राजस्व संकलन लक्ष्य भन्दा कम

राजस्व संकलन लक्ष्य भन्दा कम


चालू आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजस्व संकलन हुने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधि प्रतिवेदन हेर्दा सरकारको लक्ष्य पुरा हुने छाटकाट देखिन्न ।

सरकारले कार्तिक मसान्तसम्ममा ९७ अर्ब ७१ करोड ६९ लाख रुपियाँ संकलनको लक्ष्य लिइएको भए पनि सो अवधिमा ९५ अर्ब ८८ करोड रुपियाँमात्रै राजस्व संकलन भएको छ ।

भन्सार विभागले जारी गरेको प्रतिवेदन अनुसार कार्तिक मसान्तसम्ममा लक्ष्य भन्दा १ अर्ब ८३ करोड ८ लाख १८ हजार रुपियाँ कम राजस्व उठेको छ । गत असोज मसान्तसम्ममा लक्ष्य अनुरूप नै राजस्व संकलन भए पनि कार्तिक महिनामा निकै घटेको देखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो ४ महिनामा भन्सार राजस्व ९५ अर्ब ८८ करोड ६० लाख ९४ हजार रुपियाँ पुगेको छ ।

कार्तिक महिनामा मात्र ९७ अर्ब ७१ करोड ६९ लाख १२ हजार रुपियाँ भन्सार राजस्व संकलनको लक्ष्य लिइएकोमा लक्ष्य भन्दा करिब २ अर्ब रुपियाँ कम राजस्व संकलन भएको छ । यस अवधिमा संकलित राजस्व रकम वार्षिक लक्ष्यमा पनि १ दशमलव १३ प्रतिशतले कम हो ।

विभागले राजस्व संकलनमा लिएको वार्षिक लक्ष्यमा कार्तिक महिनासम्मको राजस्व असुलीको योगदान २९ दशमलव शून्य ४४ प्रतिशत देखिन्छ । उक्त राजस्व असुली गत आर्थिक वर्षको तुलनामा ९ दशमलव ८१ प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले चालू आर्थिक वर्षमा ३ खर्ब २५ अर्ब ७२ करोड ३० लाख ३८ हजार रुपियाँ भन्सारमार्फत् राजस्व संकलनको लक्ष्य लिइएको छ । जुन रकम गत आर्थिक वर्ष २ खर्ब ४६ अर्ब ४ करोड ९० लाख ८८ हजार रुपियाँ रहेको थियो । विभागले देशभरीका भन्सार कार्यालयहरू मार्फत् कार्तिक मसान्तसम्ममा ९७ अर्ब ७१ करोड ६९ लाख रुपियाँ भन्सार राजस्व संकलन लक्ष्य राखेको थियो ।

देशका विभिन्न २३ वटा भन्सार कार्यालय तथा छोटी भन्सार कार्यालयमार्फत् उक्त राजस्व रकम असुली भएको विभागले जनाएको छ । भन्सार राजस्वले मुलुकको कुल राजस्वको ४४ प्रतिशत र कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्छ ।

तीन महिनामा १५ वटा भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व असुली गरेका छन्। कम राजस्व संकलन गर्नेमा विराटनगर, मेची, पशुपतिनगर, नेपालगन्ज, सर्लाही, सिराहा, राजविराज, रसुवा, सुनसरी लगायत भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेका छन् ।

लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालयहरूमा त्रिभुवन विमानस्थल, सुनसरी, जनकपुर, जलेश्वर कृष्णनगर भन्सार कार्यालय, राजापुर भन्सार कार्यालय र महाकाली भन्सार कार्यालय रहेका छन् ।

भन्सार प्रशासनले मूल्य अभिवृद्धि कर, भन्सार शुल्क र अन्तःशुल्क कर मार्फत् सो रकम असुली गरेको हो । यस अवधिमा भन्सार शूल्कमार्फत् ४० अर्ब ८६ करोड ४ लाख ८४ हजार रुपियाँ संकलन भएको छ । तर, लक्ष्य भने ४१ अर्ब २० करोड रुपियाँ बराबरको लिइएको छ । भन्सार शुल्क असुली कार्तिक महिनासम्मको लक्ष्यमा ९५ प्रतिशत मात्र हो ।

वार्षिक लक्ष्यमा यसको योगदान ३२ दशमलव प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा भन्सार शुल्कमार्फत् वार्षिक १ खर्ब २७ अर्ब ६७ करोड ५६ लाख रुपियाँ संकलन लक्ष्य राखिएको छ । उक्त लक्ष्य गत वर्षको वार्षिक लक्ष्यभन्दा २० अर्ब २७ करोड रुपियाँले कम हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत विभागले कार्तिक मसान्तसम्म ३९ अर्ब ५७ करोड १४ लाख ५४ हजार रुपियाँ राजस्व असुली गरेको छ ।

संकलित राजस्व लक्ष्यभन्दा ९ दशमलव ३३ प्रतिशतले कम हो । भ्याट मार्फत् चालू आर्थिक वर्षमा १ खर्ब ४२ अर्ब ११ करोड ४८ लाख २९ हजार रुपियाँ संकलनको लक्ष्य लिएको छ भने वार्षिक लक्ष्यमा कार्तिकसम्मको असुली रकमको योगदान २७ दशमलव ८४ प्रतिशत रहेको छ ।

त्यसैगरी अन्तःशुल्क करमार्फत् चालू आर्थिक वर्षमा ४६ अर्ब २८ करोड १० लाख २४ हजार रुपियाँ राजस्व संकलनको लक्ष्य लिइएको मा पहिलो चौमासिक अवधिमा लक्ष्यको ३३ दशमलव ३९ प्रतिशत अर्थात १५ अर्ब ४५ करोड ४१ लाख ५६ हजार रुपियाँ संकलन भएको छ ।