थुइक्क पाजी, यो तैले के गरिस् ? -सुमल कुमार गुरुङ

थुइक्क पाजी, यो तैले के गरिस् ? -सुमल कुमार गुरुङ


“खाली पैसा पैसा ! ! त्याँ बच्चाहरुलाई जथाभावी पैसा खर्च गर्न नदिनु बुझिस्” धनजङ कड्केर फोनमा काठमाडौंमा पत्नीलाई थर्काउँदै बोल्दैछ, ।

उताबाट झिनो स्वरमा, “के गर्नु फीस बढेको बढ्यै छ….खर्च काँ पुग्छ तपाईले पठाउनुभाको २० हजारले.. ..चार चार जना बच्चाहरुलाई ?”

फेरि धनजङको अनुहार बिग्रन्छ । पारा चढेर आएको प्रष्ट अनुहारको भावले दिन्छ । अनि त सेक्युरिटी पोस्ट नै थर्किने गरी पत्नीलाई थर्काउँछ ।

“केरे पुग्दैन रे ?….लल अब..त्यतिले पुग्दैनभने पैसा नै पठाउँदिन.. जा.. बुझिस्” भनेर थ्याच्च कुर्सीमा बस्छ । उताबाट, “ए हजुर मैले सुको मास्याछैन, जिनिसको भाउले आकाश छोएको छ.. मैले कसरी घर चलाउनु नी..पानीसमेत किनेर खानुपर्ने काठमाडौं शहरमा ?” भनेर पतिलाई दुखेसो पोखाएकी मोबाइल फोन बाहिर नै प्रष्ट सुनिन्छ ।

आवेशमा धनजङ फोनमा बोल्दा आफ्नो सुपरभाइजर, मोहन छेउमा बसेर सुनिरहेको पनि पत्तो भएन । तर, एकछिनपछि आफ्नो आवेशलाई नियन्त्रण गर्दै अलि नरम भएर, “लल.. अब अर्को महिनाबाट ३० हजारको हिसाबले पठाउँछु.. बच्चाहरुलाई कन्ट्रोल गर” भनेर फोन् झ्याप्प मार्छ ।

मोहनले धनजङको सबै आनीबानी थाहभएकोले अरु केही भनेनन्, तर, एउटा कुराचाँहि उसले धनजङलाई भन्न मन लाग्यो, “हेर भाई काठमाडौंमा महँगाई छ.. घर चलाउन साह्रै गाह्रो हुन्छ ..सबै कुराको बील तिर्नुपर्छ.. विचरा बहिनीले ती हुर्किसकेका बच्चाहरुलाई सम्हाल्न गाह्रो हुन्छ नी..”

बीचैमा कुरा काटेर धनजङले भन्छ,, “हेर्नुहोस्, साप यी आइमाईहरुलाई विश्वास गर्न हुँदैन… ठिक्क पुग्ने गरेर पैसा पठाउनुपर्छ” । मोहन केही बोलेनन् ।

आर्मीबाट पेन्सन पकाएर काठमाडौमा बसाइँ-सराइ गरी बस्दा धनजङले जग्गा किनेर एउटा तीनतले घरसम्म बनाएको थियो । बच्चाहरु चारजना ससानै थिए । घरको भुँइतला भाडामा दिएको थियो । केही वर्षभित्र जम्मै बच्चाहरु हुर्कँदै गए । चार चारजनालाई बोर्डिङ स्कुलमा पढाउँदा पेन्सन र भाडाले पुग्न हम्मे-हम्मे हुनथाल्यो । जीवनभरि विदेशमा नोकरी गरेर कमाएको पैसा अहिले कम लाग्न थाल्यो । पैसाको अभाव फेरि खटकिन थाल्यो । अब फेरि विदेश नगई भएन ।

