प्रणय-बन्धनमा बाँधिए विराट र अनुष्का

प्रणय-बन्धनमा बाँधिए विराट र अनुष्का


लामो समयको प्रेम–सम्बन्धलाई साकार तुल्याउँदै चर्चित भारतीय क्रिकेट खेलाडी विराट कोहली र चर्चित बलिउड अभिनेत्री अनुष्का शर्माले प्रणय–यात्रा सुरु गरेका छन् । यस चर्चित भारतीय युवा जोडीको विवाहचाहिँ भारतमा नभई इटलीमा सम्पन्न भएको छ । विवाह १२ डिसेम्बर अर्थात् यही मङ्सिर २६ गते मंगलबार उनीहरू वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

विराट र अनुष्का लामो समयदेखि प्रेम बन्धनमा थिए । उनीहरूको सम्बन्धबारे प्रायः सबै जानिफकार थिए । आफ्नो प्रेम सम्बन्धलाई कहिल्यै गोप्य नराखेको यो जोडीले बेलाबेलामा आफूहरूबीच हुने नोकझोकसमेत सार्वजनिक गर्दै आएको थियो ।

अनुष्का भारतीय क्रिकेट टिमले विदेश यात्रा गर्दासमेत लाइभ क्रिकेट हेर्ने बहानामा विदेश जाने गर्दै आएकी थिइन् । उनको उपस्थिति र हौसलाका कारण विराटले स्वदेश र विदेशमा उत्कृष्ट प्रदर्शन गर्दै आएको चर्चा क्रिकेटरहरूमाझ चल्दै आएको छ । यो कुरालाई विराटले पनि स्वीकार गरेका छन् । विराट अनुष्कालाई आफ्नो लक्की–पार्टनर मान्छन् ।

१२ डिसेम्बरमा विवाहको मिति पक्का भएपछि अनुष्कासहित उनको परिवार इटली पुगेको थियो । पहिले भारतमै विवाह गर्ने भनिए पनि भारतीय सञ्चारकर्मीहरूबाट बच्न उनीहरूले इटलीलाई रोजेको स्रोतको दाबी छ । विवाह इटलीमा भए पनि यस जोडीले भारत आएर कोर्ट म्यारिज गर्ने भारतीय मिडियाहरूले जानकारी गराएका छन् ।

विवाहकै कारण विराटले डिसेम्बरमा आयोजना हुन लागेको श्रीलंकाविरुद्धको एकदिवसीय र टी–२० क्रिकेटमा विराटले सहभागिता जनाउने छैनन् । उनले दुई साताको लागि ब्रेक लिएका छन् । जसलाई भारतीय क्रिकेट बोर्डले पनि स्वीकृति प्रदान गरेको थियो ।

विराट भारतीय क्रिकेटका कप्तान तथा स्टार खेलाडी हुन् भने अनुष्का पनि बलिउडकी स्टार अभिनेत्री हुन् । यी दुवै अहिले सफलताको शिखरमा छन् । विराट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने अनुष्का बलिउडमा । विराट र अनुष्काको विवाह यतिबेला निकै चासोको विषय बन्नुको साथै भारतीय क्रिकेट र बलिउडका लागि नयाँ वर्षको गिफ्टको रूपमा पनि हेरिएको छ ।