– श्रीविक्रम भण्डारी
खेलकुद र ग्ल्यामरको नाता जति पुरानो छ त्यति नै प्रगाढ पनि छ । त्यसमा फुटबलको आकर्षण यति धेरै छ कि प्रायः यो खेल मन नपराउने विश्वभरि कमै भेटिन्छन् । फुटबलको यही आकर्षण र लोकप्रियताले होला फुटबलका खेलाडी अन्य खेलका खेलाडीभन्दा चर्चित र लोकप्रिय हुन्छन् । यसको अर्थ अन्य खेलका खेलाडी लोकप्रिय छैनन् भन्न खोजिएको होइन । अन्य खेलाडी पनि लोकप्रिय छन्, तर फुटबलको तुलनामा कम छन् । तसर्थ फुटबलसँग राम्रा–नराम्रा पक्ष पनि त्यत्तिकै गाँसिएका छन् जुन रोचक, रोमाञ्चक र विवादास्पद पनि छन् ।
विश्वचर्चित फुटबल खेलाडी विभिन्न कारणले बेलाबेलामा विभिन्न कारणले चर्चामा आएको कसैबाट छिपेको छैन । त्यसमा कोही लागूपदार्थको सेवन, कोही उत्कृष्ट प्रदर्शन, कोही प्रेम–प्रसङ्ग र कोही प्ले ब्वाईको रूपमा चर्चामा आएको देखिएको र सुनिएको छ । वर्तमान अवस्थामा चार सन्तानका बाबु बनिसकेका पोर्चुगलका विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको नाम पनि प्ले ब्वाईको रूपमा अगाडि आएको छ । रोनाल्डो फुटबलमा जति उत्कृष्ट छन् युवतीलाई मायाजालमा पारेर रोमान्स गर्नमा पनि त्यत्तिकै माहिर भएको खुलासा भएको छ ।
फुटबल खेल, त्यसमाथि विश्वचर्चित खेलाडी रोनाल्डोमाथि युवतीले आँखा गाड्नु स्वाभाविकै हो । रोनाल्डोमाथि लाखौँ युवतीले आँखा गाडे पनि उनको सामीप्यको अनुभव गर्ने सौभाग्य भने केही युवतीले मात्र पाएका छन् । त्यसमा प्रायजसो सुपरमोडल र सिनेमाका अभिनेत्री रहेका छन् । यिनै सुपरमोडल र अभिनेत्रीहरूसँग अन्तरङ्ग सम्बन्ध गाँसेर पछिल्लो समय रोनाल्डो चर्चाको शिखरमा पुगेका थिए । विगत एक दशकमा रोनाल्डो कति युवतीसँग डेटिङमा गए र रोमान्स गरे त्यसको कुनै लेखाजोखा नभए पनि केही त्यस्ता युवती छन् जसको रोनाल्डोसँग नाम प्रत्यक्ष रूपमा जोडिएको थियो । यस्ता सातजना युवती जो रोनाल्डोको प्रेममा पागल थिए र रोनाल्डोलाई आफ्नो बनाउन चाहन्थे, तर रोनाल्डोले उनीहरूलाई कसरी आफ्नो जीवनमा जोडे र पछि उक्त सम्बन्ध तोडे त्यो अहिले चर्चाको विषय बनेको छ ।
पछिल्लो समय रोनाल्डोको नाम विभिन्न मोडेल र अभिनेत्रीसँग गाँसिएको थियो । उनको सम्बन्ध सुन्दर युवतीसँग रहे पनि त्यो लामो समय टिक्न सकेन । यस्तो हुनुमा रोनाल्डोको प्ले ब्वाईको छवि विशेष कारण हो भन्दा अतिसयोक्ति नहोला । त्यसैले रोनाल्डोले कुन युवतीसँग सम्बन्ध गाँस्छन् र छोड्छन् त्यो अहिले सामान्य कुरो बनेको छ । अहिले सुपरमोडल जर्जिना रोट्रिगेजलाई गर्लफ्रेन्ड बनाएका रोनाल्डो जर्जिनालाई पनि कति टिकाउँछन्, त्यो सोचनीय बनेको छ । जर्जिनाले हालै रोनाल्डोको चौथो सन्तानलाई जन्म दिएकी थिइन् ।
