मतगणनामा अत्यन्त प्रतिष्पर्धात्मक परिस्थितिको सामना गरिरहेका सुनसरी क्षेत्र नं ३ का उम्मेदवार एमालेकी भगवती चौधरी र कांग्रेसका विजय गच्छदारबीच मतको रोचक उलटफेर देखिएको छ । आज विहान सार्वजनिक गरिएको हालसम्मको मतपरिणाममा चौधरीलाई उछिन्दै नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि देखिएका छन् ।
मतगणना शुरु भएदेखि पछाडि रहँदै आएका गच्छदार आज अगाडि देखिएका हुन् । आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार गच्छदार ५१९ मतले अगाडि छन् ।
पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेकी छिन् । जम्मा ८५ हजार १९७ मत खसेको सो क्षेत्रमा ७८ हजार ३९१ मत गणना भएको छ, जसअनुसार अब ६ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ । अझै पनि जित कसको हुने भन्नेमा शंसय बाँकी रहे पनि पछिल्लो मतपरिणामको ट्रेण्डका आधारमा गच्छदारकै पल्ला भारी पर्ने आँकलन गर्न थालिएको छ ।
प्रतिक्रिया