मधेश घटनाका थप चार जनालाई तत्काल शहीद घोषणा गर्न सुझाव

मधेश घटनाका थप चार जनालाई तत्काल शहीद घोषणा गर्न सुझाव


मधेश घटनाका क्रममा ज्यान गुमाएका थप चार जनालाई तत्काल शहीद घोषणा गर्न मधेश आन्दोलनको घटनाबारे छानवीन गर्न गठित आयोगले सरकारलाई सुझाव दिएको छ ।

आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाउँदै  बाँकि चार जनालाई पनि तत्काल शहीद घोषणा सरकारलाई सुझाव दिएको हो ।

यता, देउवाले मधेश आन्दोलनको घटनाबारे छानवीन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै यसको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले मात्रै गर्ने बताएका छन् ।

मधेश आन्दोलनको घटनाको सत्यतथ्यसहितको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ सरकारको हुने प्रधानमन्त्री देउवाले बताए । उनले,  सरकार काम चलाउ भएकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट पारे ।

आयोगका अध्यक्ष गिरिशचन्द्र लालले प्रतिवेदनमा  मधेश आन्दोलनको क्रममा ६६ जनाको ज्यान गएको र त्यसमध्ये ४ जनालाई अझै सहिद घोषणा गर्न बाँकि रहेको उल्लेख गरिएको जानकारी दिए ।

आयोगले मधेश आन्दोलनका पीडितले दिएको ६ हजार ६ सय ६४ वटा निवेदनलाई समेत ध्यानमा राखेर मधेश आन्दोलनको घटनाबारे सत्यतथ्य छानवीन गरेको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधिश लालको अध्यक्षता गठित ७ सदस्यीय छानवीन आयोगले बुझाएको ७ सय ९ पृष्ठ लामो प्रतिवेदनमा मधेश आन्दोलनका क्रममा १० जना सुरक्षाकर्मीको समेत ज्यान गएको उल्लेख गरिएको छ ।

आयोगका अध्यक्ष लालले प्रतिवदेनमा मधेश आन्दोलनको कारण र समाधान गर्ने उपायको खोजी समेत गरिएको दावी गरे ।