नेपाली काङ्ग्रेसले महापराजय व्यहोर्नुपरे पनि उक्त पार्टीका सभापति शेरबहादुर देउवा भने अहिलेसम्म कुनै पनि निर्वाचन नहार्ने नेतामा परेका छन् । २०४८ सालमा पहिलोपटक डडेल्धुराबाट चुनाव लडेका देउवाले धेरै ठूलो मतान्तरले विजय हासिल गरेका थिए । उक्त निर्वाचनमा सुदूरपश्चिमका अठार निर्वाचन क्षेत्रमध्ये सत्रवटामा नेपाली काङ्ग्रेस विजयी हुनुको ‘क्रेडिट’ पनि देउवाले नै पाएका थिए । एक क्षेत्रमा राप्रपाका अकबरबहादुर सिंह विजयी बनेका थिए ।
त्यसपछि २०५१, २०५६, २०६४ र २०७० मा पनि देउवा डडेल्धुराबाट उम्मेदवार बनेर विजयी बनेका थिए । यसपटकको निर्वाचनमा चाहिँ पूरै सुदूरपश्चिमबाट काङ्ग्रेसको टिकटमा जित्ने एक्ला व्यक्ति पनि शेरबहादुर देउवा नै बनेका छन् । विजयकुमार गच्छदार विजयी बने भने उनी पनि लगातार चुनावी जित्नेमा पर्नेछन् ।
छब्बीस वर्षभित्र भएका ६ वटा निर्वाचनमा एउटै जिल्लाबाट निरन्तर सफलता प्राप्त गर्ने नेता शेरबहादुर देउवासँग २०४८ को निर्वाचनमा साथी, सहयोगी र शुभेच्छुकहरू पर्याप्त थिए, उनी अविवाहित थिए र उनको ‘सिम्प्लिसिटी’ एवम् मित्रवत् व्यवहारले मानिसलाई सजिलै प्रभावित गर्ने गर्दथ्यो । देउवाको विवाह जब आरजु राणासँग भयो, त्यसपछि उनको घेरा साँघुरिँदै गयो र पुराना साथीहरू छुट्दै गए । आरजु नहुँदा सिङ्गै सुदूरपश्चिम देउवाको साथमा थियो, अहिले आरजु मात्र बाँकी रहँदा देउवा डडेल्धुराबाहेक कहीँ पनि चुनाव जित्न नसक्ने गरी सङ्कुचित भएका छन् ।
प्रतिक्रिया