काङ्ग्रेसका लागि चोला बदल्ने अवसर

काङ्ग्रेसका लागि चोला बदल्ने अवसर


लज्जास्पद हारले ऐतिहासिक तथा देशकै ठूलो प्रजातान्त्रिक दल दाबी गर्दै आएको काङ्ग्रेस पार्टीमा एकप्रकारले सन्नाटा पैदा गरिदिएको छ, सँगसँगै तमाम काङ्ग्रेसजनले नेतृत्वको अक्षमतामाथि चर्को ढङ्गले आवाज उठाउने परिस्थिति पनि निर्माण गरिदिएको छ । सभापति देउवाको व्यक्तिगत लहड, मनोमानी, मिडिया एवम् सर्वसाधारणप्रति ‘अशिष्ट’ प्रस्तुति, महत्वपूर्ण मामलामा संस्थागत निर्णय लिन आवश्यक नठान्ने रवैया, सतही अभिव्यक्तिलगायतका कारणले सिङ्गै पार्टीले लज्जास्पद पराजय व्यहोर्नुपरेको यथार्थसँग असहमत सायद देउवाकै विश्वासपात्रहरूसमेत नहोलान् ।

प्रदेश एवम् प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको समस्त नतिजा आइनसक्दै वाम गठबन्धनलाई दुईतिहाइ बहुमतको सफलता हात लागिसकेको छ । यस आधारमा देश यतिबेला पूरै ‘वाममय’ बन्न पुगेको छ । जुन हिसाबले चुनावी परिणाम आएको छ, यस्तो नतिजाको अनुमान सायद हार्ने र जित्ने दुवै पक्षले लगाएका थिएनन् । वामपक्षले गठबन्धन निर्माणदेखि नै दुईतिहाइ सिट जित्ने दाबी गरेको भए पनि त्यो चुनावी ‘स्टन्ट’ मात्रै थियो, साँच्चै यस्तो सफलता मिल्ने आत्मविश्वासका साथ वाम नेताहरूले उक्त दाबी गरेका थिएनन् भन्दा अन्यथा ठहरिन्न ।

यसैगरी, वाम गठबन्धनले अप्ठ्यारो पार्न सक्ने विश्लेषण गरे पनि यस तहको पराजय व्यहोर्नुपर्ला भनी काङ्ग्रेस नेतृत्वले कदाचित ठानेको थिएन । काङ्ग्रेसको शीर्षतहका यस्ता अधिकांश नेताले पराजय व्यहोर्नुपरेको छ जसका काँधमा सिङ्गो पार्टीको भार र भविष्य थेगिँदै आएको ठानिएको थियो । पार्टीका नीतिकार, रणनीतिकार, सिद्धान्त र सङ्गठनका आधार आदि अहम् तहका व्यक्ति–व्यक्तित्वलाई वाम गठबन्धनको प्रचण्ड लहरले किनारा लगाइदिएको छ । यसरी अप्रत्यासित तवरले आएको चुनावी नतिजा विशेषगरी नेपाली काङ्ग्रेसका लागि अत्यन्त पीडादायी रहेको महसुस गर्न सकिन्छ ।

यसप्रकारको नतिजाको कल्पना या आकलन गर्न सकेका भए नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन गराउन नै तयार हुने थिए कि थिएनन्, जिज्ञासाको एउटा पाटो हो । तर, आमरूपमा चाहिँ ‘देउवाले कालकुट विष पिउन तयार हुँदै निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनको मार्ग पूर्ण रूपले खुलस्त गरिदिएका’ भन्ने सन्देश सम्प्रेषण गराउने प्रयत्न भएको पाइन्छ । खासगरी काङ्ग्रेसभित्रका देउवा पक्षधर नेता–कार्यकर्ताहरू यतिबेला यस्तै तर्क गरेर मन बुझाउने चेष्टा गरिरहेका भेटिन्छन् । तर, यो तर्क पराजयमा चित्त बुझाउनका लागि मात्र नभई देउवाको कमी–कमजोरी वा अक्षमतालाई ढाकछोप गर्ने नियतबाट बढ्ता प्रेरित रहेको अनुभूति गरिएको छ ।

