अमेरिकामा साकेला

अमेरिकामा साकेला


मेसेचुसेट । यही मे २३, २०१० का दिन मेसेचुसेट राज्यको वाटर टाउनस्थित आर्शनल पार्कमा यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका (यु.क्रा.) न्यू इंगलैंड च्याप्टरको आयोजनामा साकेला सांस्कृतिक कार्यक्रम झण्डै तीनसय जनाको उपस्थितिमा भब्यताका साथ संपन्न भयो । कार्यक्रमका मुख्य अतिथि नेपालका निबर्तमान प्रमुख निर्बाचन आयुक्त भोजराज पोखरेलले, कुनै पनि जातिको भाषा, धर्मं, संस्कृति भनेको प्राण हो यदि यसको मृत्यु भयो भने त्यो जातिले आफ्नो पहिचान गुमाउँछ र पहिचानविहीन हुनु भनेको अस्तित्व मेटिनु हो, विनाश हुनु हो, अत: आफ्नो मुलुकदेखि यति टाढा आएर पनि तपाइँहरूले आफ्नो धर्म, भाषा, सस्कृतिलाई संरक्षण संबर्धन गर्ने जुन पहल गर्नु भएको छ, यो अत्यन्तै सह्रानीय कुरा हो, यसले अन्तर्राष्ट्रीय जगतमा राई जातिको मात्र होइन सींगो नेपालको पहिचान गराउँदछ भन्ने भनाइ आफ्नो मन्तव्यमा दिएका थिए ।
समरविल सिटी, स्वास्थ्य तथा महिला परिषदका निर्देशक श्रीमती संजा दरैले, समरविल सिटिमा थुप्रै नेपालीहरु बसोबास गर्दै आए तापनि सिटिको सम्पर्कमा आई नसकेकोले उनीहरुको धर्मं, भाषा, संस्कृति संरक्षण संबर्धनतर्फ सिटिले कुनै सहयोग दिन नसकेको कुरा बर्ताइन् । त्यस्तै छुवा छूत जस्ता अमानवीय सस्कारको जातोमा पिसिएका दलित बर्गका महिलाहरुको सामाजिक, आर्थिक तथा बौद्धिक बिकासमा उल्लेखनीय सफलता हांसिल गरेको एडीडब्लूओयनकी अधक्ष तथा गैरआबसीय नेपाली, राष्ट्रिय समन्वय परिषद अमेरिका उत्तर पूर्ब क्षत्रका निर्देशक बिष्णु माया परियारले, यो संस्थाले यस प्रकारको कार्यक्रमको आयोजना गरेर आफ्नो धर्म, भाषा संस्कृतिको सम्रक्षण त गरेकै छ यसको साथै म जस्तो महिलालाई मंच दिएर चार जात छत्तीस वर्णका सबै नेपाली महिला तथा पुरुष सामान हुन भन्ने ज्वलन्त उदाहरण समेत प्रस्तुतत गरेको छ भनिन् ।
साकेलाको बारेमा प्रकाश पार्दै केन्द्रीय समितिका सल्लाहकार शिव कुमार राइले सभ्यताको शुरुमा जब मानिसहरु शिकारी अवस्थाबाट पशु पालन हुँदै कृषि अवस्थामा प्रबेश गरे, त्यसपछि राई जातिहरूले भूमिलाई आफ्नो माता मानी उभौली अर्थात् सामन्यतय जेठ महिनामा यो बर्ष बालीनाली राम्रो होस् भनेर भूमि पूजा गरी सकेपछि बालीनाली लगाउदा गरिने क्रियाकलाप जस्तोस् भाष्मे फाड़ेको, जमीन खानेको, बिऊ छरेको जस्ता अभिनय (नक्कल) सिली गर्दै भूमि मातालाई ख़ुशी पार्न तथा उधौली अर्थात् मंशिर महिना (बालीनाली उठाउने समय) मा अन्न बालीमा घुन पुतली नलगोस् यसमा सह होस् भनेर पुनस् भूमि पूजा गरी बालीनाली उठएको नक्कल सिली गर्दै ढोल झ्यमटा बजाउँदै नाचने प्रचलन शुरु भयो । यो नाच गरिँदा प्रयोग गरिने शुरुदेखि अन्त्यसम्म जति पनि सिलीहरु गरिन्छ, त्यो सम्पूर्ण सिलीको श्रींखलालाई हालसम्म जीवित रहेको २७ भाषा बोल्ने ३९ थरी राईहरुले सकेला, सकेवा, सकेन्वा, तोष, तोषी भनी आ-आफ्नो भाषाअनुसार भन्ने गर्दछन् भने ।
यु.क्रा. केन्द्रीय समितिका नव निर्वाचित अध्यक्ष मिलन कुमार राइले धन्यबाद ज्ञापन गरेका थिए भने सो कार्य क्रममा न्यू इंगलैंड च्याप्टरका अध्यक्ष बिष्णु राईले स्वागत गरेका थिए ।
हरियो घुम्टोमा दुलहीझै सजिएकी सुन्दर पार्कमा दौरा सुरुवाल टोपी र भोटोमा ठाटिएका युवाहरु तथा गुन्यु चोली, पोते शिरबन्दीमा सजिएका युवतीहरुको ठूलो समूहले साकेला गीतको तालमा सिलिको मद्दामद्वारा दर्शकहरुलाई स्वागत गर्दै प्रारम्भ भएको मनमोहक साकेला नृत्यले सम्पूर्ण दर्शक हरुलाई नाचूँ नाचूँ बनाएको थियो । त्यस्तै गीत, बाँसुरी, एकल, युगल तथा सामूहिक नृत्यले भरपूर मनोरन्जन पस्केको थियो भने कार्यक्रमको अन्तिम चरणमा कलाकार, अतिथि, आयोजक तथा सम्पूर्ण दर्शकहरू समेत ढोल झ्यमटा र शोई शोइला गीतको तालमा नाच्न तल्लीन हुँदा कार्यक्रम संचालकलाई कार्यक्रम समप्तिको लागि पटकपटक घोषणा गर्न परेको थियो ।-धौलावीर राई