम्मेद्वार गोपाल बुढाथोकी निर्वाचित भएका छन् । उनले कांग्रेसका अशोक पोखरेललाई ७ हजार ८ सय ६१ मतान्तरले पराजित गरेका हुन् । बुढाथोकीले १७ हजार ८ सय ३९ मत प्राप्त गर्दा पराजित उम्मेदवार पोखरेलले ९ हजार ९ सय ७८ हात पारे ।

त्यसैगरी झापा क्षेत्र नं–२ मा प्रतिनिधिसभातर्फ एमाले उम्मेद्वार पवित्रा निरैला खरेल विजयी भएकी छिन् । खरेलले ५४ हजार ८१७ मत प्राप्त गरी विजयी भइकी हुन् उनका प्रतिस्पर्धी उद्धव थापाले ३२०५० मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर–२ प्रदेशसभा १ मा एकराज कार्की र प्रदेश २ तर्फ बृखबहादुर प्रधान विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर–३ प्रतिनिधि सभाका उम्मेरदवार कृष्णप्रसाद सिटौला गठबन्धनका उम्मेद्वारसँग पराजीत भएका छन् । सिटौला राप्रपा महामन्त्री राजेन्द्र लिंगदेनसंग निकै फराकिलो मतअन्तरले पराजित भएका हुन् । लिंगदेन १३ हजार ४ सय ४४ मत अन्तरले सिटौला पराजित भएका हुन । लिंगदेनले ४४ हजार ६ सय १४ मत प्राप्त गरेका छन् भने सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याएका छन् । लिंगदेनलाई बामगठबन्धनको साथ र समर्थन थियो ।

क्षेत्र नम्बर –३ प्रदेशतर्फ १ मा बसन्त बानिया र प्रदेश २ मा पूर्णसिंह राजवंशी निर्वाचित भएका छन् ।

यसैगरी झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका लालबहादुर साँवा लिम्बू (एलपी) विजयी भएका छन् । कांग्रेसका उम्मेदवार देउमान थेवेलाई १६ हजार ६ सय ९३ मतान्तरले पराजित गर्दै साँवा विजयी भएका हुन् । साँवाले ४३ हजार ५ सय १५ मत प्राप्त गरेका थिए । थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर ४ प्रदेससभातर्फ १ मा झलकबहादुर मगर र प्रदेश–२ मा हिराकुमार थापा विजयी भएका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाप्त गरेका छन् । त्यसैगरी प्रदेशतर्फ ५ नम्बर क्षेत्र प्रदेश–१ मा हिक्मत कार्की विजयी हुँदा प्रदेश २ मा अर्जुन राई विजयी भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।।

(बाम गठबन्धनबाट विजयी प्रतिष्पर्धी सुरेन्द्र कार्कीलाई माला लगाइदिंँदै विश्वप्रकाश शर्मा)