हङकङ सरकारबाट एक नेपाली सम्मानित

हङकङ सरकारबाट एक नेपाली सम्मानित


हङकङ । स्थानीय अल्पसंख्यकहरुका हकहितमा कार्य गरेबापत हङकङ सरकारले बुद्धिबहादुर थापालाई मेडल अफ अनरले सम्मानित गरेको छ । हङकङका प्रमुख कार्यकारी डोनाल्ड चाङले गत शनिबार सेन्ट्रलस्थित गर्भमेन्ट हाउसमा थापा उक्त पदक द्वारा विभूषित गरिएका हुन्। सो पदकको घोषणा भने हङकङको तेह्रौ बाषिर्कोत्सवका अवसरमा गत जुलाई एक तारिखमै गरिएको थियो । बेलायतले हङकङ चीनलाई हस्तारन्तरण गरेका दिन समाजमा योगदान पुर्‍याउने व्यक्तित्वहरुका सम्मानमा विभिन्न पदक तथा कदर पत्रको घोषणा हुने प्रचलन छ । गत वर्ष यस्तै एक समारोहमा हङकङकै एक नेपाली महिला डा. शर्मिला गुरुङलाई सामाजिक सेवा गरेवापत कदर पत्रले सम्मानित डोनाल्ड चाङबाट गरिएको थियो भने यो पटक थापाले सोही सेवावापत पदक पाएर पहिलो शौभाग्यशाली नेपाली बनेका छन् ।
स्याङजा वालिङका थापा विगत पन्ध्र बर्षदेखि हङकङमा बसोबास गर्दै आएका छन् । थापाले सरकारको सम्मानले सबै नेपालीको प्रतिष्ठा उँचो बनाएको विचार पोखे। विगत छ बर्षदेखि अल्पसंख्यकहरुका लागि कार्यरत संस्था हङकङ एकीकृत नेपाली समाजका समेत उनी अध्यक्ष हुन् । समाजले सरकारका समन्वयमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत अल्पसंख्यक र स्थानीय चिनियँहरु बीचको दूरी कम गर्न विभिन्न कृयाकलापहरु गर्दै आएको छ । थापा सात बर्षसम्म हङकङ सरकारको संबैधानिक तथा मुख्यभूमि मामिला विभागका सदस्य समेत थिए । विधान परिषद्बाट जातीय भेदभाव विरोधी कानुन पास गराउन उक्त विभागले सक्रिय भूमिका खेलेको उनको दाबी छ ।-समाचार श्रोत कान्तिपुर