कुरा सन् २००३ को हो, त्यतिबेला रोनाल्डोले ब्राजिलकी सुपरमोडल जोर्दाना जार्देलसँग प्रेम–सम्बन्ध गाँसेका थिए । रोनाल्डोकी उनी पहिलो सेलेब्रिटी गर्लफ्रेन्ड थिइन् । उनीहरूको यो सम्बन्ध एक वर्ष चलेको थियो । पछि के कारणले यो सम्बन्ध टुट्यो त्यसको दुवैले खुलासा गरेका छैनन् । त्यसपछि सन् २००५ मा रोनाल्डोको नाम आफ्नै देश पोर्चुगलकी टेलिभिजनकी नायिका मेर्ने रोमेरोसँग गाँसिएको थियो । रोनाल्डोभन्दा ९ वर्ष जेठी रोेमेरोसँगको उनको सम्बन्ध मात्र एक वर्ष रहेको थियो । जुन अस्वाभाविक सम्बन्ध स्वाभाविक रूपमा टुटेको थियो । त्यसपछि सन् २००७ मा स्पेनिस मोडेल नेरिदा गेलाडोसँग रोनाल्डोले डेटिङ गरेका थिए । नेरिदासँग केही महिना डेटिङ गरेपछि यो सम्बन्ध पनि रोनाल्डोले तोडेका थिए । आफूसँग डेटिङ हुँदाहुँदै आफ्नै साथी रोनाल्डोले डेटिङमा गएको थाहा पाएपछि नेरिदाले रोनाल्डोसँग आफ्नो सम्बन्ध तोडेकी थिइन् ।
त्यसपछि सन् २००९ मा रोनाल्डोले चर्चित हलिउड अभिनेत्री पेरिस हिल्टनसँग सम्बन्ध गाँसेका थिए । यतिबेला यो प्रेम–सम्बन्धको विश्वव्यापी रूपमा निकै चर्चा चलेको थियो । तर दुर्भाग्य, हिल्टन र रोनाल्डोको यो सम्बन्ध पनि लामो समय चल्न सकेन । यसरी प्ले ब्वाईको छवि बनाइसकेका रोनाल्डोले युवतीहरूसँगको आफ्नो सम्बन्धलाई कायमै राखेका थिए । हिल्टनसँग सम्बन्ध टुटेपछि रोनाल्डोले सुपरमोडल एन्डेसा उचरसँगै सम्बन्ध गाँसेका थिए । यो २०१३ को घटना हो ।
तर, त्यसैबेला मिडियाले रोनाल्डोको सम्बन्ध इरिना शायकसँग रहेको खबर प्रकाशित गरेपछि दुवैसँगको सम्बन्धकोे पर्दाफास भएको थियो । यो कुरा मिडियाले सार्वजनिक गरे पनि रोनाल्डोले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । त्यसैले यो सम्बन्धको वास्तविकताबारे अहिलेसम्म तथ्य जानकारी आउन सकेको छैन । यसको जवाफ मात्र रोनाल्डोले दिन सक्छन् । त्यस्तै, यसपछि रोनाल्डोले मोडल तथा अभिनेत्री जेमा एडकिङ्सनसँग डेटिङ गरेका थिए । यो सम्बन्ध पनि केही महिनापछि टुटेको थियो ।
नवजात शिशुसँगै रोनाल्डोकी गर्लफ्रेन्डको चर्चा
यतिबेला क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड जर्जिया रोडिगेज चर्चाको शिखरमा छिन् । हालै रोनाल्डोको छोराको आमा बनेकी जर्जिया स्पेनिस म्यागजिन ‘होलाकोम’को आवरणमा पेजमा नवजात शिशुसँगै देखिएपछि उनको चर्चा चुलिएको हो । उनको आवरणमा शिशुसहित राखिएको तस्बिरले अहिले विश्वभरि तहल्का मच्चाइरहेको छ । यसै वर्षको अगस्त महिनामा जब जर्जियालाई आमा बन्न लागेको सङ्केत उनको पेटले देखाएको थियो, त्यसपछि मिडियाले उनी आमा बन्न लागेको समाचार छापेका थिए । त्यसपछि सञ्चारमाध्यमले जर्जियासँग यसबारे सोधपुछ गर्दा उनले आफूले रोनाल्डोको चौथो सन्तानलाई जन्म दिन लागेको खुलासा गरेकी थिइन् । मिडियासँग आफूलाई यतिबेला निकै खुसी लागेको बताउँदै जर्जियाले आमा बन्न पाउनु आफ्ना लागि सबैभन्दा सुखद खबर भएको बताएकी थिइन् । साथै उनले आफूलाई बच्चा निकै प्यारो लाग्ने बताउँदै यसका लागि आफू शारीरिक र मानसिक रूपमा तयार भएको बताएकी थिइन् । जर्जियाले रोनाल्डोको चौथो सन्तानलाई १३ नोभेम्बरमा जन्म दिएकी थिइन् ।
प्रतिक्रिया