जंगबहादुर र प्रचण्ड !!

जंगबहादुर र प्रचण्ड !!


-देवप्रकाश त्रिपाठी,
जंगबहादुर राणा र प्रचण्ड एकै काँटी र कोटीका होइनन्, तथापि कतिपय कारणवश प्रचण्ड जंगबहादुरसँग दाँजिने हैसियतमा पुगेका छन् । यसरी प्रचण्डलाई जंगबहादुरसँग तुलना गरिँदा नौलो जनवाद प्राप्ति यात्राका यात्रीहरूलाई चोट पुग्न सक्छ, र जंगबहादुरका हिमायती एवम् समर्थकहरूलाई पनि यस कुराले दुःखी तुल्याउन सक्छ । इतिहासका यी दुई पात्र तुलना गर्न लायक यसकारणले मान्न सकिन्छ कि दुवैले सत्ता पाउन हिंसाको सहारा लिएका हुन् र दुवै व्यक्ति इतिहासका सबैभन्दा आलोचित, विवादास्पद र खास समूह विशेषका प्रियपात्र हुन् ।

जंगबहादुरले सत्ता प्राप्तिका निम्ति रचना गरेको हिंसात्मक ब्युहमा करिब दुई दर्जन मानिस मारिएको प्रमाण भेटिन्छ, जब कि प्रचण्डले जनयुद्धका नाममा चलाएको हिंसात्मक युद्धमा करिब पन्ध्र हजार नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूको सङ्ख्याका आधारमा भन्ने हो भने जंगबहादुरभन्दा प्रचण्ड धेरै अगाडि छन् । तर, हिंसाको ‘गुणात्मक’ पक्षमाथि दृष्टिगोचर गर्दा जंगबहादुरद्वारा मारिएका मानिस सबै शक्तिशाली र केन्द्रीय सत्तामा पहुँच भएकाहरू छन्, प्रचण्डको अगुवाइमा भएको हिंसात्मक सङ्घर्षमा मारिएकाहरू सबैजसो राज्यसत्तामा पहुँचबिनाका सर्वसाधारण नागरिक छन् । प्रचण्डले जनताका नाममा युद्ध रचे अर्थात् जनयुद्ध रचे, मारिए पनि सबै जनता मात्र । जंगबहादुरले सत्ता प्राप्तिको सीधा गन्तव्य बनाए र मारिए पनि सत्तासीन या सत्ता आसपासका मानिस मात्र । योभन्दा पनि अर्को महत्वपूर्ण अन्तर के हो भने जंगबहादुरको समयमा प्रजातन्त्र या प्रजातान्त्रिक राज्य पद्धति स्थापित थिएन । सत्तामा पुग्न र टिक्न भीमसेन थापाले हिंसा र छलकपटको सहारा लिएका थिए भने थापा शासनको तीन दशकपछि जंगबहादुरको उदय पनि सोहीबमोजिम हुन पुग्यो । त्यसबेला निर्वाचन या प्रजातान्त्रिक विधिसम्मत ढङ्गले सत्तामा जान सकिने व्यवस्था हुन्थ्यो भने सायद जंगबहादुरले निर्वाचनको विकल्प खोज्दैनथे कि भन्न सकिन्छ । उनमा रहेको विशिष्ट प्रतिभा र साहसका आधारमा भन्नुपर्दा जंगबहादुर आफ्नो युगका विशेष मानिस थिए र त्यसबेला प्रजातान्त्रिक प्रणाली भएको भए जनताको मन जितेरै उनले सत्ताको ढोका खोल्ने सफलता प्राप्त गर्ने थिए भन्न पर्याप्त आधार देखिन्छन् । तर, प्रचण्डलाई सत्ता प्राप्त गर्न सहज, सरल र विधिसम्मत मार्ग उपलब्ध थियो । अत्याधुनिक र सभ्य मानिएको यस युगमा सर्वत्र हिंसा त्याज्य छ र निजी या सार्वजनिक, राजनीतिक या अराजनीतिक गन्तव्य प्राप्तिको निम्ति विधिसम्मत एवम् सरल र सहज विकल्प उपलब्ध छ । यसरी शान्तिपूर्ण र विधिसम्मत ढङ्गले सत्ता प्राप्त गर्ने विकल्प सशक्त हुँदाहुँदै प्रचण्डले हिंसाको बाटो रोजे, तर जंगबहादुरसँग अरू कुनै विकल्प नभएर मात्र ‘हिंसा’को सहारा लिएको देखिन्छ । यस आधारमा दुई व्यक्तिको तुलना गर्दा कोचाहिँ बढी क्रूर, अविवेकी, लहडी, गैरजिम्मेवार र अन्धा महत्वकाङ्क्षी हुन् भनी सजिलै फरक छुट्याउन सकिन्छ ।

