–छविलाल बगाले
मंसिर महिनामा फूलको काराबार उच्च भएको ब्यवसायीहरु बताउँछन् । मंसिर महिनाको सुरुवातीसँगै विवाह र ब्रतबन्धको सिजन पनि शुरु भएकोले फूलको कारोबारमा उच्च बृद्धि भएको हो ।
मंसिर महिनामा विवाहका गाडीहरु पनि फूलहरुले झकिझकाउ पार्ने चलन बढेकोले पुष्प ब्यवसायीहरुलाई पनि यतिखेर भ्याईनभ्याई बनाएको त्रिपुरेश्वरस्थित न्यू फ्लोरिष्ट फ्लावर शपकी संचालिका गोमा रानामगरको बताउँछिन् ।
विवाह, ब्रतबन्ध लगायतका कामहरुमा बनाईने मण्डप एवं गाडीहरुमा फूल सजावटका लागि ब्यवसायीहरु ब्यस्त देखिन्छन् । राजधानीमा फूलको बढी कारोबार हुने स्थानहरु त्रिपुरेश्वर, कमलपोखरी, न्यूरोड, भद्रकाली लगायतका आधा दर्जन बढि स्थानका ब्यवसायीहरु फूल आयात र उपभोक्तासँग माग पूरा गर्नमै ब्यस्त छन् ।
ब्यवसायीका अनुसार बिवाह र ब्रतबन्धको लागि फूल किन्नका लागि पसलमा उपभोक्ताहरुको भिड नै लाग्ने गरेको छ । अघिल्लो बर्षको तुलनामा यसबर्ष मंसिर महिनामा फूलको माग उच्च भएको त्रिपुरेश्वरस्थित न्यू फ्लोरिष्ट फ्लावर शपकी संचालिका रानामगरको भनाई छ ।
ब्यवसायीका अनुसार विवाहको गाडी सजाउँदा न्युनतम एकहजार ८ सयदेखि २५ हजारसम्म लिने गरेको व्यवसायीहरु बताउँछन् । व्यवसायीले मंसिर महिना बिवाहको सिजन भएकोले पहिलो सातादेखि नै सयपत्री, रजनीगन्धा, अर्किट्स, लिली लगायतका फूलहरु भारतबाट ल्याइसकेको जनाएका छन् । नेपालमा पनि जरबेरा, कार्नेशन, रोज, स्ट्याटिश, गोदावरी र ग्ल्याडुलस लगायत जातका फूलहरु पाइने भएकाले भारतको भर पर्न नपर्ने फूल ब्यवसायी बताउँछन् ।
हिजोआज विवाह, ब्रतबन्धमा मात्रै नभई महायज्ञ, जन्मदिनसँगै अन्य प्रयोजनका लागि फूलको प्रयोग बढि मात्रामा हुने गरेको ब्यवसायीहरु बताउँछन् । आफूले २० बर्षदेखि फूलको कारोबार गर्दै आएको बताउने कमलपोखरीस्थित पुष्प ब्यवसायी श्वेता प्रधान जोशीले विगतको तुलनामा फूलको माग उच्च हुँदै गएको बताइन् ।
फूल ब्यवसायीले आफूहरुले भारतबाट ल्याएका सबै फूलहरु बजारमा नजाने भन्दै ब्यवसाय जोखिममा परेको गुनासो गरेका छन् । त्रिपुरेश्वरस्थित मालिनी फ्लावर डेकोरेशनका चन्दन नाअवले बिक्रिका लागि ल्याइएका फूलहरु लामो समयसम्म राख्दा कुहिने हुँदा ब्यवसायीलाई मार परेको बताउँछन् ।
विवाह, ब्रतबन्ध, जन्मदिन लगायतका अवसरहरुमा विगतको तुलनामा फूलको माग उच्च रहेकोले नेपालमा पुष्प ब्यवसायको आवश्यकता रहेको ब्यवसायीहरु बताउँछन् । नेपालमा खपत हुने फूलमध्ये ६० प्रतिशत भारतबाट आउने गरेको छ । सरकारले विभिन्न कार्यक्रममार्फत फूल खेतीमा अनुदान र सहयोग गरेपछि नेपालमा ३० देखि ४० प्रतिशत फूल उत्पादन हुने गरेको ब्यवसायी बताउँछन् ।
नेपालका ३८ जिल्लामा झण्डै ७ सय पुष्प फर्म तथा नर्सरीहरु बिस्तार भइसकेका छन् । अहिले लगभग १ सय ४० भन्दा बढी हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ ।
प्रतिक्रिया