सप्तरी छिन्नमस्तामा सनराइजको शाखा

सप्तरी छिन्नमस्तामा सनराइजको शाखा


सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ सप्तरीको छिन्नमस्ता गाँउपालिका–३, छिन्नमस्ता भगवतीमा आफ्नो १७ औँ शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन प्रदेश नं. २(ख) का प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद शाहले एक समारोहका बीच गरेका हुन् ।

सो अवसरमा शाखारहित बैंकिङ सेवाको एजेन्ट/प्रतिनिधि विद्यानन्द चौधरीलाई पोइन्ट अफ सेल मेसिन सांसद शाह र बैंकको राजविराज शाखाका प्रबन्धक रोहितकुमार महाशेठले संयुक्त रुपमा हस्तान्तरण गरे । साथै बैंकको राजविराज शाखाका प्रवन्धक महाशेठले शाखारहित बैंकिङ सेवा प्रदान गर्नुको उद्देश्यबारे बताएका थिए ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या १७ पुगेको छ र बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ सेवा शाखारहित बैंकिङ सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।