जंगबहादुरले द्वैध सत्ताको अभ्यास कहिल्यै गरेनन्, बरु उनले दरबार तथा भाइभारदार र अन्य सत्तासीनहरूका बीचमा उत्पन्न कलहका कारण कमजोर भएको राज्यसत्तालाई सुदृढ तुल्याए । राजनीति र सरकारलाई स्थिरता दिए, राज्य संयन्त्रलाई सुदृढ, गतिशील र प्रभावकारी बनाउने काम गरे । तर, प्रचण्डले हिंसात्मक सङ्घर्षसँगै द्वैध सत्ताको अभ्यास गरे र प्रधानमन्त्री भइसक्दा पनि वैकल्पिक सत्ताको पक्षमा उनी उभिए । अझै पनि प्रचण्ड द्वैध सत्ताको अभ्यासमा छन्, विद्यमान राज्यसत्तालाई सुदृढ तुल्याउनेभन्दा कमजोर गराउने र आफ्नो सर्वव्यापी नेतृत्वमा नयाँ सत्ता स्थापित गर्ने रहर प्रचण्डमा मेटिएको छैन । प्रचण्डकै नीति र व्यवहारका कारण राज्य लुलो हुन पुगेको छ, विधि, विधान र अनुशासन खुकुलो भएको छ, फलस्वरूप मुलुकमा अराजकता व्याप्त छ ।

जंगबहादुर राणामा आफ्नो छुट्टै सेना निर्माण गर्ने सामर्थ्य थियो, तर उनले आफ्नो बेग्लै सेना खडा गरेनन् । बरु राष्ट्रिय सेनालाई नै सुदृढ, एकताबद्ध र आधुनिकीकरण गर्ने काम जंगबहादुरले गरे । प्रचण्ड भने राष्ट्रिय सेनाप्रति अत्यन्त दूराग्रही देखिएका छन् । उनको व्यवहारले राष्ट्रिय सेनालाई दुर्बल, आत्मकमजोर र बद्नाम गराउन योगदान पुर्‍याएको महसुस धेरैले गरेका छन् ।

प्रचण्डमा बदलाको भावना प्रबल देखिन्छ र उनी सामान्यतया बदलाकै भावनाबाट अभिप्रेरित रहने गरेका छन् । पार्टीभित्र र बाहिरकाहरूले पनि प्रचण्डको प्रतिशोधको सिकार कुनै न कुनै रूपमा भइरहनु परेको छ । तर, जंगबहादुरमा प्रचण्डको भन्दा प्रतिशोधी भावना कमै देखिन्छ । आफ्ना पितालाई ऋण नदिने र उल्टै दुर्वचन प्रयोग गर्ने व्यक्तिलाई उनी सत्ताका मालिक भइसकेपछि प्रतिशोध लिन सक्ने अनुमान गरिएको थियो, तर राणाले पूर्वानुमान गरिएभन्दा ज्यादै कम मात्र पूर्वाग्रही व्यवहार दर्शाए ।