भू.पू. आर्मी भएको नाताले पानी जहाजमा सजिलै सेक्युरिटी गार्डको काम पनि पाइहाल्यो । तर, त्यो काममा दुःख अनुसारको पैसा थिएन । ऊ दुर्इ महिनाको विदा आएको बेलामा महाराजगञ्ज, चक्रपथको एउटा होटलमा धमाधम हङकङको लागि गार्डिङ सेक्युरिटी कम्पनीमा भूतपूर्व लाहुरेहरुलाई भर्ना लिइरहेको खबर धनजङलाई प्राप्त भयो र विचार गर्नलाई ऊ त्यहाँ पुग्यो । आफूलाई चिनेको साप र गल्लाहरु धमाधम भर्ती भइरहेका उसले देख्यो । सबैभन्दा पहिले पैसाको कुरा आउँछ । उसले एकजना साथीलाई सोध्यो, “ होइन कस्तो छ यार.. पैसा र अरु फेसिलिटीहरु ?”

साथी हर्कले, “पैसा राम्रो छ..साथीहरुले भनेको… सात हजार पाँचसय हङकङ डलर शुरुको तनखा, ओटी गर्दा दश हजारसम्म पुग्छ रे, बस्ने सुविधा छ र दुर्इ-दुर्इ वर्षमा छुट्टी आउँदा जहाज टिकट पनि दिन्छ रे”

धनजङले मनमनै विचार गर्‍यो, सुविधा र पैसा पानी जहाजमा काम गरेको भन्दा राम्रो छ । “लौ म पनि जान्छु यार” भनेर त्यतिबेला नै फारम भरिहाल्यो । फारम भरेको तुरुन्तैपछि एकजना माइकल भन्ने गोरा म्यानेजरले अन्तरवार्ता लियो । तुरुन्तै सेलेक्ट पनि भयो र मेडिकल रिपोर्ट लिएर अर्को हप्ता आउनलाई भन्यो । अर्को हप्ता इन्डक्सन तालिमको लागि त्यहि होटलमा आउनलाई भन्यो । धमाधम भर्ती तथा तालीम गराउँदै मान्छेहरु हङकङ पठाइरहेका थिए । त्यतिबेला सेक्युरिटी कम्पनीले हङकङको मार्केट लिईसकेको थियो । कम्पनीमा झण्डै ६, ७ सय गोरखा सेक्युरिटी अफिसरहरु काम गर्थे । कम्पनीले पनि ठूलो नाफा कमाएको थियो । भू.पू. आर्मीका मान्छेहरुको ठूलो माग सुरक्षा क्षेत्रमा बढ्दै थियो ।

धनजङ प्हिलो दुर्इ वर्ष करारमा नै मोहनसँगै आएको थियो । मोहन आर्मीमा क्याप्टैन भएको कारणले सिनियर सेक्युरिटी अफिसर अर्थात् सुपरभाइजरको कन्ट्रयाक्ट शुरुमा नै पाएको थियो । उनीहरु करारमा आएका यो तेश्रोपल्ट हो । अहिले तनखा बढेर बारह हजार हङकङ डलर भएको छ, तर, पनि धनजङलाई पैसाको सधै खाँचो भइरहन्छ ।

शुरुको करार र त्यसपछिको करारको एक वर्षभित्रको अवधिमा राम्रो पैसा कमाएर एउटा घडेरी काठमाडौंमा किनेको थियो । तर, त्यसपछि भने उसले केही गर्न सकेनन् । कारण एउटै थियो दन्तेनी गर्लफ्रेण्ड । दन्तेनी भन्नाले फिलिपिनो मूलकी घरेलु कामदार केटीहरुलाई हङकङमा नेपालीहरुले भन्ने गर्छन् ।