वास्तवमा देउवाले संविधान कार्यान्वयनका लागि प्रतिबद्ध भएर नै पार्टीको भविष्यलाई दाउमा राखी निर्वाचन गराएका हुन् या वाम गठबन्धन हुँदा पनि आफ्नै दलको वर्चश्व कायम रहने भ्रममा परेर चुनाव गराउन हौसिएका हुन्, यसको प्रस्ट जवाफ समयले दिने नै छ । तत्कालका लागि चाहिँ देउवाकै पोल्टामा निर्वाचन सम्पन्न हुनुको ‘श्रेय’ पार्न खोजिँदै छ, जसलाई अस्वाभाविक रूपमा हेरिरहनु आवश्यक नहोला ।

निर्वाचनले दिएको यस लज्जास्पद हारले ऐतिहासिक तथा देशकै ठूलो प्रजातान्त्रिक दल दाबी गर्दै आएको काङ्ग्रेस पार्टीमा एकप्रकारले सन्नाटा पैदा गरिदिएको छ, सँगसँगै तमाम काङ्ग्रेसजनले नेतृत्वको अक्षमतामाथि चर्को ढङ्गले आवाज उठाउने परिस्थिति पनि निर्माण गरिदिएको छ । सभापति देउवाको व्यक्तिगत लहड, मनोमानी, मिडिया एवम् सर्वसाधारणप्रति ‘अशिष्ट’ प्रस्तुति, महत्वपूर्ण मामलामा संस्थागत निर्णय लिन आवश्यक नठान्ने रवैया, सतही अभिव्यक्तिलगायतका कारणले सिङ्गै पार्टीले लज्जास्पद पराजय व्यहोर्नुपरेको यथार्थसँग असहमत सायद देउवाकै विश्वासपात्रहरूसमेत नहोलान् ।

आमकार्यकर्ताको चाहनाविपरीत पत्नीलाई टिकट दिने काङ्ग्रेस सभापतिको कदम र टिकट लिएपछि सम्बन्धित चुनाव क्षेत्रमा करोडौँको महल खरिद गरेर जबर्जस्ती ‘लोकल’ बन्न खोज्ने देउवापत्नीको व्यवहारले चुनावी माहोलबीच मुलुकभर कस्तो सन्देश प्रवाहित ग¥यो, यसको समीक्षा अब गरिरहनै परेन । ‘एजेण्डाविहीन’ काङ्ग्रेस कसरी देश र जनताको चाहनाभन्दा विपरीत मार्गमा अघि बढिरहेको छ भन्ने उपमाका लागि मात्र उल्लिखित एक सन्दर्भ प्रस्तुत गरिएको हो, काङ्ग्रेस शीर्ष नेतृत्वमा रहेका विकृति–विसङ्गतिपूर्ण यस्ता कमी–कमजोरी त छरप्रस्टै छन् ।

यस्तोमा सभापतिको क्षमतामाथि पार्टी–पङ्क्तिबाट औँला उठ्नु स्वाभाविक छ । काङ्ग्रेसी नेता–कार्यकर्ताले नैतिकताको आधारमा सभापतिको राजीनामा माग्नु, विशेष महाधिवेशन बोलाई समयसापेक्ष चुस्त–दुरुस्त पार्टीको रूपमा काङ्ग्रेसलाई उभ्याउन तत्काल पहलकदमी उठाउन माग गर्नु अत्यन्त सामयिक विषय हुन् । काङ्ग्रेसको नेतृत्व अब नयाँ पुस्ताको काँधमा आउनुपर्ने आवाज उठाउँदै आएको तप्काले आफूलाई कार्यकर्ता–पङ्क्ति र आमजनतामाझ खरो उतार्ने अवसर पनि हो यो । यदि यस शर्मनाक पराजयलाई पनि यत्तिकै पचाएर टुलुटुलु हेरिबस्ने हो भने कथित सशक्त युवा नेताहरू पनि ढोँगी सावित हुनेछन् । इतिहास बोकेको काङ्ग्रेसले आफूलाई बाँचिरहनैपर्ने दल दाबी गर्छ भने समयानुकूल नेतृत्व चयन गर्ने उपयुक्त अवसर यही नै हो । अन्यथा, इतिहास भजाएकै भरमा जनताको माया पाइने, विश्वास जितिने दिन समाप्त भइसकेको सम्बन्धित सबैलाई हेक्का रहोस् ।