आफ्ना भाइ बमबहादुरलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएर जंगबहादुर वर्ष दिनसम्म युरोपमै बरालिए । षड्यन्त्र र छलकपटको चकाचौंधबाट गुज्रिरहेको नेपाली राजनीतिमा त्यसरी वर्ष दिनसम्म कसैका हातमा शक्ति सुम्पिनु सानो साहसको कुरा थिएन । जंगबहादुर र्फकंदा बाटैमा पक्राउ पर्ने या मारिने स्थिति पनि हुन सक्थ्यो, तर उनले साहसका साथ बमबहादुर राणालाई राजपाठ जिम्मा लगाए । प्रचण्ड आज आफ्ना सहयात्री-सहकर्मी डा. बाबुराम भट्टराईलाई केही कालका लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी दिन तयार छैनन् । प्रचण्ड अर्को शक्तिकेन्द्र खडा हुनसक्ने कुराबाट भयभीत छन् ।

जंगबहादुर सत्तामा आएपछि उनले देशको सार्वभौमसत्ता सुदृढ तुल्याए, देशको सीमा-रक्षामा विशेष सचेत रहे र परिपक्व कूटनीतिक पहलद्वारा सुगौली सन्धिमा गुमेको भूभाग पनि एक थोपा रगत नबगाई फिर्ता लिन सफल भए । आजको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जुन जंगबहादुरको योगदानको फल हो, ती चार जिल्लामा अन्य केही भू-भागसमेत मिलाएर जंग भूमि या जंग प्रदेश नामकरण गरिँदा इतिहासपुरुषको सही सम्मान र मूल्याङ्कन हुन सक्छ, तर वर्तमान अत्यन्त अविवेकी, निर्दयी एवम् पक्षपाती छ त्यसैले हामी जंगबहादुरका प्रति कृतज्ञता जाहेर गर्ने मुडमा छैनौँ । पृथ्वीनारायण शाह जसले आधुनिक नेपालको स्थापना गरे यहाँ उनैलाई त अपमानजनक व्यवहार गरिँदै छ भने तत्काल जंगबहादुरलाई सम्मान मिल्ने अवस्था सिर्जना हुने कल्पना नगर्नु नै बेस होला । जंगबहादुरले पृथ्वीनारायण शाहद्वारा स्थापित राज्यलाई स्थायित्व दिन, सार्वभौमिकता सुदृढ तुल्याउन र राष्ट्रियता एवम् राष्ट्रिय एकता मजबुत बनाउन निकै योगदान पुर्‍याएका थिए । तर, प्रचण्डले युद्ध थालेदेखि प्रधानमन्त्री पदमा आसिन भएसम्मको भूमिकाले हाम्रो राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिकता र देशको आत्मसम्मान गर्ल्यामगुर्लुम ढाल्ने परिणाम दिएको छ । हामी आज जाति, भाषा, धर्म, क्षेत्र, वर्ण आदिका नाममा विभाजित हुन, एक-अर्काप्रति द्वेष, इर्ष्या र वैमनुष्यको भावना फैलाउन उद्यत् हुँदै छौँ, यसमा प्रचण्डबाहेक अरू क-कसले भूमिका निर्वाह गरेका छन् भन्ने सत्यको उद्घाटन भोलिको इतिहासले अवश्य गर्नेछ । प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरिन्जेलसम्म (वि.सं. २०६६) प्रचण्डले राष्ट्रियता र राष्ट्रिय एकतामा सकारात्मक सहयोग पुग्ने कुनै कार्य सम्पादन गरेको भए भविष्यले त्यो पनि स्पष्ट गर्ला, तर उनले प्रधानमन्त्री पद गुमेपछि मात्र राष्ट्रियता खतरामा परेको बताइरहँदा नेपाली जनतालाई मनोरञ्जन दिने या सास्ती दिलाउनेबाहेक अर्को कुनै सकारात्मक परिणाम आउने स्थिति बनेको छैन ।

