बर्षात नहुँदा र हिमालमा हिउँ नपग्लिँदा निरन्तर घट्दै विद्युत उत्पादन

बर्षात नहुँदा र हिमालमा हिउँ नपग्लिँदा निरन्तर घट्दै विद्युत उत्पादन


नेपालमा संचालनमा रहेका जलविद्युत केन्द्रहरुमा विद्युत उत्पादन निरन्तर घटिरहेको छ । समयमा पानी नपर्दा र हिमालमा हिउँ नपग्दिाँ विद्युत उत्पदानमा कमी आएका हो ।

मङिसरको अन्तिम सातासम्म पनि बर्षात नहुँदा र हिमालमा हिउँ नपग्लिँदा हिमनदीहरुमा पानीको मात्रामा कमी आएपछि तोकिएको विद्युत उत्पादनमा कठिनाई भएको छ ।

पानीको बहावमा आधारित आयोजनाबाट यसबर्ष गत वर्षको तुलनामा ५० मेगावाट विद्युत कम उत्पादन हुन थालेको छ । यसबाट नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली प्रभावित हुन थालेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार मङसिरको यो अवधिमा विभिन्न जलविद्युत् आयोजनाबाट कम्तिमा ५० मेगावाट बिजुली कम उत्पादन भइरहेको छ । प्राधिकरणको वितरण प्रणालीमा ठूलो योगदान दिने एकसय ४४ मेगावटको कालीगण्डकी, ६९ मेगावाटको मस्र्याङ्दी र ७० मेगावाटको मध्य मस्र्याङ्दीबाट मात्र कम्तीमा ४० मेगावाट बिजुली कम उत्पादन भइरहेको छ ।

समयमा पानी नपर्दा र हिउँ नपग्लिएका कारण कालिगण्डकीबाट एकसय ४ मेगावाट, मध्यमस्र्याङ्दीबाट ५१ र मस्र्याङ्दीबाट ५६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ । प्राधिकरणका अनुसार कालीगण्डकीबाट मात्र यो समयमा गत वर्षको यो अवधिमा भन्दा २२ मेगावाट बिजुली कम उत्पादन भइरहेको छ । त्यसैगरी तल्लो मस्र्याङ्दी र मध्यमस्र्याङ्दीमा गरी २० मेगावाट कम उत्पादन भइरहेको छ । हिमनदीमा आधारित यी तीनवटै आयोजनामा मात्र यति ठूलो मात्रामा विद्युत् उत्पादनमा कमी आएपछि भारतबाट खरिद गरेको टनकपुर प्रसारण लाइनबाट आउनुपर्ने बिजुली कटौती भएपछि प्राधिकरणलाई लोडसेडिङ व्यवस्थापन गर्न निकै चुनौती खडा भइरहेको छ ।

प्राधिकरणका अनुसार नदीमा पानीको मात्रा कम हुँदा ‘रन अफ दि रिभर’ प्रणालीका विद्युत् आयोजनामा विगत दश वर्षयता सबैभन्दा बढी प्रभाव परेको छ । प्रवक्ता अधिकारीका अनुसार यो वर्षको हिउँदमा कम्तीमा एक हजार ३ सय ८० मेगावाट बिजुलीको माग हुने तथ्याँङ्क प्राधिकरणसँग छ । माग र आपूर्तिको स्थिति हेर्दा कम्तीमा ३ सय १० मेगावाटको प्रसारण लाइनमा कमी देखिन्छ । प्राधिकरणका अनुसार नेपालको बजारमा अहिले एकहजार २ सय ९० मेगावाट विद्युत माग छ ।

हाल प्राधिकरणसँग भएको आयोजनाको कुल जडित क्षमता ४ सय ७८ मेगावाट हो । यसबाट चार सयदेखि ४५० मेगावाट आफ्नो उत्पादनबाट आउने अपेक्षा प्राधिकरणले गरेको छ । त्यसैगरी ४ सय ६० मेगावाट कुल जडित क्षमताका निजी क्षेत्रका आयोजनाबाट १ सय २० देखि १ सय ३० मेगावाट प्रसारण लाइनमा जोडिने अनुमान गरिएको छ भने भारतबाट ४ सय ५० देखि ४ सय ७० मेगावाट आयात गर्ने सके मात्र यो हिउँदमा लोडसेडिङको व्यवस्थापन गर्न सकिने प्रवक्ता अधिकारीको भनाई छ । उनले जाडो समयमा अझै विद्युत उत्पादनमा कमी आउने र माग उच्च हुने भएकोले भारतबाट ४ सय ७० मेगावाट विद्युत आयात गर्नुपर्ने बताए ।