को होला प्रदेश नम्बर ३ को मुख्यमन्त्री ?

को होला प्रदेश नम्बर ३ को मुख्यमन्त्री ?


संघीय संसद गठनको अलमलले राजनीतिक माहोल तताइरहेको बेला प्रदेशको मूख्यमन्त्री बन्न सांसदहरुबीच खिचातानी शुरु भएको छ । प्रदेश नम्बर २ बाहेक अरु सबैमा वाम गठबन्धनको वर्चश्व रहेपछि एमाले र माओवादी सांसदहरुबीच नै एकतिर मुख्यमन्त्रीमा तानातानी चल्ने देखिएको छ भने प्रदेश नं ३ मा एमालेले स्पष्ट बहुमत ल्याएपछि सो पार्टीका केही चल्तापूर्जा प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।

प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको हो । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन् । काठमाडौंका स्थापित, धादिङका राजेन्द्र पाण्डेहरु निर्वाचनअगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका थिए । निर्वाचनको नतिजा आइसकेपछि उल्लिखित आकांक्षीहरुमा थप चाहना बढ्नु अनौठो रहेन । अष्ठलक्ष्मी शाक्य शाक्य, केशव स्थापित, राजेन्द्र पाण्डेका अलावा सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाललगायत पनि आकांक्षी बनेका छन् ।

पार्टीका उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहेको चर्चा चले पनि पोलिटब्युरो सदस्यसमेत रहेका राजेन्द्र पाण्डेको दाबी पनि कमजोर छैन । तर शाक्यले आफू मुख्यमन्त्री बन्नका लागि दौडधूपमा रहेको प्रष्ट संकेत दिँदै पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गरिन् । आफू प्रतिनिधिसभामा नगई प्रदेशसभामा प्रतिनिधित्व गरेको नै मूख्यमनत्री बन्नका लागि रहेको बताउँदै उनले पार्टीका सबैजसो साथीले आफूलाई नै अघिसारेको दाबी समेत गरिन् । प्रदेशलाई नमूना बनाउनका लागि आफू नै योग्य भएको दाबी पनि उनको छ ।

प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौंडा तोकिएको छ ।

काठमाडौँ महानगरका पूर्वप्रमुख केशव स्थापितले आफूले काठमाडौँको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बताए । “मसँग विकास निर्माणको दृष्टिकोण रहेको छ । यदि मुख्यमन्त्री पाए प्रदेश नं ३ लाई चाडै नै विकास गर्ने थिएँ’’, उनले भने । पार्टीले जिम्मेवारी दिए सफलतापूर्वक मुख्यमन्त्रीको भूमिका निभाउने उनको भनाइ छ । प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, कांग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक÷एक सिट जितेका छन् ।

प्रदेश नं ३ मा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोट जिल्ला रहेका छन् ।