जंगबहादुर राज्य सत्ताप्रति ज्यादा लिप्त थिएनन् । १०४ वर्ष लामो जहानियाँ अधिनायकवादी शासनको निर्माता/संस्थापक जंगबहादुरमा सत्तालिप्सा थिएन भन्दा यथार्थ बुझन बाँकी रहेका मानिसहरूका निम्ति हाँसोको विषय पनि बन्न सक्ला । तर, उनका निम्ति सत्ताभन्दा अरू नै कुराहरू महत्वका थिए या सत्ता भनेको देश र जनताको हितका निम्ति मात्र ग्रहण गर्ने विषय हो भन्ने बुझाइ जंगबहादुरमा रहेको देखिन्छ । उनले ब्रिटेन भ्रमणका बेला आफू त्यतै बस्ने र तत्काल नेपाल नर्फकने, बरु राजपाठ तिमीहरूले नै चलाउनु भनी सँगै रहेका भाइलाई भनेको कुराले उनमा सत्तालिप्सा थिएन भन्ने सङ्केत गर्छ । तर, प्रचण्ड सत्ताका निम्ति के गर्दै छन् र के-के गरे हामी सबैका सामु र्छलङ्ग छ । सत्ताको प्रमुखमा उनी आफूबाहेक अरूलाई हेर्न-देख्न चाहँदैनन् । माधव नेपाललाई केहीकाल प्रधानमन्त्री रहन नदिने या अरू कसैलाई सहन नसक्ने मात्र होइन प्रचण्डले आफ्नै सहयात्री-सहकर्मी डा. बाबुराम भट्टराईलाई पनि कहिल्यै प्रधानमन्त्री बन्न दिने छैनन् भन्ने खुला सङ्केत उनको व्यवहारले दिएको छ ।

नेपालमा पहिलोपटक विद्यालय स्थापना गर्ने, छापाखाना भित्याउने, मुलुकी ऐन बनाएर लागू गर्ने, सेनालाई आधुनिकीकरण गर्ने, सतीप्रथा उन्मूलनको प्रयास गर्ने, नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने, देशमा युरोपियन शैलीका भव्य महल निर्माण निम्ति प्रविधि भित्याउने र युद्ध नलडीकन गुमेको भू-भाग फिर्ता लिन सक्ने जंगबहादुर राणासँग आधुनिक र सभ्य नेपालमा हिंसात्मक सङ्घर्षको विजारोपण गर्ने, परम्परागत मूल्य, मान्यता, आदर्श र अनुशासन भङ्ग गरी देशमा अराजक स्थितिको सिर्जना गर्ने, राजनीतिमा अपराधकर्मलाई संस्थागत तुल्याउने, प्रचलित कानुन र व्यवस्था अस्तव्यस्त बनाउने तथा देशको राष्ट्रिय एकतालाई पुनः बहाल हुन आगामी कैयन दशक लाग्ने गरी गिजोल्ने प्रचण्डलाई तुलना गरिन नहुने तर्क गर्नेहरूले उनका सकारात्मक एवम् महान् कार्यका रूपमा ‘जनयुद्ध’को थालनी, संविधानसभा र गणतन्त्र घोषणालाई लिएका छन् । राजनीति जनताको सुख र खुसी जीवनका लागि हुनुपर्छ भन्ने मान्यता राख्नेहरूले अनन्त कालसम्म प्रचण्डका यी ‘महान्’ कार्यहरूको समीक्षा गरिरहने छन् । यस युगका मानिसहरूले प्रचण्डकालमा भोग्नुपरेको त्रासदी र दुःखद् एवम् सकसपूर्ण जीवनको बारेमा पनि भोलिका पुस्ताले अवश्य स्मरण गर्नेछन् । लाग्छ, प्रचण्ड स्वयम्ले पनि जीवनको उत्तर्रार्द्धमा आफूबाट कति ठूलो भूल भएको थियो र जंगबहादुर राणाभन्दा कति दूरीमा रहेछु भन्ने यथार्थको महसुस अवश्य गर्नेछन्, अहिलेलाई यत्ति नै कामना गरौँ ।
[घटना र विचार साप्ताहिकबाट उद्दृत गरिएको समसामयिक विषयमा आधारित एक लोकप्रिय आर्टिकल -सम्पादक]