नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आफू जनताको सेवक भएको दाबी गरेका छन् । गोरखा–२ प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि गोरखामा आइतबार आयोजित विजय सभालाई सम्बोधन गर्दै भट्टराईले मतदातालाई धन्यबाद दिँदै आफू जनताको सेवक भएको बताएका हुन् ।
उनले भने, ‘म सम्पूर्ण गोरखाली दाजुभाइ तथा दिदीबहिनीमा आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुले मलाई तेस्रोपटक गोरखा जिल्लाको प्रतिनिधित्व गर्ने अवसर दिनुभएको छ । म आफ्नो बुद्धिले भ्याएसम्म निष्ठापूर्वक, इमान्दारितापूर्वक जनताको सेवामा लाग्नेछु ।’
जनताको प्रतिनिधि सेवक हुन्छ मालिक हुँदैन भन्दै भट्टराईले गोरखावासीको सेवकका रुपमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । संविधान कार्यान्वयन गर्न ऐन, कानून बनाउने, विकास निर्माणको नेतृत्व लिँदै समृद्धितर्फ लैजानेलगायत भूमिका आफ्नो रहेको भट्टराईको कथन थियो ।
भट्टराईले जनताको समस्या समाधान गर्न आफ्नो क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्ने र जुनसुकै बेला सम्पर्क हुने हटलाइन टेलिफोन सेवा शुरु गर्ने बाचा पनि गरे । जनताको समस्या सुनेर समाधानका लागि पहल गर्ने उनको कथन थियो ।
कांग्रेससँगको सहकार्यमा आफू निर्वाचित भएको स्वीकार गर्दै उनले संसद्को अवधिसम्म कांग्रेससँग सहकार्य गरेर जाने बताए । उनले भने, ‘म नेपाली काँग्रेसलाई विश्वास दिलाउन चाहन्छु कि ढुक्क रहनुहोस्, तपाईंहरुको प्रतिनिधि मै हुँ, कसैलाई पनि काखापाखा गर्नेछैन ।’
प्रतिक्रिया