२ लाख पाउण्डको लूटसँगै दम्पतीलाई यातना

२ लाख पाउण्डको लूटसँगै दम्पतीलाई यातना


लण्डन । एउटा बृद्धा दम्पतीलाई तातो स्तीरी (आइरोन)डाम्दै, उनीहरुका तीन वर्षीय नातिनीलाई उम्लेको पानी खन्याइदिने धम्की दिएर २ जना आततायी लुटेराहरुले २ लाख पाउण्ड मूल्यको गरगहना लुटेर लगेको समाचार प्रकाशमा आएको छ ।
६९ वर्षीय डेभिड वार्डलाई शरीरको पार्श्वभागमा तीस मिनटसम्म तातो स्तीरीले डाम्दै घरभित्र रहेका सम्पतिको बारेमा सोधेका थिए । उनको जिउमा जीवनभरिका लागि नमेटिने घाउको दाग बनाइदिएका छन् । लूटपाट र यातना दिने अवधिभरि उनका भयभित महिलासाथी आन वूडल्याण्डलाई उनीसँगै हात बाँधेर राखेका थिए । यातना दिने क्रममा आततायीहरुले छेउमा सुतिरहेकी उनीहरुका नातिनीलाई केतलीमा उम्लेको तातोपानी खन्याइदिन्छु भन्ने धम्की दिँदा ती दुबै दम्पतीले रुँदै आँशु खसाएका थिए । आन वूडल्याण्डले, ..उनीहरु असभ्य तथा अमानुष थिए, उनीहरुले जीवनको मूल्य बुझ्दैनन्..भनेकी छिन् ।
तिनले अघि थपिन्, ..म डेभिडको छेउमा थिएँ जतिबेला उनलाई स्तीरीले डामिरहेका थिए, छेउमा सुतिरहेकी नातिनी उठछन् कि भन्ने डरले एक शब्द ऐयाअत्था नगरी स्तीरीले डामेको खपिरहेँ, उनी एकदमै साहसी हुन्.. भनेर समाचारदाताहरुलाई उद्धृत गरेकीछिन् । दुईजना मान्छे मुख छोप्ने गुनाटोपी ओढेर लुट्न आएको बेलामा उनीहरु राति चिगवेल, एसेक्सस्थित घरमा मस्त सुतिरहेका थिए । विल्डर कामबाट सेवानिवृत्त भइसकेका डेभिड वार्ड र उनका पार्टनर आन वूडल्याण्डलाई उनीहरुको सेफबारे भन्नको लागि कर लगाएका थिए जबकि उनीहरुको सेफ नै थिएन । ..मलाई स्तीरीले पोलिरहेको पीडा भइरहेको थियो, तर, मैले केही शब्द निकालिनँ, त्यो पीडाको अनुभूति म कहिल्यै भुल्नेछैन, मलाई रिस उठिरहेको थियो, कसरी उनीहरुले यस्तो व्यवहार गर्नसक्छ ? कसैको जीवन उनीहरुले कसरी बर्बाद गर्नसक्छ ?.. भनेर डेभिडले आफ्नो पीडा व्यक्त गरेका छन् । यस सालको अगस्त महिनामा घटेको लूटको घटनामा ती व्यक्तिहरुले बहुमुल्य औंठीहरु, रोलेक्स र पाकेट फिलिप घडीहरु लुटेर लगेका थिए । पछि दम्पतीले नातिनीलाई उनीहरुका बाँधिएका हातहरु खोल्न लगाएका थिए । ती लुटेराहरु पक्डाऊमा परेका छैनन् उनीहरुले लुटेराहरुबारे सूचना दिने व्यक्तिलाई दशहजार पाउण्ड इनाम दिने घोषणा गरेका छन् । श्रोत-मेट्रो, सुमल, मेस ।