गोर्खा कप २०१० अन्तिम तैयारी

गोर्खा कप २०१० अन्तिम तैयारी


लण्डन । गोर्खा कपको अन्तिम तयारीका लागि तमु धीं यूकेको बैठक यही शनिबार २२ मे का दिन लण्डनस्थित हार्‍रो लेजर सेन्टरमा सम्पन्न भयो। संस्थाका अध्यक्ष सुबसिङ गुरुङको सभापतित्वमा, सचिव ज्ञाम गुरुङले सञ्चालन गरेका थिए। सो बैठकमा संस्थाका खेलकूद सचिव तथा गोर्खा कपका संयोजक क्या। रि। बालकृष्ण गुरुङले गोर्खा कपको तैयारीबारे विस्त्रित जानकारी गराए।
बेलायतमा नेपालीहरुको जनसंख्या बढेकोले गत वर्षभन्दा यस वर्ष गोर्खा कपमा टिम एन्ट्रीको चाप अपेक्षा गरिएभन्दा बढी भएको बताउँदै यसलाई आयोजक कमिटीले एउटा प्रोत्साहनको रूपमा लिई खेलाडीहरुको गोर्खा कप प्रतिको रुचीलाई ध्यानमा राखेर यसपालिको नाइन-ए-साइड फुट्बल खेलमा भेटरनतर्फ टिम संख्या ८ देखि १६ र ननभेटरनतर्फ ३२ देखि ४८ सम्म बढाइएको जानकारी गरायो।

बैठकमा पर्यवेक्षक, संचारकर्मी, खेलाडीहरु तथा जनसाधारणको उपस्थितिमा गोर्खा कपको टिम ड्रव गरिएको थियो। गोर्खा कपको लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिंदै संयोजक बालकृष्ण गुरुङले कार्यसमितिका पदाधिकारी, सदस्यहरु तथा सल्लाहकार समितिका सदस्यहरुलाई कामको जिम्मेवारी सुम्पिनुभयो। उनले गोर्खा कप सफल पार्नका लागि सबै जना कम्मर कसेर लाग्न पर्ने बताँउदै सबैले आ-आफ्नो जिम्मेवारी पूर्ण रूपमा निभाएर सहयोग गरिदिन अनुरोध गरे।
गोर्खा कप फूटबल हेर्न गत वर्ष करीब पन्द्र हजार दर्शकहरुको उपस्थिति थियो। तमु धी यूकेले बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुमा आपसी सहिष्णुता र सदभाव बढाउँदै यूवा जोश जांगरलाई खेलकूदमा लगाई उनीहरुको खेल कौशल प्रदर्शन गर्न र त्यसमा निखार ल्याउन यूवाहरुका लागि एउटा सुनौलो अवसर सिर्जना गरेको बताएको छ।
-पुष्पा गुरुङ