रक्षामन्त्रालयको बजेट कटौती, रानीलाई सरोकार

रक्षामन्त्रालयको बजेट कटौती, रानीलाई सरोकार


लण्डन । बेलायत सरकारले देशमा विगत केही वर्षयतादेखि व्याप्त आर्थिक संकट झेलिरहेको र हाल निर्वाचित मिलिजुली सरकारले देश चलाउनका लागि बजेटमा सुधार ल्याउनलाई सम्भव भएसम्मको श्रोत साधनमा नियन्त्रण गरेर सकभर सबैखाले खर्चहरुमा कटौती गरी देशलाई आर्थिक संकटबाट बचाउने ठूलो प्रयास गरिरहेको छ । तर, जनताले नयाँ सरकार आएपछि केही सुधार होला भन्ने विश्वास गुमाउन थालेका छन् ।
सन् २०१२ सालसम्म बेलायतमा ३० लाख मानिसहरु बेरोजगार हुने अड्कल अर्थविद्हरुले गरेका छन् । बेलायतले खेप्नु परेको यो आर्थिक मारको चपेटमा विदेशबाट यहाँ पढ्न आउने विद्यार्थीहरुलाई समस्या भोग्नु परेको यथार्थ प्रष्ट छ । नेपालबाट भए नभएको पैसा एजेण्टलाई खुवाएर केही आर्थिक लाभ र आफ्नो कैरियर बनाउने लक्ष्य लिएर आएका नेपाली विद्यार्थीहरुको हालत राम्रो छैन । बेलायतमा अहिले काम पाउन गाह्रो छ । हालको टैक्स बृद्धि र हरेक विभागमा खर्च कटौती गर्ने बेलायत सरकारको हालको योजनाले कर्मचारी वर्गमा ठूलो संत्रास छाएको छ । सबैभन्दा बढी बजेट रक्षा मन्त्रालयबाट कटौती गर्ने कुराले सम्बन्धित निकायका व्यक्तिहरुलगायत बेलायतकी रानी एलिजाबेथ द्वितीयको पनि यसतर्फ ध्यान आकृष्ट भएको कुरा प्रकाशमा आएको छ ।
दिनांक ९ मेका दिन भएको पदक तथा विभुषण वितरण समारोहमा रानीले रायल लजिस्टिक कौरका स्टाफ सार्जेण्ट किम ह्युग्सलाई जार्ज क्रास पदक -लडाइँको मैदानमा दुश्मन नभएको बेलामा सर्वोत्कृष्ट कामको प्रदर्शन गरेवापत प्रदान गरिने सबैभन्दा श्रेष्ठ पदक प्रदान गर्दा भनेकी कुरा मेट्रो समाचारमा प्रकाश पारेको छ । ३० वर्षीय सार्जेण्ट ह्युग्सले अफ्गनिस्तानमा घायल भएका बेलायती सेनाका जवानहरुलाई उद्वार गर्ने कार्यमा भारी तादातमा बम बिछ्याइएका बाटो सफा गरेका थिए । सार्जेण्ट ह्युग्सले सातवटा बमहरु निष्कृय पारेका थिए जसमा तीनवटा बमहरु आफ्नो नाङ्गो हातले निष्कृय पारेका थिए । यही उल्लेखनीय कार्य गरेवापत जार्ज क्रास प्रदान गरिएको थियो । पदक प्रदान गर्ने अवसरमा रानी एलिजावेथले उनलाई सोधेकी थिईन् – “के तपाईंले बढीभन्दा बढी बम निष्कृय गर्ने व्यक्तिहरुको व्यवस्था गर्नुभएको छ ?” रानीको सवालको प्रत्युत्तरमा उनले रानीलाई आफू हाल बम निष्कृय गर्ने टोलीको प्रशिक्षक रहेको कुरा बताएका थिए । अफ्गनिस्तानको युद्ध चर्किँदै गएको बेलामा बेलायतको हाल रहेको चौरानब्बे हजार सेनालाई कटौती गरेर असी हजारमा झार्ने वर्तमान सरकारको योजनाले रानीलाई समेत सरोकार रहेको, रानीको भनाइबाट भनक आएको समाचार प्रकाशमा आएको छ ।
-सभार मेट्रो, सुमल, मेस ।