मोहनले पहिलेको धनजङ र अहिलेकोमा धेरै फरक देख्छ । पत्नीको बारेमा शुरु-शुरुमा अति नै प्रशंसा गरेर बोल्ने गर्दथ्यो, तर, अहिले ऊ बदलिएको छ । नेपालबाट नै बिचरा बच्चाको आमाले नै फोन् गरिछन् । उसले पत्नीलाई उस्तो फोन गर्दैनन्, तर, कहिलेकाँहि पत्नीको फोन आउँदा उसलाई टेन्शन हुन्छ । भर्खरै पत्नीलाई थर्काएर बसेको धनजङको मुड बिग्रेको थियो । तर, त्यति नै बेला फेरि मोबाइलको घण्टी बज्छ । फोन नम्बर हेरेर अनुहार प्रफुल्ल हुन्छ धनजङको, अनि खुशी हुँदै, मस्किदै अंग्रेजीमा बोल्छ, “ हाय हनी, हाउ आर यु ? आई मिस यु” ।

उताबाट, “फाइन हनी, कमिङ सन्-डे आइ कम योर प्लेस ओ के” दन्तेनी अर्थात् फिलिपिनो गर्लफ्रेण्डको टुटेफुटेको अंग्रेजीमा मक्ख हुन्छ धनजङ अनि जवाफ फर्काउँछ त्यही गर्लफ्रेण्डको शैलीमा, “नो नो कमिङ सन्डे नो चान्स् इन आवर रुम ओके, वी गो टू अदर प्लेस”

माथि बोलेका संवादमा धनजङले आफ्नो केटी साथीलाई नभेटेकोमा खेद प्रकट गर्दै आउने आइतवार भेट्ने वाचा गर्छ । गर्लफ्रेण्ड उसको कोठामा आउन चाहान्छिन्, तर, धनजङले कोठामा हुँदैन अरु नै ठाउँमा जाउँला भनेर सम्झाउँछ । मोहनले धनजङको निमेषमा बद्लेको भाव देखेर दंग हुन्छ । आफ्नो चार-चारजना बच्चा सम्हालेर बसेकी पत्नीलाई नशा फुलाउँदै हाप्काउने र दन्तेनी गर्लफ्रेण्डसँग मीठो पाराले भर्खरै बोलेको संवादले मान्छेभित्रको परिवर्तनले मान्छेलाई विवेक शून्य बनाउँदो रहेछ भनेर सोच्दछ ।

अब आउने आइतवारमा दन्तेनीले धनजङको गोजी रित्याउने भो भनेर ऊ सोच्न थाल्छ । प्रायजसो गार्डिङ कम्पनीमा काम गर्ने सुरक्षाकर्मीहरुले एकजना करार अवधिभरिको लागि दन्तेनी गर्लफ्रेण्ड बनाउने थिए । मोहनले दन्तेनीहरुबाट फसेका धेरै साथीहरुलाई सम्झाए, तर, नसुन्नेलाई केही गरेर नहुँदो रहेछ । दन्तेनीहरु सबैलाई किन दोष दिने ? तर, धेरैजसोले कुनै न कुनै बहाना गरेर पैसा धुत्नेहरु हुँदारहेछन् । धनजङलाई पनि त्यही गर्लफ्रेण्डले दुर्इ पटकसम्म गर्भ रह्यो भनेर गर्भपतन गराउनलाई दश हजार डलरसम्म मागेकी मोहनलाई थाह थियो । दन्तेनीले बीएस सापलाई (गोर्खालीको प्रमुख) रिपोर्ट पुर्याउने धम्कीपनि दिन्थिन् । यदि साँचिक्कै रिपोर्ट गरे अर्को करार नपाउने डरले दन्तेनीले मागेको पैसा दिनै पर्थ्यो । मोहनले सोच्थ्यो विचरा फस्यो केटा अब के गर्ने भन्दा नमान्नेलाई ।

यो गर्लफ्रेण्ड विगत तीन वर्षदेखि धनजङसँग लहसिएकीछिन । धनजङले कमाएको पैसाको ठुलो अंश गर्लफ्रेण्डसँगको मोजमस्तिमा उडाएको छ । हङकङे भाषामा दन्ते भन्ने गर्लफ्रेण्डहरुले कैयौलाई फसाएको मोहनले देखेको छ । तर, मोहनले गर्लफ्रेण्ड बनाएको छैन । साथीहरुले गिज्याउँछन्, तर, ऊ केही नबोली आफ्नो करारभरि काम गरेर पैसा घरमा आफ्नो जहानलाई खुरुखुरु पठाइरहेको थियो । उनको पत्नी र आफूबीचको विश्वासलाई उसले तोडेको थिएन ।

