प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिबारदेखि कारोबार शुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाँईले एक समारोहका बिच उदघाटन गरेका थिए ।
प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानीमा इन्सुरेन्स संचालनमा आएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले बिमाको सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको जानकारी दिए ।
उनले बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्नमा सहयोग मिल्नेमा जोड दिए । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले अव राजनीतिक संक्रमण सकिने बिश्वास गर्दै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने बताए ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया