तनहुँका पाँच मतदान केन्द्रको मतगणना कांग्रेसद्वारा अस्वीकार, पुनः मतदानको माग

तनहुँका पाँच मतदान केन्द्रको मतगणना कांग्रेसद्वारा अस्वीकार, पुनः मतदानको माग


नेपाली कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ । कांग्रेसद्वारा मंगलबार जारी वक्तव्यमा निर्वाचनका क्रममा मंसिर २१ गते विभिन्न बुथका पाँचवटा बाकसमा जम्मा खसेको मत दुई हजार ३२८ भनी मुचुल्का गरिएकोमा मतगणनापछि जम्मा सदर तथा बदर मत सङ्ख्या दुई हजार ३ सय ७० देखिएको घटनाले मतगणनाका क्रममा फर्जी मत मिसाइएको तथ्य स्वतः स्पष्ट भएको उल्लेख गरिएको छ ।

“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण कडीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा संलग्न कर्मचारीको प्रत्यक्ष संलग्नता र निर्वाचन अधिकृतको संरक्षणमा गरिएको उक्त धाँधलीयुक्त मतगणनाको परिणामलाई नेपाली काँग्रेस अस्वीकार गर्दछ”, नेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

विधि र प्रक्रिया विपरीत धाँधलीपूर्ण तरिकाले ४२ मत बढी देखाएर गरिएको अवैधानिक मतगणना र घोषित परिणामलाई बदर गरी उल्लिखित अन्तिम चरणमा मतगणना गरिएका अमरज्योति मावि ग्यारसिं, जनजुक्त शाही मावि (क), जनजौकुमारी शाही आधारभूत विद्यालय (क) म्याग्दे ७, व्यास–५ को उदय मावि ठूलोटार (ख) र म्याग्दे–४ को मीन मावि समेतका पाँचवटा मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरी स्वच्छ र निष्पक्ष निर्वाचनको प्रत्याभूति प्रदान गर्न कांग्रेसले माग गरेको छ ।