अब तीनवटा करार भन्नाले ६ वर्ष हङकङमा सेवा गरेको पूरा हुँदैछ । अर्को पटकदेखि करारवाला सुरक्षाकर्मी गार्डिङ कम्पनीले नल्याउने रे अब बीफोरएस र सिक्युरिटी दुर्इवटा कम्पनी संयुक्त रुपमा एउटा कम्पनी बन्ने भन्ने हल्ला चल्दैछ । धनजङलाई यतिबेला खेद भइरहेको छ । चार चारवर्ष कमाएको पैसा धेरैजति दन्तेनीलाई पोस्याइयो । अब नेपाल र्फकने बेला आएको छ । उसको ब्याङ्कको पैसा जति जम्मै दन्तेनीसँगको मोजमस्तीमा खर्चिएको थियो ।

करार सिद्धिने बेला आयो अब करार नपाउने पक्का भएको छ । एक दिन दन्तेनी गर्लफ्रेण्डले भन्छिन्, “धनजङ तिमी नेपाल फर्कँदै छौ, कुन्नी हाम्रो भेट हुने होकि होइन, मलाई एउटा उपहार दिनुपर्छ ल” धनजङ केही बोलेन, अनि ऊ नखरा गर्दै फेरि भन्छिन्, “डार्लिङ, प्लिज, किन रिसाएको, एउटा उपहार त दिनैपर्छ, तब धनजङले सुस्तरी भन्छ, “हुन्छ जे भन्छौ त्यही किनी दिन्छु डार्लिङ .. अहिलेसम्म के कुरामा नाइनास्ती गरेकोछु र” ।

चिम शा चुइको क्यामेराको पसलमा ती गर्लफ्रेण्डले सरासर लगेर एउटा भर्खरै निस्केको झण्डै ६ हजार हङकङ डलर पर्ने ह्याण्डी केम क्यामेरा उठाएर “लौ डार्लिङ मलाई यो मनपर्‍यो, यो किनी देऊ न” भनेर धनजङको पाखुरा समातेर फकाउँछिन् । धनजङले केही नबोली, ब्याङ्क कार्डबाट पैसा भुगतान गर्छ । उसलाई खिन्नता हुन्छ र बल्ल होश खुल्छ ।

अनि सरासर दन्तेनी गर्लफ्रेण्डलाई त्यही बाई-बाई गरेर डेरातर्फ आउँछ । तब उसलाई एक प्रकारको पश्चाताप हुन्छ । आफ्नो नामको माला जपेर बस्ने पत्नी र चार चारजना बच्चाहरु झल्झल्ती सम्झन्छ । आफू किन विदेशिएको थियो ? आफ्नो र परिवारको भविष्याको लागि पैसा कमाउन पो आएको थिएँ भन्ने बोध हुन्छ । मैले यतिका वर्षसम्म दुःख गरेको के फायदा भयो ? बच्चाहरुको भविष्य सम्झन्छ, आफ्नी सावित्री जस्ती पत्नीलाई धोका दिएकोमा ग्लानि-बोघ हुन्छ । घरमा पैंसाको खाँचो भएको बेलामा पत्नीले केही पैसाको अनुरोध गर्दा बेकारमा हप्काएको गल्ती-बोध हुन्छ । तब आफूले आफैलाई थुक्छ र भन्छ, “थुइकक, पाजी यो तैले के गरिस् ?”

-यो कथाको पात्रहरु र दर्शाएको घट्नाक्रम सबै काल्पनिक हुन, संयोगवश मेल खाएमा अन्यथा नलिनुहोला (लेखक)