फ्रान्समा पर्यटन वर्ष २०११ प्रवर्द्धन कार्यक्रम

फ्रान्समा पर्यटन वर्ष २०११ प्रवर्द्धन कार्यक्रम


काठमाडौं। आगामी वर्ष मनाउन लागिएको पर्यटन वर्ष २०११ लाई लक्षित गरी नेपाल पर्यटन बोर्डले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले फ्रान्सका लागि नेपालका राजदूत मोहनकृष्ण श्रेष्ठसँगको छलफलमा फ्रान्स नेपालको राम्रो सम्भावना बोकेको पर्यटकीय बजार भएकाले प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागेको बताए । उनले लामो समयदेखि राजदूतविहीन रहेको फ्रान्समा राजदूत नियुक्तिले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । सरकारले ४ वर्षपछि फ्रान्समा राजदूत नियुक्त गरेको हो ।

नेपाल आउने पर्यटकमध्ये पश्चिम युरोपबाट आउनेको संख्या करिब २७ प्रतिशत छ । त्यसमध्ये पनि फ्रान्सलीको संख्या बढी रहेको छ । प्रमुख कार्यकारी श्रेष्ठले प्रत्यक्ष हवाई सम्पर्क नभएकाले युरोपेली पर्यटक चाहेजति आउन नसकेको बताउँदै हवाई सम्पर्क स्थापना गर्न राजदूतसँग आग्रह गरे ।

राजदूत श्रेष्ठले विभिन्न मुलुकले आफ्ना नागरिकका लागि जारी गर्ने नकारात्मक ट्राभल एडभाइजरीले पर्यटक घट्ने गरेको बताउँदै सकरात्मक एडभाइजरी जारी गर्न पहल गर्ने बताए ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले यसअघि निगमले थाइल्यान्डलाई हव बनाएर युरोप उडान गर्दै आएकामा नयाँ जहाज ल्याएपछि पहिलो गन्तव्य युरोप नै हुने जानकारी दिए ।

श्रोत: नयां पत्रिका